साउदी शाही दरबारमा राष्ट्रपति ट्रम्पको राजसी स्वागत — बैजनी गलैचा ,स्वर्णासन, र विश्वका प्रमुख कार्यकारी अधिकारीहरूको भव्य भेटवार्ता

इनेप्लिज २०८२ वैशाख ३० गते ११:१३ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पको साउदी अरब भ्रमण भव्यता र आतिथ्यताले भरिएको देखिएको छ। मंगलबार बिहान शाही दरबारमा सुरु भएको कार्यक्रमसँगै ट्रम्पको भ्रमणको औपचारिकता अझ बढी आकर्षक बनेको छ।

राष्ट्रपति ट्रम्प यस्ता औपचारिक भ्रमणहरूमा प्रदर्शन गरिने राजसी शैलीप्रति सजग छन् किनभने उनि पूर्व अमेरिकी रियालिटी शो (वास्तविकता आधारित कार्यक्रम)का व्यक्तित्व पनि हुन् ।

सिएनएनका अनुसार साउदी आतिथ्यहरूले उनलाई मन पर्ने गरी स्वागतमा कुनै कसर बाँकी राखेका छैनन्।

मध्यपूर्व रणनीतिक अध्ययन केन्द्रका निर्देशक जोन अल्टरम्यानले भ्रमणपूर्व भनेका थिए, “यो ट्रम्पको खुशीको स्थान हो। साउदीहरूले उनलाई उदार र मैत्रीपूर्ण व्यवहार गर्नेछन्। सम्झौता गर्न इच्छुक हुनेछन्, प्रशंसा गर्नेछन्, आलोचना गर्नेछैनन् । उनको परिवारलाई पनि व्यापारिक साझेदारको रूपमा हेर्नेछन्।”

शाही मैदानमा ट्रम्पको सुरक्षा दिने सवारी साधनलाई अमेरिकी र साउदी झण्डा बोकेका घोडाचालकहरूको टोलीले अगुवाइ गर्‍यो। ट्रम्प बिशेष सवारी साधनबाट ओर्लिएपछि तुरही बजाइयो, र उनले युवराज मोहम्मद बिन सलमानसँग अभिवादन गरे। दुई नेताले राष्ट्रगानको धुनमा बैजनी गलैचा हुँदै भित्र प्रवेश गरे।

विशाल दरबारको भव्य हलमा ट्रम्प, बिन सलमान र दुवै देशका उच्च अधिकारीहरू बैजनी सुनौलो कुर्सीमा बसेर चिया–कफी कार्यक्रममा सहभागी भए। दुई नेताबीचको आत्मीय सम्बन्ध प्रष्ट देखिन्थ्यो।

पछि उनीहरूले उच्चस्तरीय व्यापारीहरू र प्रविधि क्षेत्रका शीर्ष नेताहरूसँग भेट गरे। सहभागीहरूमा ओपनएआइ, एमाजोन ,एनभिडिया ,उबर,कोकाकोला,गुगल र बोइङ्गका प्रमुखहरू थिए। ट्रम्पका सल्लाहकार इलन मस्क पनि सहभागी थिए ।

यो भेटले ट्रम्पको दोस्रो कार्यकालमा सुदृढ व्यापारिक सम्बन्धको झल्को दिएको छ।

प्रतिक्रिया