अमेरिकामा अप्रिल महिनामा मुद्रास्फीति घटेर २.३ प्रतिशतमा झरेको छ। यही महिना राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी भन्सार शुल्कहरू लागू गरेका थिए। अहिले ट्रम्प अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) माथि ब्याजदर घटाउन निरन्तर दबाब दिइरहेका छन्।
मंगलबार श्रम तथ्यांक ब्युरो (बिएलएस) ले सार्वजनिक गरेको उपभोक्ता मूल्य सूचकांक अनुसार, मुद्रास्फीति दर ब्लूमबर्गका विश्लेषकहरूले अनुमान गरेको २.४ प्रतिशतभन्दा तल रह्यो।
यद्यपि ट्रम्पले अप्रिल २ मा घोषणा गरिएका धेरै भन्सार शुल्कहरू पछि हटाएका छन् जसमा चीनसमेत समावेश छ । अर्थशास्त्रीहरू भन्छन् ती शुल्कहरूको सम्पूर्ण प्रभाव अझै देखिन बाँकी छ। संघिय अधिकारीहरूले भविष्यमा मूल्य वृद्धिको थप दबाब आउन सक्ने चेतावनी दिएका छन्।
येल विश्वविद्यालयको बजेट ल्याब सँस्थाका अनुसार यी शुल्कका कारण औसत अमेरिकी उपभोक्ताले सन् २०२५ मा २०२४ को तुलनामा झण्डै २,८०० डलर बढी खर्च गर्नेछन्।
फेडरल रिजर्भ अर्थात् फेडले (अमेरिकी केन्द्रीय बैंकिङ प्रणाली)पछिल्ला ६ महिनादेखि ब्याजदर ४.२५ प्रतिशतदेखि ४.५ प्रतिशतबीच राखेको छ। आगामी बैठक जुन महिनामा हुनेछ। ट्रम्पले फेडरल रिजर्भका अध्यक्ष जे पावेलमाथि ब्याजदर कटौतीको लागि तीव्र दबाब बनाएका छन्। गत साता उनले भनेका थिए, “फेड प्रमुखसँग कुरा गर्नु भनेको पर्खालसँग कुरा गरेजस्तो हो।”
मुद्रास्फीति घटेपछि शेयर बजारमा हल्का वृद्धि देखिएको छ । तर सरकारी ऋणपत्रको प्रतिफलमा उल्लेखनीय परिवर्तन आएको छैन।
भोजन र ऊर्जा बाहेकको मुख्य मुद्रास्फीति दर भने अप्रिलमा २.८ प्रतिशतमै स्थिर रह्यो। फेडले प्राथमिक मानेको सूचक, व्यक्तिगत उपभोग खर्च मार्चमा २.३ प्रतिशतमा झरेको थियो, तर अझै २ प्रतिशतको लक्ष्यभन्दा माथि छ।
प्रतिक्रिया