अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै औषधि उत्पादनको अनुमतिपत्र प्रक्रियालाई छरितो र प्रभावकारी बनाउन निर्देशन दिएका छन्। यस आदेशको मुख्य उद्देश्य संयुक्त राज्य अमेरिकाभित्र औषधि निर्माण उद्योगलाई प्रवर्द्धन गर्नु हो।
ओवल कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, “हामीलाई बाँकी संसारको तुलनामा निकै ठगिएको छ,” र आगामी सातामा औषधि तथा औषधिको मूल्य घटाउनेबारे थप घोषणा हुने बताए।
राष्ट्रपति ट्रम्पले पछिल्ला महिनाहरूमा औषधिमा आयात शुल्क लगाउने सम्भावना व्यक्त गर्दै आएका छन्। तर औद्योगिक विज्ञहरूले भने त्यस्तो कदमले औषधिको मूल्य अझ बढाउने र अभाव उत्पन्न हुने चेतावनी दिएका छन्।
अमेरिकन सोसाइटी अफ हेल्थ सिस्टम फर्माशिष्टका अनुसार हाल अमेरिकामा करिब २७० वटा औषधिहरूको अभाव छ। यस्तो अवस्थामा उत्पादन घरेलु रूपमा बढाउनु पर्ने आवश्यकता ट्रम्पले जोड दिएका छन्।
उनले आगामी दुई हप्ताभित्र औषधिमा शुल्कको औपचारिक घोषणा गर्ने बताएका छन्, यद्यपि हालसम्म कुन दरमा शुल्क लाग्ने भन्ने खुलाइएको छैन।
यो आदेशले अमेरिका भित्र औषधि उत्पादन गर्ने कम्पनीहरूलाई सजिलो वातावरण बनाइ दिनेछ, जसले दीर्घकालीन रूपमा लागत घटाउने र आपूर्ति सुदृढ गर्ने आशा गरिएको छ।
प्रतिक्रिया