अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार एउटा कार्यकारी आदेशमा हस्ताक्षर गर्दै चीन, इरान लगायत अन्य देशमा हुने “खतरनाक” गेन अफ फंक्सन अर्थात् क्षमता-वृद्धि अनुसन्धानमा संघीय कोष पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेका छन्।
गेन अफ फंक्सन (Gain-of-function )अनुसन्धान भन्नाले कुनै भाइरस (बिषाणु वा जीवाणुलाई अझ बढी खतरनाक, संक्रामक (सर्ने), वा फैलन सक्ने बनाउन प्रयोगशालामा गरिने प्रक्रिया हो।
यो आदेशले सम्भावित महामारी निम्त्याउने विदेशी अनुसन्धानमा पनि संघीय सहयोग रोकिएको छ।
ह्वाइट हाउसका अनुसार, यो कदमले चीनको वुहान इन्स्टिच्युट अफ भाइरोलोजी र इकोहेल्थ एलाइन्स जस्ता संस्थाहरूमा चमेरोबाट सर्ने कोरोना भाइरसमाथि भएको अनुसन्धानजस्तै प्रयोगशालासँग सम्बन्धित जोखिमलाई कम गर्नेछ।
गेन अफ फंक्ससन अर्थात् क्षमता-वृद्धि अनुसन्धानले भाइरसलाई मानवमा बढी सर्ने बनाउने गर्छ । वुहानको प्रयोगशालामा कोभिड-१९ सुरु हुनु अघि यस्तो अनुसन्धान भइरहेको थियो।
ह्वाइट हाउसले भनेको छ, “यो आदेशले प्रयोगशालामा हुने दुर्घटना तथा जैविक सुरक्षा संकटबाट अमेरिकालाई सुरक्षित राख्नेछ, जस्तै कोभिड-१९ र १९७७ मा भएको रुसी फ्लु जस्ता घटनाहरू।”
यो आदेश अनुसार भविष्यमा पनि कुनै पनि देशमा पर्याप्त निगरानी नभएको अवस्थामा हुने क्षमता-वृद्धि अनुसन्धानलाई अमेरिकी संघीय कोष प्राप्त हुने छैन।
साथै अमेरिकामा कुनै पनि जैविक अनुसन्धानले जनस्वास्थ्य, सुरक्षा वा राष्ट्रिय सुरक्षामा खतरा पुर्याउने भएमा त्यसमा पनि कोष रोक्न अनुसन्धान गर्ने निकायहरूलाई अधिकार दिइएको छ।
प्रतिक्रिया