गत शनिवार दिउँसो क्यालिफोर्निया राज्यको सिमी भ्याली नामक शहरमा एक सानो विमान घरमा दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको छ। उक्त विमानले दुई घरलाई क्षति पुर्याएको र आगो लागेको छ।
संघिय उड्डयन प्रशासन का अनुसार दुर्घटनामा ज्यान गुमाएका व्यक्ति विमानको एकमात्र यात्री थिए । उक्त विमान हाई मिडो मार्ग तथा वुड रञ्च पथ नजिक करिब २:१० बजे दिउसो दुर्घटनाग्रस्त भएको थियो।
वेन्टुरा काउन्टी अग्नि नियन्त्रण सार्वजनिक सूचना अधिकारी एन्ड्रू डाउडले पत्रकार सम्मेलनमा दुर्घटनामा बिमानचालकको मृत्यु भएको पुष्टि गरे ।
४० जना अग्निनियन्त्रकहरूले घटनास्थलमा पुगेर आगो निभाएका छन्। “दुई घरका मानिसहरू दुर्घटनाको समयमा घरभित्र थिए, तर उनीहरूलाई कुनै चोटपटक लागेन,” डाउडले भने।
विमानले विलियम जे. फक्स एयरफिल्ड ल्यान्कास्टरबाट उडान भरेको र क्यामारीलो बिमानस्थल जाँदै गरेको संघिय उड्डयन प्रशासनले जनाएको छ । अब उक्त घटनाको जाँच राष्ट्रिय यातायात सुरक्षा समितिले संघिय उड्डयन प्रशासनसँग मिलेर अनुसन्धान गर्ने एबिसीन्यूजले जनाएको छ ।
प्रतिक्रिया