अमेरिकाको भर्जिनियामा रहेको नेपाली युवाहरूको क्लब, मनासस नेपाली फुटबल क्लब (एमएनएफसी)ले दोस्रो पटक रक्तदान कार्यक्रम आयोजना गरेको छ। आइनोभा ब्लड डोनर्स सर्भिसेसको सहकार्यमा २६ अप्रिल २०२५ (शनिबार) का दिन सम्पन्न उक्त रक्तदान कार्यक्रममा ४० भन्दा बढी व्यक्तिहरूको उपस्थिति रहेको थियो, जसमा २० जनाभन्दा बढीले रक्तदान गरी जीवन बचाउने पुण्य कार्यमा सहभागिता जनाए।
“रक्तदान जीवनदान” भन्ने पवित्र उद्देश्यका साथ सम्पन्न यो कार्यक्रम अत्यन्त सफल रह्यो। कार्यक्रममा सहभागी भएका रक्तदाताहरू, स्वयंसेवकहरू, आइनोभा ब्लड डोनर्स सर्भिसेसका कर्मचारीहरू, तथा विभिन्न रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्तित्वहरूप्रति एमएनएफसी परिवारले विशेष आभार व्यक्त गरेको छ।
एमएनएफसीले विशेष गरी सामाजिक अगुवा प्रेम पौडेल लगायत अन्य सहभागीहरूप्रति कृतज्ञता व्यक्त गरेको छ। रक्तदाताहरूको सहयोगले दर्जनौं जीवनहरू बचाउने सम्भावना बनाएकोमा हामी गर्व गर्छौं कि हाम्रो नेपाली समुदायले यस्तो महान कार्यमा योगदान पुर्याउन सक्षम भएको छ।
साथै, एमएनएफसि सबैलाई एउटै समुदायमा एकता र सद्भावको भावना राख्न आग्रह गरेको छ। सामाजिक सेवाको नाममा मात्र देखावटी कार्य नगरी, सहकार्य र हातेमालो गर्दै साँचो सेवाभावका साथ अगाडि बढ्न सुझाव दिएको छ।
मनासस नेपाली फुटबल क्लब परिवार र सम्पूर्ण सामाजिक अभियन्ताहरूको तर्फबाट सम्पूर्ण रक्तदाताहरूलाई पुनः हार्दिक धन्यवाद। हाम्रो एकता र सहयोगले हामी अझ धेरै सकारात्मक परिवर्तन ल्याउन सक्छौं।
प्रतिक्रिया