काठमाडौं, वैशाख ९ — मौलिक लोकसाहित्यका साधिका लक्ष्मी तिवारी ‘तिवारी आमा’लाई यस वर्षको ‘दमन्ता खनाल स्मृति नारीस्रष्टा सम्मान’ प्रदान गरिएको छ। नेपाल स्रष्टा समाजद्वारा राजधानीमा आयोजित समारोहमा नगद २० हजार एक सय एघार रुपैयाँ, दोसल्ला र सम्मानपत्रसहितको यो सम्मान प्रदान गरिएको हो।
साहित्य, संस्कृति र सिर्जनाको क्षेत्रमा मौन तर गहिरो योगदान पुर्याउँदै आएकी तिवारी आमालाई प्रदान गरिएको सम्मानले ग्रामीण महिलाको सृजनात्मक योगदानलाई राष्ट्रिय मञ्चमा स्थापित गरेको छ। विगत दुई दशकदेखि लोकगीत, तीज, रोइला, रत्यौलीमार्फत सामाजिक चेतना फैलाउँदै आएकी उनी समाजका विकृति–विसङ्गतिलाई सिर्जनामा उतार्ने साधिका हुन्।
कार्यक्रममा वरिष्ठ साहित्यकार भागिरथी श्रेष्ठले सम्मानको अवसरलाई विशेष र भावनात्मक बनाउने कार्यप्रति प्रसंसा गर्दै भनिन्, “आमाको जन्मदिनकै दिन आमासरह श्रद्धा पाएकी स्रष्टालाई सम्मानित गर्नु श्रद्धा र सम्मानको गहिरो भावनात्मक संयोजन हो।”
नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले यो सम्मान सिर्जना र साधनाको कदर मात्र नभई, सहर केन्द्रित सोचाइको अन्त्यतर्फको एक पहल भएको बताए। “हामी गाउँको प्रतिभालाई राजधानीसम्म ल्याएर सम्मान गर्न सक्षम भएका छौं, यही सम्मानको सार्थकता हो,” उनले स्पष्ट पारे।
सम्मानप्राप्त तिवारी आमाका विषयमा प्रकाश पार्दै डा. शान्तिमाया गिरीले भनिन्, “विद्यालयमा जम्मा दुई कक्षा पढेकी तिवारी आमा लोकगीत र सामाजिक यथार्थलाई जोडेर सिर्जना गर्छिन्। उनी मौलिकता र सामाजिक उत्तरदायित्व बोकेकी कलाकार हुन्।”
गीतकार पुष्पा खनालले वि.सं. २०७५ मा आफ्नी आमाको स्मृतिमा स्थापना गरेको यो सम्मान वर्षेनी ओझेलमा परेका नारी स्रष्टाको पहिचान र सम्मानमा समर्पित छ। आयोजकका अनुसार, सम्मानले सिर्जनामा लागेका महिलालाई थप प्रेरणा दिने र उनीहरूलाई राष्ट्रिय साहित्यिक प्रवाहमा जोड्ने उद्देश्य राखेको छ।
कार्यक्रमका संरक्षक पवन आलोक, सचिव प्रकाश घायल, र सञ्चालक रञ्जना निरौलासहित उपस्थित विशिष्ट व्यक्तित्वहरूले सम्मानित स्रष्टालाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।
तिवारी आमाले कार्यक्रममा आफ्ना मौलिक रचनाहरू प्रस्तुत गर्दै सम्मानप्रति कृतज्ञता जनाइन्। उनका गीतहरूमा नेपाली समाजको यथार्थ झल्किन्थ्यो — खासगरी परदेशिएका परिवारको पीडा, छोरीहरूको दबिएको आवाज, र गाउँको संस्कृति।
प्रतिक्रिया