न्युयोर्कमा आयोजित “आर्ट फर एसडीजीज:

इनेप्लिज २०८२ वैशाख ४ गते १६:२४ मा प्रकाशित

मिथिला हेरिटेज कार्यशाला, प्रदर्शनी र पुरस्कार २०२५” सहित ६औं वार्षिक मिथिला फेस्टिभल यूएसए सम्पन्न

न्यूयोर्कमा ६औं वार्षिक मिथिला फेस्टिभल यूएसए तथा न्यूयोर्क सिटी मेयरद्वारा घोषणा गरिएको मिथिला संस्कृति तथा फेस्टिभल दिवसको अवसरमा मिथिला सेन्टर यूएसएले “आर्ट फर एसडीजीज: मिथिला हेरिटेज कार्यशाला, प्रदर्शनी र पुरस्कार २०२५” शीर्षकको कार्यक्रम सफलतापूर्वक आयोजना गर्‍यो। उक्त कार्यक्रम न्यूयोर्क तिब्बती सेवा केन्द्रमा अपन फाउन्डेसनको सहकार्यमा सम्पन्न भयो।

यस विशेष कार्यक्रममा ४० भन्दा बढी विभिन्न समुदायका बालबालिकाहरूले सहभागिता जनाए। उनीहरूले संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य १५: “जीवन र प्रकृति (Life on Land)” विषयमा आधारित सिर्जनात्मक कला कार्यशालामा उत्साहपूर्वक भाग लिएका थिए। सहभागीहरू प्रसिद्ध मिथिला कलाकार एस.सी. सुमनको प्रत्यक्ष मार्गदर्शनमा कलामार्फत् वातावरणीय सन्देशहरू व्यक्त गर्ने सिकाइमा समर्पित देखिए।

कार्यक्रममा सहभागी सबै बालबालिकाहरूलाई न्यूयोर्क राज्य सभा सदस्य स्टीवन रागाको तर्फबाट “Certificate of Merit” प्रदान गरियो। त्यस्तै, लोककला क्षेत्रमा लामो समयदेखि समर्पित रहेर मिथिला सम्पदाको प्रवर्द्धन र शिक्षणमा जीवन अर्पण गरेका मास्टर कलाकार एस.सी. सुमनलाई न्यूयोर्क राज्य सभाको तर्फबाट “Citation” द्वारा विशेष सम्मान गरियो।

सहभागी बालबालिकामध्ये उत्कृष्ट तीन कलाकृति छनोट गरिएका थिए, जसलाई २०२५ “Art Champion Award” अन्तर्गत ट्रफी, प्रमाणपत्र, र उपहार प्रदान गरियो। विजेताहरूमा रश्मि गिरि (उमेर समूह ५–८), तेन्जिन ल्हाजे किङ्गा (९–११), र अष्टिन शाह (१२ वर्षदेखि माथि) रहेका छन्।

कार्यक्रमको सञ्चालन मिथिला सेन्टर यूएसएका संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक अमित प्रताप शाहले गर्नुभएको थियो। उहाँले यस्तो कार्यक्रमले न केवल मिथिला सांस्कृतिक सम्पदाको संरक्षणमा टेवा पुर्याउने, तर नयाँ पुस्तालाई विश्वव्यापी विकास लक्ष्यहरूमा संलग्न गराउने उल्लेख गर्नुभयो। साथै, उहाँले मेयर कार्यालय, सहभागी, स्वयंसेवक र अभिभावकहरूप्रति आभार प्रकट गर्नुभयो।

कार्यक्रममा न्यूयोर्क सिटी मेयर कार्यालयका दक्षिण एशियाली समुदाय समन्वयकर्ता सुकरानी धनपुतले मेयरद्वारा जारी गरिएको मिथिला संस्कृति दिवसको आधिकारिक घोषणापत्र प्रस्तुत गर्दै आयोजक टोलीको कामको उच्च प्रशंसा गर्नुभयो। त्यस्तै, न्यूयोर्क राज्य सभा सदस्य स्टीवन रागाको कार्यालयका समुदाय निर्देशक दोल्मा लामाले कार्यक्रमप्रति समर्थन जनाउँदै सम्मान प्रमाणपत्र प्रदान गर्नुभयो।

न्यूयोर्क तिब्बती सेवा केन्द्रका कार्यक्रम निर्देशक तेन्जिङ छिरिङले यस्तो अन्तरसंस्कृति कार्यक्रम आफ्नै केन्द्रमा आयोजना हुन पाउँदा गौरव महसुस भएको बताउनुभयो।

कार्यक्रमका प्रमुख कलाकार एस.सी. सुमन, जो नेपाल नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान पूर्व परिषद् सदस्य तथा लोककला विभागका पूर्व प्रमुख पनि हुन्, उहाँले यस्तो अवसर पाउँदा गहिरो कृतज्ञता व्यक्त गर्नुभयो। “म मिथिला सेन्टर यूएसएलाई धन्यवाद दिन चाहन्छु, जसले मलाई प्रवासी बालबालिकासँग आफ्नो ज्ञान बाँड्न र उनीहरूलाई संस्कृतिप्रति जागरुक गराउन मौका दियो,” उहाँले भन्नुभयो।

कार्यक्रम संयोजिका तथा सहशिक्षिका प्रज्ञा पन्थीले बालबालिकाले यस कार्यशालाबाट कला र दिगो विकास लक्ष्यको ज्ञान प्राप्त गर्दै नेतृत्वदायी मूल्यहरू सिकेको बताउनुभयो।

कार्यक्रमको विशेष आकर्षणको रूपमा, एस.सी. सुमन, प्रतिक रायमाझी, शिवांगी सिंह, सुभाद्रि सुभा, र राखी कर्णका मिथिला चित्रकलाको प्रदर्शनीसमेत राखिएको थियो। ती चित्रहरूले जैव विविधता, प्रकृति र वातावरणीय चेतनाका सन्देश बोकेका थिए।

कार्यक्रमको अन्त्यमा आयोजकले सहभागी बालबालिका, कलाकार, स्वयंसेवक, अभिभावक सबैलाई आभार प्रकट गर्दै, मिथिला सम्पदाको सौन्दर्यलाई जीवन्त तस्बीरहरूमा उतार्ने फोटोग्राफर राज काफ्लेलाई विशेष सम्मान प्रदान गरे।

प्रतिक्रिया