ट्रम्प प्रशासनद्वारा गल्तीले निर्वासित गरिएका व्यक्तिको मुद्दामा अधिवक्ता निलम्बन

इनेप्लिज २०८१ चैत २३ गते १०:३८ मा प्रकाशित

मेरील्यान्डमा बसोबास गर्दै आएका एल साल्भाडोरका नागरिक किलमार अब्रेगो गार्सियालाई गल्तीले निर्वासित गरिएको मुद्दामा “पूरै तदारुकताका साथ” सरकारी पक्षको वकालत नगरेको आरोपमा ट्रम्प प्रशासनले न्याय विभागका कानुन व्यवसायी (अधिवक्ता)एरेज रेउवेनीलाई निलम्बन गरेको छ।

न्यायमन्त्री पाम बन्डीको कार्यालयले शुक्रबारको सुनुवाइपछि रेउवेनीलाई अनिश्चितकालीन तलबसहितको बिदामा पठाएको हो। सो सुनुवाइमा संघीय न्यायाधीश पाउला जिनिसले गार्सियालाई सोमबारसम्म अमेरिकामा फिर्ता ल्याउन आदेश दिएकी थिइन्।

बन्डीले न्यूयोर्क टाइम्सलाई भनिन्, “मेरो निर्देशन अनुसार, प्रत्येक डिओजे कानुन व्यवसायीले अमेरिकाको पक्षमा पूर्ण समर्पणका साथ वकालत गर्नुपर्छ। यसमा चुक गर्नेले कारवाही भोग्नुपर्छ।”

तर, शनिबार ट्रम्प प्रशासनले आपतकालीन अपिल दायर गर्दै न्यायाधीश जिनिसको आदेश रोक्न आग्रह गर्‍यो। सरकारी अपिल अनुसार, “एकजना संघीय न्यायाधीशले एम-एस -१३ सदस्य समेत भएको एक विदेशी नागरिकलाई एल साल्भाडोरबाट फिर्ता ल्याउन आदेश दिएको छ।

सरकारले गार्सियाको नियन्त्रण अब एल साल्भाडोर सरकारसँग भएको दाबी गर्दै भन्यो, “अदालतको आदेशले हामीलाई मात्र एक व्यावसायिक दिनमा विदेशी सरकारलाई यस्तो कार्य गर्न बाध्य पार्न खोजिरहेको छ, जुन असम्भव र अन्यायपूर्ण छ।”

हालसालै ट्रम्प प्रशासनले गार्सियाको निर्वासनलाई “प्रशासनिक गल्ती” भनेको भए पनि उनलाई एम-१३ गिरोहसँग जोडिएको भन्दै त्यसको औचित्य पनि प्रस्तुत गरेको छ।

प्रतिक्रिया