क्यानेडियन नेवाः गुठि द्वारा ८औं बिस्व नेवाः दिबस बिबिध कार्यक्रम सहित सम्पन्न- गुठि अध्यक्ष “लिगेसी एवार्ड” बाट सम्मानित

इनेप्लिज २०८१ चैत १९ गते १०:१८ मा प्रकाशित

ब्राम्प्टन, क्यानेडियन नेवाः गुठिले बिगतका बर्षहरुमा झै यसपालि पनि ८औं बिस्व नेवाः दिबस बिबिध कार्यक्रम सहित हालै ब्राम्प्टनमा सम्पन्न गरेको छ। कार्यक्रमको शुरुमा गुठिका संस्थापक अध्यक्ष प्रकाश प्रधानले कलात्मक पानसमा दीप प्रज्वलित गरि कार्यक्रमको उदघाटन गर्नु भएको थियो।

उदघाटन पस्चात उपस्थित सम्पूर्णलाई स्वागत गर्नु हुन्दै गुठिका अध्यक्ष उत्तम माकःजुले बिस्वका बिभिन्न स्थानमा बसोबास गरिरहेका सम्पूर्ण नेवाः बर्गको एकता, सस्कृति, परम्परा, सम्पदाको संरक्षण र् प्रबर्द्दन गर्ने उद्देश्यले गत आठ बर्ष देखि बिस्वका बिभिन्न मुलुकमा नेवाः दिबस मनाउदै आएको बताउनु भयो । साथै उहाँले आफ्नो इतिहास , उत्पति र संस्कृतिको ज्ञान नभएको ब्यक्ति जरा नभएको रुख जस्तै हुने भन्ने एक बिद्वत महानुभाबको भनाई पनि स्मरण गराउनु भयो। त्यसपछि गुठिका प्रथम उपाध्यक्ष बिमल श्रेष्ठले बिस्व नेवाः दिबस मनाउन वर्ल्ड नेवाः अर्गनाइजेसनको भूमिका, यसका उद्देश्य, उपादेयता बारे प्रकास पार्नु हुदै सो दिबस हाल बिस्वका बिभिन्न मुलुकमा बिसेष कार्यक्रम सहित मनाउन्दै आईरहेको जानकारी दिनु भयो।

सो कार्यक्रममा नेवाः संस्कृति, सम्पदाको जानकारी गराउने उद्देश्यले गुठिका महासचिब डा. प्रज्वल प्रधानले नेवाः सभ्यता संस्क्रृतिमा मात्र धनि नभई घर. मन्दिर निर्माण प्रबिधिमा पनि उतिकै सशक्त र बिज्ञान सम्मत रहिआएको बताउनु भयो। सोहि बिषयमा आफ्नो प्रस्तुति प्रस्तुत गर्नु हुदै नेवाः समुदायले आफ्नो घर , मन्दिर निर्माण गर्दा बिशेष प्रबिधि अपनाई निर्माण गर्ने भएकोले धेरै हद सम्म भूकम्प प्रतिरोधक भै ठूला ठूला भुकम्प हुदा पनि कम मात्र क्षति हुने गरेको बताउनु भयो। साथै उहाँले नेवाः परम्परा अनुसार बिचमा चोकको अबधारणा राखेर चारै तिर घर बनाउदा रेखाकार अबधारणाको बस्ति भन्दा बढि भूकम्प प्रतिरोधक रहेको बताउनु भयो।

कार्यक्रममा कार्यसमिति सदश्य डा. कृष्ण कायस्थले नेवाः सभ्यता, संस्कृति, सम्पदा र यसको संरक्षणमा हाम्रो जिम्मेवारी सम्बन्धि परिबेसमा रहेर नेपालभाषामा जानकारीमूलक कबिता बाचन गर्नु भयो भने नेवाः सस्कृति, भेषभुषा, भाषा सम्बन्धि खुल्ला हाजिरि जवाफ कार्यक्रम पनि आयोजना गरेको थियो। त्यस्तै गरि कार्यसमिति सदश्य नरेश ताम्राकारले नेवाः समुदायले तिहारमा प्रयोग गरिने” चिनीयाम्ह किसिचा” (चीनीबाट बनाईएका हात्ती तथा बिभिन्न स्वरुप) को प्रदर्शन गरि नेपालमा हराउन्दै गएको परम्परा क्यानडामा प्रस्तुत गर्नु भयो।

धिमे बाजाबाट शुरु गरिएको सो कार्यक्रममा नेवाः, नेपाली तथा क्यानडाको राष्ट्रिय गान बजाउनु को साथै रंजना सैन्जु, डा. अमर सैन्जु र उत्तम माकःजुको समूहले सिटारमा बसन्त धून प्रस्तुत गरेका थिए । त्यसै गरि नेपाल बाट आउनु भएका नेपाल नृत्य निर्देशक संघका उपाध्यक्ष एबम नृत्य प्रशिक्षक ज्ञान बहादुर महर्जनले चर्या नृत्य प्रदर्शन गरेकाथिए भने गुठिका महिला समूहबाट यशोदा श्रेष्ठ, गायत्री कायष्ठ, नीलम श्रेष्ठ, मनिषा पन्त, रचना पौडेल, अरुणा राजभण्डारी, सुजिता मल्ल, सबिना शाक्य को समूहले बिजु सिंहको निर्देशनमा “ल्यायम म्ह्म् दाजु तं चायाला छि” गीतमा मनमोहक नृत्य प्रस्तुत गरेका थिए। सोहि कार्यक्रममा गुठिका सास्कृतिक संयोजक राजेन्द्र महर्जनले आकर्षक धिमे नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रमको अन्त्यमा कार्यक्रमका संयोजक शुशिल अणुले कार्यक्रम सफल पार्न प्रत्यक्ष तथा परोक्ष रुपमा सहयोग गर्नु हुने सम्पूर्ण महानुभाबहरुलाई हार्दिक धन्यबाद ब्यक्त गर्नु भयो ।

सो कार्यक्रममा गुठिका अध्यक्ष उत्तम माकःजुलाई उहाँले नेपाली तथा नेवाः सस्कृतिको प्रबर्द्दनमा गरेको योगदानको कदर स्वरुप “सिनेटर भिक्टर उ लिगेसि एवार्ड” क्यानेडियन मल्टि कल्चरल काउन्सिलका अध्यक्ष प्रा. डा. तुल्सी धरेलले प्रदान गर्नु भएको थियो। सम्मान पछि बोल्नु हुदै प्रा. डा. तुल्सी धरेलले नेपाली कलाको प्रमुख उदगम स्थल काठमाण्डौ उपत्यकाको नेवाः संस्कृति समयकालमा बिस्वका बिभिन्न मुलुकमा फैलदै गएको बताउनु हुदै क्यानडामा आफ्नो परम्परा, कला तथा सस्कृतिको संरक्षण तथा प्रबर्द्दनमा क्यानेडियन नेवाःगुठिको क्रियाकलाप प्रशंसायोग्य रहेको बताउनु भयो।

त्यसपछि सम्मानित ब्यक्ति उत्तम माकःजुले यो सम्मान गुठिमा आबद्द भै सेवा गरेको आधारमा भएकोले सिंगै गुठिको सम्मानको रुपमा आफूले लिएको बताउनु हुदै यो सम्मानले आफूलाई सामाजिक सेवामा थप संलग्न हुन हौसला प्रदान गरेको छ भन्नु भयो। साथै सो सम्मानको लागि प्रा. डा. तुल्सी धरेललाई पनि हार्दिक आभार ब्यक्त गर्नु भयो।

कार्यक्रमको दोश्रो चरणमा स्थानिय कलाकारहरु सुजिता मल्ल, पूर्ण जोशी,अमृत श्रेष्ठ, हेमा चखुं, जलेन्द्र शाक्य, सबिना शाक्य, प्रकाश प्रधान, सुरेन्द्र लाल श्रेष्ठ, नरेश ताम्राकार, डा. प्रज्वल प्रधान, सुशिल अणु लगायतले नेपालभाषा तथा नेपाली गीत द्वारा पाहुनाहरुलाई मनोरंजन गराएका थिए।

प्रतिक्रिया