हमासद्वारा इजिप्टको नयाँ युद्धविराम प्रस्ताव स्वीकार, पाँच बन्धकहरू रिहाइ हुने सम्भावना

इनेप्लिज २०८१ चैत १६ गते १०:१० मा प्रकाशित

हमासले इजिप्टको नयाँ युद्धविराम प्रस्ताव स्वीकार गरेको छ, जसअन्तर्गत पाँच बन्धकहरूको रिहाइ हुने सम्भावना रहेको छ । रिहाईमा अमेरिकी-इजरायली इडान एलेक्जान्डर पनि रहने छन्। सिएनएनलाई दिएको जानकारी अनुसार हमास स्रोतले यो प्रस्ताव स्वीकृत गरेको पुष्टि गरेको छ।

यो प्रस्ताव अमेरिकी विशेष दूत स्टिभ विटकोफले केही साताअघि राखेको योजनासँग मिल्दोजुल्दो छ, तर मृत बन्धकहरूको शव फिर्ता गर्ने विषय यसमा समावेश छ वा छैन भन्ने स्पष्ट नभएको सिएनएनले समाचारमा उल्लेख गरेको छ ।

हमासले पाँच बन्धकहरू रिहाइ गरेबापत पहिलो चरणको युद्धविरामको अवस्थामा फर्किनुपर्ने माग राखेको छ। जसमा मानवीय सहायता प्रवेश गर्न दिनुका साथै दोस्रो चरणको युद्धविरामबारे वार्ता गर्न सहमति हुनुपर्ने हमास स्रोतले जनाएको छ।

हमास नेता खालिल अल-हय्याले दूरदर्शन (टेलिभिजन )सम्बोधनमा यो प्रस्तावलाई “सकारात्मक रूपमा” मूल्यांकन गरेको र अन्ततः स्वीकार गरिएको बताए।

अल-हय्याले हमासले पहिलो युद्धविराम सम्झौताका सबै सर्तहरू पालन गरेको दाबी गर्दै इजरायलले नयाँ प्रस्तावलाई अस्वीकार नगरोस् भन्ने आशा व्यक्त गरे।

तर, इजरायलले इजिप्टको प्रस्तावलाई प्रतिक्रिया दिएको छ। इजरायली प्रधानमन्त्रीको कार्यालयका अनुसार प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले मध्यस्थकर्ताहरूबाट प्राप्त प्रस्तावमा छलफल गरी इजरायलको प्रति प्रस्ताव(विरोध) उनीहरूलाई हस्तान्तरण गरेको छ।

इजरायलले यस महिनाको सुरूमा पुनः गाजामा आक्रमण सुरु गरेको छ । र ,मानवीय सहायता प्रवेशमा पूर्णरूपमा नाकाबन्दी लगाएको छ। बाँकी २४ जीवित बन्धकहरूको रिहाइ सुनिश्चित हुँदैन तब सम्म इजरायली सेनाले गाजाका केही भागहरूमा स्थायी रूपमा उपस्थित रहने चेतावनी दिएको छ ।

गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार अक्टोबर ७, २०२३ मा हमासद्वारा इजरायलमा गरिएको आक्रमणपछि इजरायली सैन्य कारबाहीका कारण अहिलेसम्म कम्तीमा ५०,२७७ प्यालेस्टिनी मारिएका छन् र १,१४,०९५ घाइते भएका छन्।

प्रतिक्रिया