ट्रम्पको विवादास्पद भनाई: आप्रवासन नीतिको बचाउ गर्दै भने “यो युद्धको समय हो”

इनेप्लिज २०८१ चैत ३ गते ११:०७ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनको आप्रवासन नीतिको बचाउ गर्दै अमेरिका अहिले “युद्धको समय” मा रहेको बताएका छन्।

फ्लोरिडाको यात्राबाट वाशिंगटन डिसी फर्कने क्रममा उनको बिमान एयर फोर्स वनमा यात्राका क्रमम एक पत्रकारले उनलाई एलिएन एनेमीज एक्ट(विदेशी शत्रु ऐन) अन्तर्गत भएको निर्वासनबारे प्रश्न गर्दा, उनले भने, “यस विषयमा वकिलसँग कुरा गर्नुपर्छ।”

संघिय अदालतले उक्त ऐन प्रयोग गरी आप्रवासीहरूलाई निष्कासन गर्न रोक लगाएको भए पनि, ट्रम्पले भने, “मैले ऐनको सही प्रयोग गरिरहेको छु।”

उक्त ऐन ऐतिहासिक रूपमा मात्र युद्धकालमा प्रयोग गरिएको छ। तर, ट्रम्पले बाइडेन प्रशासनको आप्रवासन नीतिलाई उल्लेख गर्दै “यो अहिले युद्धकै समय हो” भन्ने तर्क गरे।

एलिएन एनेमीज एक्ट अर्थात् विदेशी शत्रु ऐन ऐतिहासिक रूपमा अमेरिका युद्धमा भएको बेलामा मात्र प्रयोग गरिँदै आएको छ। यो ऐन अमेरिकी राष्ट्रपति वा सरकारलाई युद्धकालमा “शत्रु राष्ट्र” सम्बन्धी कडा निर्णय लिन अधिकार दिन्छ।

तर, ट्रम्प प्रशासनले यो ऐन शान्तिकालमा लागू गर्न खोजेको आरोप लागिरहेको छ। उनले बाइडेन प्रशासनको आप्रवासन नीतिलाई अमेरिकी सुरक्षाका लागि खतरा भन्दै उक्त ऐन लागू गर्न खोजेका हुन्।

यसअघि एक संघीय अदालतले ट्रम्प प्रशासनलाई विदेशी शत्रु ऐन अन्तर्गत निर्वासन नगर्न आदेश दिएको थियो। तर, ट्रम्प प्रशासनले अदालतको आदेश उल्लङ्घन गरेको हुन सक्ने आशङ्का गरिएको छ।

ट्रम्पका आलोचकहरूले यो कदम कानुनी रूपमा अत्यन्तै विवादास्पद भएको बताएका छन्। कानूनी विश्लेषकहरूका अनुसार यदि ट्रम्प प्रशासनले वास्तवमै अदालतको आदेश उल्लङ्घन गरेको हो भने यो गम्भीर कानुनी संकट बन्न सक्ने तर्क राखेका छन् ।

प्रतिक्रिया