अमेरिका आएर चिकित्सा शिक्षा दिने तयारीमा रहेकी एक लेबनानी महिला चिकित्सकलाई अमेरिकी गृह सुरक्षा विभाग (डिएचएस) ले पक्राउ गरेको छ।
डा रशा अलाविहलाई गत मार्च १३ मा बोस्टनको लोगान अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिनुका साथै हिरासतमा लिइएको थियो। उनी ब्राउन विश्वविद्यालयमा सहायक प्राध्यापकका रूपमा काम गर्न एच१बि प्रवेशाज्ञा(भिसा)मा अमेरिका पुगेकी थिइन् ।
मृगौला प्रत्यारोपण विशेषज्ञ अलाविहले यसअघि वासिङ्टन विश्वविद्यालय र येल विश्वविद्यालयमा प्रशिक्षण लिएकी थिइन्। ब्राउन विश्वविद्यालयको मृगौला विभागले उनको अनुपस्थितिले गम्भीर असर पारेको भन्दै कानुनी कागजातमा उल्लेख गरेको छ।
“उनीसँग महत्त्वपूर्ण जिम्मेवारीहरू छन्। उनका सहकर्मीहरूले अस्थायी रूपमा उनको काम सम्हालेका छन्, तर यो दीर्घकालीन समाधान होइन,”कानुनी दाबीमा भनिएको छ।
डिएचएस अधिकारीहरूले उनलाई हिरासतमा लिएको कारण खुलाएका छैनन्। अमेरिकी भन्सार तथा सीमा सुरक्षा (सिबीपी) ले आगन्तुकहरूले आफ्नो प्रवेश योग्यता प्रमाणित गर्नुपर्ने बताउँदै कुनै थप जानकारी दिएको छैन।
अमेरिकी जिल्ला अदालतले अलाविहलाई ४८ घण्टाको सूचना बिना देश निकाला गर्न नहुने आदेश दिएको थियो। तर, डीएचएसले आदेश अवज्ञा गर्दै उनलाई फ्रान्स हुँदै लेबनान पठाएको बताइएको छ। यद्यपि, उनको वास्तविक अवस्थाबारे पुष्टि हुन बाँकी छ।
प्रतिक्रिया