हेपाइ, प्रतिरोध र आत्मसम्मानको लडाइँ

इनेप्लिज २०८१ फागुन १७ गते १२:२३ मा प्रकाशित

सुभद्रा पराजुली

पल्लो घरका बब्लुले हद नै गर्‍यो! लाक्पाजी, हामी सानो परिवार भए भन्दैमा यसरी दिनहुँ हेप्न पाइन्छ त ?

बाटैमा निमाले जिस्काउँदै सोधी, “के कपडा लाएर आएको कुलमान दाइ ! छिः छिः, धुलैधुलो बोकेर पो आयौ यो भव्य दरबारमा ?”

“बब्लुका भएभरका सन्तानले हामीलाई घेरिहाले, ढुंगा, लाठी, मुङ्ग्राले आक्रमण गर्दै आए, हाम्रो घर तहसनहस भइसक्यो, रुम्बा भाइले दिनुभएको गुलेली र मट्याङ्ग्रा सबै सकिए, अब बारिको डल्ला उक्काउँदै हान्नुपर्ने अवस्था आयो, आफू र परिवार जोगाउन टुप्पी कसेर लडेका छौं , हामी छौं नि, किन सहनुपर्यो?”
भन्नु भएको थियो रुम्बा भाइले र , “अब यो ज्यादती सहँदैनौं, लु आइज त, बब्लु! जोरी खोज्ने त तँ पो होस, हेर, हाम्रो घर ध्वस्त पारिस! अब हामी चुप लागेर बस्दैनौं लड्नै परे लड्छौं भनेर थालियो !”

गुलेलीका मट्याङ्ग्रा सकिएपछि हात हाल्ने बेला आयो, दिनरातको हेपाइले हामी आजित भइसकेका थियौं, अब यो लडाइँ नसकिएसम्म लुगा फेर्ने पनि मन छैन! थकित स्वरमा कुलमान बोले

लाक्पा रिसाउँदै कड्किए, “रुम्बेले तेरो हातमा गुलेली-मट्याङ्ग्रा दिएर उचाल्यो! त्यो नदिएको भए दुई दिनमै चुपचाप बस्थेउ तिमीहरू ! अब के गर्न आउनु भा ? अर्को झगडाको आगो बाल्न? कि शान्ति खोज्न?”

कुलमान , नम्र भएर भने , “हजुरहरूकै आफन्त रुम्बाजी हुनुहुन्छ,उहाँकै सल्लाहले म यहाँ आएको, हजुरले पनि त भेट्न खोज्नु भएको हो नि मसँग , तर यो लडाइँ अब सहन सकिदैंन ।”

लाक्पाका सहयोगी चिच्याए, “हामीले रोकिदिन सक्छौं झगडा! तर तिमीले पुर्ख्यौंली सम्पत्तिको आधा दिनुपर्छ। सुनेका छौं, कतै गाडेको धन पनि छ रे! त्यो पनि आधा चाहिन्छ, मान्छौ?”

कुलमान कड्किए, “ किन मैले तपाईंहरूले भनेकै सबै मान्नुपर्ने? के अन्याय सहिरहनु नै मेरो भाग्य हो?”
लाक्पाले धम्काए, “यहाँबाट निस्किहाल्नुस् किन दिने बारम्बार सहयोग हामीले ?”

गहिरो सास फेरेर कुलमानले भने “ठीक छ, तपाईंहरूलाई धन्यवाद, तपाईंहरूको परिवारलाई पनि धन्यवाद, तर म यहाँ आत्मसम्मान बेच्न आएको हैन , माफी पनि माग्दिन”

त्यसपछि साइकलमा हुइँकिएँ

लाक्पाका छिमेकीबीच खैलाबैला मच्चियो—
“कस्तो सनकी रहेछ कुलमान!”
“लाक्पा र उसका सहयोगी त झन् अझै उग्र पो रहेछन् “
“एउटा इज्जतदार मान्छेलाई बोलाएर यसरी बेइज्जत गर्न मिल्छ?”
“फटाहा कुलमान! सित्तैको गुलेली-मट्याङ्ग्रा मागेर आफू हिरो पल्टिन खोजेको भेट्यो “
“कस्तो जिद्दी लाक्पा! उमेरले डाँडो काटेर के गर्नु, बुद्धि त बच्चाकै रहेछ ”

कुलमान ठीक थियो कि लाक्पा? संसार नै ढलपल गरिरहेजस्तो लागिरहेको थियो
म भने अचानक झसङ्ग भएँ, भूँचालो आएको हो कि?

“राम! राम! राम!” भन्दै खाटबाट हाम फालेछु !

खुट्टा दुखिरहेको छ… तर मन अझै उकुसमुकुस छ” आखिर किन होला यो गोलार्धको खिॅचातानी !

              सुभद्रा पराजुली , भर्जिनिया 
                  मार्च १ ,२०२५ 

प्रतिक्रिया