अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई ह्वाइट हाउसमा स्वागत गर्दै द्विपक्षीय वार्ता र पत्रकार सम्मेलनको आयोजना गरेका छन्। अहिले वार्ता चलि रहेको छ । वार्तामा अमेरिकाको युक्रेन युद्ध अन्त्य गर्ने प्रयास र खनिज स्रोतसम्बन्धी सम्भावित सम्झौता मुख्य विषय रहने अपेक्षा गरिएको छ।
पत्रकारहरुले सम्झौताबारे सोध्दा ट्रम्पले कुनै प्रत्यक्ष उत्तर दिएनन्, तर जेलेन्स्कीको हात मिलाउँदै उनले ठट्टा गर्दै भने, उहाँ आज निकै राम्रो पोशाकमा हुनुहुन्छ!
यस सम्झौताले अमेरिकालाई युक्रेनका खनिज स्रोतहरूमा सहज पहुँच दिनेछ भने युक्रेनले नयाँ लगानी र सम्भावित सुरक्षाको आश्वासन पाउने अपेक्षा गरेको छ।
गत हप्ता मात्र ट्रम्पले युक्रेनी राष्ट्रपति ‘तानाशाह’ भएको आरोप लगाएका थिए । तर बैठकअघि आफ्नो धारणा केही परिवर्तन गर्दै म उहाँलाई सम्मान गर्छु भने ।
यसअघि ट्रम्पले फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोन र बेलायती प्रधानमन्त्री कियर स्टार्मरसँग भेटवार्ता गरिसकेका छन्। युरोपेली नेताहरू युक्रेनका लागि सुरक्षा प्रत्याभूति (ग्यारेन्टी )सुनिश्चित गर्ने प्रयासमा छन्, किनभने अमेरिकी-रुस वार्तामा युक्रेनलाई सहभागी गराइएको थिएन।
राष्ट्रपति ट्रम्पसँग भेट्नु अघि जेलेन्स्कीले अमेरिकी सिनेटका दुवै दलका प्रतिनिधिसँग भेटघाट गर्दै युक्रेनलाई निरन्तर सैन्य सहायता, शान्ति प्रयास, युद्ध अन्त्य गर्ने योजना र सुरक्षा ग्यारेन्टीबारे छलफल भएको बताए। हामी अमेरिका जस्तो रणनीतिक साझेदार र मित्र राष्ट्रप्रति गर्व गर्छौं ,उनले सामाजिक संजाल एक्समा लेखे ।
अहिले ट्रम्प र जेलेन्स्की ओभल कार्यालयमा द्विपक्षीय वार्ता गरिरहेका छन् । उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियो पनि उपस्थित छन्।
प्रतिक्रिया