अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेशमार्फत अंग्रेजीलाई अमेरिका संघीय तहको आधिकारिक भाषा बनाउने योजना बनाएको समाचार बाहिर आएको छ। सिबिएसन्यूजका अनुसार ह्वाइट हाउसका विभिन्न स्रोतहरूले यो योजनाबारे जानकारी दिएका छन्।
हालसम्म अमेरिका संघीय रूपमा कुनै आधिकारिक भाषा नभएको भए पनि अंग्रेजी सबैभन्दा बढी प्रयोग हुने भाषा हो। तर, ट्रम्पको कार्यकारी आदेशले पूर्व राष्ट्रपति बिल क्लिन्टनद्वारा जारी गरिएको संघीय निकायहरू तथा सरकारी अनुदान प्राप्त संस्थाहरूलाई गैर-अंग्रेजी भाषीलाई भाषा सहायता प्रदान गर्नुपर्ने मापदण्ड खारेज गर्नेछ। तथापि, निकायहरूले अन्य भाषामा सेवा प्रदान गर्न सक्नेछन्।
ट्रम्प प्रशासनले यो आदेशले राष्ट्रिय एकता प्रवर्द्धन गर्ने, सरकारको कार्यक्षमतामा सुधार ल्याउने र नागरिक संलग्नताको मार्ग प्रशस्त गर्ने दाबी गरेको छ।
यसअघि, रिपब्लिकन सांसदहरूले अंग्रेजीलाई आधिकारिक भाषा बनाउने कानुन पारित गर्ने प्रयास गरेका थिए, तर सफल हुन सकेका थिएनन्। यद्यपि, धेरै अमेरिकी राज्यहरूले आफ्नो आधिकारिक भाषा अंग्रेजी नै तोकेका छन्।
ट्रम्पले गत वर्ष चुनावी अभियानमा अन्य भाषाहरूको आगमनप्रति असन्तुष्टि व्यक्त गर्दै हाम्रो देशमा यस्ता भाषा आउँदैछन् जुन यहाँ कोहीले सुनेका पनि छैनन्। यो एकदमै नराम्रो कुरा हो भनेका थिए ।
ट्रम्पको प्रस्तावित आदेशबारे विविध प्रतिक्रिया आइरहेका छन् ।
प्रतिक्रिया