न्युयोर्क सिटीमा विद्यार्थी र अभिभावकहरूबीच ऐतिहासिक अंतरक्रियात्मक कार्यक्रम सम्पन्न

इनेप्लिज २०८१ फागुन १३ गते २३:१८ मा प्रकाशित

रिजउड, न्युयोर्क – पुस्तागत सम्बन्ध मजबुत बनाउने, सामाजिक संलग्नताको महत्त्व उजागर गर्नु र शैक्षिक तथा व्यक्तिगत विकासलाई प्रवर्द्धन लक्ष्यसहित अपन फाउन्डेसनले रिजउड नेपाली सोसाइटीको सहकार्यमा तथा न्युयोर्क सिटी मेयरको अफिस कम्युनिटी अफेयर्स युनिटको सहयोगमा विद्यार्थी र अभिभावकहरू: ब्रेकिंग ब्रेड, बिल्डिङ बन्ड्स कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्यो। रिजउड, न्युयोर्कस्थित प्रसिद्ध नेपाली रेस्टुरेन्ट साईमन किचनमा आयोजित यस ऐतिहासिक कार्यक्रममा सयौं विद्यार्थी, अभिभावक र विभिन्न समुदायका पेशेवरहरू उपस्थित भएका थिए।

कार्यक्रमका नेतृत्वकर्ता अमित प्रताप शाह, जो अपन फाउन्डेसनका संस्थापक पनि हुन्, ले आफ्नो स्वागत मन्तव्यमा यस ऐतिहासिक कार्यक्रमको महत्व औंल्याए।

“प्रवासी परिवारहरूका लागि विदेशमा सफल हुनु मात्र महत्त्वपूर्ण छैन, सँगै पुस्तागत दूरीलाई बुझ्नु र त्यसलाई कम गर्नु पनि अत्यावश्यक छ। हामी यहाँ नयाँ अवसरहरू खोज्न आएका छौं, तर कहिलेकाहीँ परिवारभित्रै बढ्दै गएको दूरीलाई बेवास्ता गर्छौं,” शाहले भने। “यो कार्यक्रम एकअर्कालाई सुन्न, बुझ्न, र परिवार तथा समुदायबीचको सम्बन्ध सुदृढ गर्न महत्त्वपूर्ण कोशेढुङ्गा हुनेछ।”

साथै, उनले सांस्कृतिक सम्पदाको संरक्षणको महत्त्व उल्लेख गर्दै, नयाँ पुस्तालाई आफ्नै जरा र पहिचानसँग जोड्न आवश्यक रहेको बताए।

“हाम्रो संस्कृति र पहिचान हाम्रो जरो हो। यदि हामीले हाम्रो बालबालिकालाई आफ्नै संस्कार, भाषा र परम्परासँग जोड्न सकेनौं भने उनीहरू आफ्नो जरा बिर्सिन्छन्, जसको असर दीर्घकालीन रूपमा उनीहरूको आत्मपहिचान र आत्मविश्वासमा पर्न सक्छ। त्यसैले, हाम्रो उद्देश्य केवल सामाजिक संलग्नता बढाउनु मात्र होइन, तर नयाँ पुस्तालाई सशक्त पार्दै उनीहरूलाई हरेक क्षेत्रमा सफल बनाउन मार्गदर्शन गर्नु पनि हो,” उनले थपे।

कार्यक्रमलाई अपन फाउन्डेसनको विद्यार्थी तथा युवा कल्याण समितिकी अध्यक्ष प्रज्ञा पन्थीले कुशलतापूर्वक सञ्चालन गरिन्।

पन्थीले उपस्थित सबैलाई परिचयात्मक खेल (आइस ब्रेकर) मार्फत खुला संवादमा संलग्न गराइन्। सहभागीहरूलाई आफ्नो नाम, पेशा (वा कक्षा, यदि विद्यार्थी भए), र कुनै रमाइलो तथ्य बताउन अनुरोध गरियो, जसले कार्यक्रमलाई सहज, खुला र अन्तरक्रियात्मक बनायो।

उनले पुस्तागत सम्बन्ध सुदृढ गर्नको लागि आपसी बुझाइ र सम्मान आवश्यक रहेकोमा जोड दिइन्।

“पुस्तागत अन्तर घटाउने कुरा केवल कुराकानी गर्ने मात्र होइन, बरु एकअर्कालाई बुझ्ने र सम्मान गर्ने विषय पनि हो। विद्यार्थीहरू, तपाईंका अभिभावकहरूले धेरै संघर्ष सहेर यहाँसम्म ल्याउनुभएको छ, र अभिभावकहरू, तपाईंका छोराछोरी फरक समाज र संस्कृतिमा हुर्कंदै छन्। आपसी संवादको माध्यमबाट यी चुनौतीहरूलाई सम्बोधन गर्न सकिन्छ,” उनले भनिन्।

पन्थीले प्रविधिले पारिवारिक सम्बन्धलाई कसरी असर पार्छ भन्ने विषयमा अभिभावक र विद्यार्थीबीच खुला छलफल गराइन्।

“मोबाइल र सामाजिक सञ्जालमा घण्टौं बिताउनुको सट्टा, यदि हामी समुदायमा सक्रिय रूपमा सहभागी भयौं भने, हामी आफ्नो संस्कृति, जरा, र समाजबारे अझ बढी जान्न सक्छौं। यसले केवल हाम्रो पहिचानको रक्षा गर्न मद्दत गर्दैन, बरु हाम्रो नेतृत्व क्षमता, सामाजिक सीप (soft skills) र आत्मविश्वास निर्माण गर्न पनि ठुलो भूमिका खेल्छ,” उनले जोड दिइन्।

अतिथि वक्ताहरू सशक्त मन्तव्यहरू:

कार्यक्रममा अतिथि वक्ताहरू ले पुस्तागत सम्बन्ध सुधार्ने, सांस्कृतिक पहिचान बलियो बनाउने र व्यक्तिगत प्रगति गर्ने विषयमा आफ्नो दृष्टिकोण प्रस्तुत गरे।

सुक्रानी धनपत – आत्मपहिचान, समुदायप्रति समझदारी, र न्युयोर्क सिटी मेयर अफिसको समर्थन

न्युयोर्क सिटी मेयरको अफिस कम्युनिटी अफेयर्स युनिटकी दक्षिण एशियाली संयोजक सुक्रानी धनपतले व्यक्तिगत पहिचान, समुदायको महत्त्व, र पुस्तागत दूरी कम गर्न आपसी समझदारी आवश्यक रहेको विषयमा प्रकाश पारिन्।

“हामीले अरूसँग सुमधुर सम्बन्ध कायम गर्न पहिला आफैंलाई बुझ्न आवश्यक छ। हाम्रो संस्कार र अनुभवहरूले हामीलाई बनाउँछ, र त्यसलाई आत्मसात् गरेपछि मात्र हामी अन्य संस्कृतिहरूलाई सम्मान गर्न सक्छौं,” उनले भनिन्। उनको भनाइ अनुसार, पुस्तागत दूरी कम गर्न हामीले आफ्नै जरा बलियो बनाउनुपर्छ, जसले विविध सांस्कृतिक पृष्ठभूमिका मानिसहरूसँग सम्बन्ध विस्तार गर्न मद्दत गर्छ।

साथै, उनले न्यूयोर्क सिटी मेयर अफिसले ‘ब्रेकिंग ब्रेड, बिल्डिङ बन्ड्स (Breaking Bread, Building Bonds)’ कार्यक्रमको महत्त्वलाई पहिचान गरी यसलाई विभिन्न स्थानीय समुदायहरूमा आयोजना गर्न समर्थन गरिरहेको उल्लेख गरिन्। धनपतका अनुसार, न्यूयोर्क सिटीमा विभिन्न जातीय र सांस्कृतिक पृष्ठभूमिका मानिसहरू बीच आपसी संवाद र समझदारी निर्माण गर्न यस्ता कार्यक्रमहरू प्रभावकारी सावित भइरहेका छन्।

“हालसम्म आयोजना गरिएका कार्यक्रमहरूमध्ये यो कार्यक्रम सहभागिता र छलफलको हिसाबले सबैभन्दा सफल रह्यो। यस कार्यक्रममा विविध समुदायका विद्यार्थी, अभिभावक, र विज्ञहरूले खुलेर महत्वपूर्ण विषयहरूमा विचार आदान-प्रदान गरे, जसले आपसी सम्बन्ध बलियो बनाउने मात्र होइन, शैक्षिक र सामाजिक उत्थानमा समेत योगदान पुर्‍याउनेछ,” उनले थपिन्।

डा. नीता जैन – बाल विकास र अभिभावकीय भूमिकाको महत्त्व

मनोविज्ञान विशेषज्ञ डा. नीता जैन, जो यूनिभर्सल असेस्मेन्ट एण्ड कन्सल्टिङ LLC की निर्देशक तथा न्यूयोर्क डिपार्टमेन्ट अफ एजुकेशनसँग सम्बद्ध एकमात्र दक्षिण एशियाली समुदाय सेवा एजेन्सीकी संस्थापक हुन्,ले बालबालिकाको प्रारम्भिक विकास मूल्यांकन र परामर्श सेवाको महत्त्वमा प्रकाश पारिन्।

“बाल मनोविज्ञान विशेषज्ञ डा. नीता जैनले आफ्ना व्यावसायिक अनुभवहरू साझेदार गर्दै शिशु तथा बाल विकासको प्रारम्भिक चरणमा अभिभावकको संलग्नता अति आवश्यक रहेको बताइन्। उनले बाल्यकालमै अभिभावकले ध्यान नदिँदा धेरै विकाससम्बन्धी समस्या, भाषागत ढिलाइ, अटिज्म, सामाजिक अन्तरक्रिया चुनौतीहरू आदि समयमै नचिनिने र पछि गम्भीर समस्या बन्न सक्ने चेतावनी दिइन्।

“मैले बाल विकास मूल्यांकन र परामर्श सेवामा लामो समय बिताउँदा देखेको छु कि धेरै अभिभावक आफ्ना बालबालिकाको प्रारम्भिक संकेतहरू बुझ्न नसकेर ढिलो गरेर मात्र सहयोग खोज्छन्। यदि प्रारम्भिक चरणमै ध्यान दिइएन भने, बच्चाहरूले आवश्यक सहयोग र निर्देशन गुमाउन सक्छन्,” उनले भनिन्।

उनले अभिभावकहरूलाई बालबालिकासँग बढी समय बिताउन, उनीहरूको गतिविधि, भाषा, सामाजिक अन्तरक्रिया, र भावनात्मक प्रतिक्रियाहरू सूक्ष्म रूपमा अवलोकन गर्न, र कुनै असामान्य संकेत देखिएमा तत्काल विशेषज्ञको परामर्श लिन आग्रह गरिन्।

“हामीले हाम्रो बच्चाहरूको वृद्धि र विकासलाई संयोगमा छोड्न हुँदैन। उनीहरूको प्रत्येक सानो प्रगतिलाई महत्त्व दिँदै समयमै सही मार्गदर्शन दिनु आवश्यक छ। खेल, संवाद, र दैनिक गतिविधिहरूमा उनीहरूसँग समय बिताउनु मात्र नभई उनीहरूको मानसिक, सामाजिक, र भावनात्मक अवस्थालाई बुझ्ने प्रयास गर्नु नै अभिभावकको मुख्य दायित्व हो,” उनले जोड दिइन्।

साथै, उनले धेरै वर्षदेखि अमित प्रताप शाहसँग सामाजिक कार्यमा सहकार्य गर्दै आएको अनुभव साझा गर्दै, उहाँजस्तो ऊर्जाशील, समाजसेवी र दूरदृष्टि भएका युवा नेतासँग काम गर्न पाएकोमा आफूलाई भाग्यमानी महसुस गरेको बताइन्।

“मैले उहाँसँग लामो समयदेखि समाज सेवामा काम गर्ने अवसर पाएकी छु, र हरेक पटक उहाँले समुदायको हितका लागि गरेका प्रयासहरूले मलाई थप प्रेरित बनाएको छ। हाम्रो दक्षिण एशियाली समुदाय साँच्चै नै भाग्यमानी छ, किनभने हामीसँग अमित जस्तो गतिशील युवा नेता र समुदायका सशक्त अधिवक्ता छन्,” डा. जैनले भनिन्।

उनको मन्तव्यले अभिभावकहरूलाई आफ्ना बालबालिकाको विकासलाई अझ ध्यानपूर्वक हेर्न प्रेरित गर्यो, जसले प्रारम्भिक वर्षहरूमा सकारात्मक परवरिशको महत्त्वलाई पुनः पुष्टि गर्‍यो।

राजेश भट्ट, रिजउड नेपाली सोसाइटीका अध्यक्ष – सामाजिक संलग्नता, सांस्कृतिक जगेर्ना र भावी पुस्ताका लागि पहल

रिजउड नेपाली सोसाइटीका अध्यक्ष राजेश भट्टले सामाजिक संलग्नताको महत्त्वबारे चर्चा गर्दै, आफ्ना बालबच्चाले समुदायमा सक्रिय भएपछि आएको सकारात्मक परिवर्तनबारे अनुभव साझा गरे।

“जब युवाहरू समुदायमा सक्रिय रूपमा सहभागी हुन्छन्, उनीहरूको आत्मविश्वास, नेतृत्व क्षमता, र आत्मनिर्भरता वृद्धि हुन्छ,” उनले भने। उनका अनुसार, सामाजिक गतिविधिहरूमा संलग्न हुँदा युवाहरूले आफ्नो पहिचान, संस्कार, र समुदायप्रतिको जिम्मेवारी बुझ्न सक्दछन्, जसले उनीहरूको समग्र विकासमा योगदान पुर्‍याउँछ।

साथै, उनले रिजउड नेपाली सोसाइटीद्वारा सञ्चालित आइतबार कक्षाको प्रशंसा गर्दै, यसले नेपाली भाषाको संरक्षण, सांस्कृतिक चेतना अभिवृद्धि, र नयाँ पुस्तालाई आफ्नो जरा जोगाइराख्न मद्दत गरिरहेको बताए।

उनले रिजउड नेपाली सोसाइटीले न्यूयोर्कमा आफ्नै मन्दिर तथा समुदाय भवन निर्माण गर्ने अभियानबारे जानकारी गराउँदै, यस्तो पूर्वाधारले नेपाली समुदायलाई अझ मजबुत बनाउनुका साथै नेपाली संस्कृति, धर्म, र परम्परालाई संरक्षण गर्न मद्दत गर्ने उल्लेख गरे।

“हाम्रो आफ्नै समुदाय केन्द्र र मन्दिर भएमा नयाँ पुस्ताले आफ्नो जरा नबिर्सने मात्र होइन, नेपाल र नेपाली पहिचानप्रति गर्व गर्ने अवसर पाउनेछन्। यसले धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधिहरूलाई निरन्तरता दिन थप सहज बनाउनेछ,” भट्टले भने। उनले यस अभियानलाई सफल बनाउन सम्पूर्ण नेपाली समुदायको ऐक्यबद्धता आवश्यक रहेको भन्दै सबैलाई योगदान दिन आग्रह गरे।

साथै, उनले प्रज्ञा पन्थीको सक्रिय सामाजिक संलग्नता, शैक्षिक उत्कृष्टता, र नेतृत्व क्षमताको खुलेर प्रशंसा गर्दै, उनलाई नयाँ पुस्ताका लागि प्रेरणादायी उदाहरणको रूपमा चित्रित गरे।

“आजका युवा पुस्ता प्रविधिमा झन् बढी निर्भर हुँदैछन्, घण्टौं सामाजिक सञ्जालमा समय बिताइरहेका छन्। तर, समाज र संस्कृतिमा सक्रिय सहभागिता जनाउनु अझ महत्त्वपूर्ण छ। प्रज्ञाजस्ता विद्यार्थीहरू हाम्रो समुदायका लागि प्रेरणादायी छन्, जसले शैक्षिक रूपमा उत्कृष्टता हासिल गर्दै सामाजिक कार्यमा पनि अग्रसर भूमिका खेलिरहेका छन्। यस्ता विद्यार्थीहरूकै सक्रियताले हाम्रो संस्कृति जोगिन्छ र समुदायको भविष्य उज्यालो बन्छ,” भट्टले बताए।

उनले नयाँ पुस्तालाई सामाजिक संलग्नतामा जोड्न, आफ्नो जरा नबिर्सन प्रेरित गर्न, र नेतृत्व क्षमताको विकासका लागि यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गरिनुपर्नेमा जोड दिए।

शैलेश मिश्र – शैक्षिक सफलता, सांस्कृतिक जरा, र अतिरिक्त क्रियाकलापको महत्त्व

वर्ल्ड बैंक स्कलर तथा कोलम्बिया विश्वविद्यालयका विद्यार्थी शैलेश मिश्रले शैक्षिक नतिजा मात्र नभई सांस्कृतिक जरा, अतिरिक्त क्रियाकलाप, र सामाजिक सेवाको महत्त्वलाई उजागर गरे।

“आजको प्रतिस्पर्धात्मक शैक्षिक वातावरणमा उत्कृष्ट जीपीए (GPA) आवश्यक भए पनि, विश्वविद्यालयहरू अब त्यस्ता विद्यार्थी खोजिरहेका छन् जो समाजप्रति सचेत छन्, नेतृत्व क्षमता राख्छन्, र सामाजिक तथा सांस्कृतिक गतिविधिमा सक्रिय छन्।”

उनले विद्यार्थीहरूलाई स्वयंसेवा, सांस्कृतिक कार्यक्रम, खेलकुद, र अन्य अतिरिक्त क्रियाकलापमा संलग्न भएर आफ्नो व्यक्तित्व विकास गर्न आग्रह गरे। उनले थपे, “मात्र किताबी ज्ञान होइन, समाज र संस्कृतिसँग जोडिएर जीवनलाई समृद्ध बनाउनु नै साँचो सफलता हो।”

पद्मा लिङखा मगर, सरल नेपाली भाषा तथा सांस्कृतिक केन्द्रकी संस्थापक एवं प्रधानाध्यापक – भाषा, संस्कृति र पुस्तागत सम्बन्धको महत्व

पद्मा लिङखा मगरले सांस्कृतिक शिक्षाको महत्त्वबारे जोड दिँदै, भाषा र संस्कृतिको संरक्षणले पुस्तागत सम्बन्धलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताइन्।

“भाषा र संस्कृति हाम्रो पहिचानको अभिन्न अंग हो। जब युवाहरूले आफ्नो मूल संस्कृति बुझ्छन्, उनीहरूमा गर्वको भावना विकास हुन्छ, जसले पुस्तागत सम्बन्धलाई अझ बलियो बनाउँछ,” उनले भनिन्।

साथै, उनले संस्कृतिको संरक्षण बिना समुदाय कमजोर हुने र नयाँ पुस्ताले आफ्नो जरा बिर्सने सम्भावना रहने बताउँदै, नेपाली भाषा र संस्कृतिको सिकाइलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन्।

“यदि हामीले हाम्रा छोराछोरीलाई आफ्नै भाषा र परम्परा सिकाउने अवसर दिएनौं भने, केही पुस्तापछि हाम्रो मौलिक पहिचान मेटिन सक्छ। भाषा केवल संचारको माध्यम मात्र होइन, यो हाम्रो संस्कृति, इतिहास, र अस्तित्वको जगेर्ना गर्ने शक्ति हो,” मगरले भनिन्।

उनले सरल नेपाली भाषा तथा सांस्कृतिक केन्द्रमार्फत नेपाली भाषा र संस्कृतिको शिक्षालाई प्रवर्द्धन गर्न निरन्तर लागिपरेको उल्लेख गर्दै, नेपाली समुदायले आफ्ना बालबालिकालाई मातृभाषा सिक्न प्रेरित गर्नुपर्ने आवश्यकता औंल्याइन्।

“हामीले हाम्रो भाषा र संस्कृतिको जगेर्ना गर्न सके मात्र हाम्रो पहिचान बच्नेछ। नयाँ पुस्ताले नेपाली भाषा बोल्न र संस्कृतिको महत्त्व बुझ्नुपर्छ, जसले उनीहरूलाई आफ्ना जरा सँग जोडिराख्न मद्दत गर्नेछ,” उनले थपिन्।

साथै, उनले सामाजिक संलग्नता र सिर्जनात्मक क्षमतामार्फत नेपाली संस्कृतिको प्रवर्द्धन र नयाँ पुस्ताको सशक्तीकरणका लागि अमित प्रताप शाह भाइले गर्दै आएको योगदानको खुलेर प्रशंसा गरिन्। “अमित प्रताप शाह भाइको अथक प्रयासले हाम्रो भाषा, संस्कृति र पहिचानलाई नयाँ पुस्तामा जोगाइराख्न ठूलो भूमिका खेलिरहेको छ। समाजको सेवाका लागि उहाँले गरिरहनु भएको काम साँच्चै प्रेरणादायी छ, जसले हाम्रो भविष्यको पुस्तालाई सशक्त बनाउन महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ,” उनले भनिन्।

जेम्स कर्माचार्य – खुला संवाद, पारिवारिक समर्थन, र शैक्षिक उत्कृष्टता

कोलम्बिया विश्वविद्यालयका विद्यार्थी जेम्स कर्माचार्यले पारिवारिक समर्थन, खुला संवाद, र सकारात्मक वातावरणको प्रभावबारे आफ्नै अनुभव साझा गरे।

“मैले शैक्षिक जीवनमा सफलता प्राप्त गर्न सकेको कारण मेरो परिवारसँगको खुला संवाद, उनीहरूको निरन्तर सहयोग, र घरभित्रको स्वस्थ वातावरण नै हो।”

उनले बताए कि उनको परिवारले सधैं सकारात्मक संवादलाई प्राथमिकता दिएकोले नै उनी सहज रूपमा कुनै पनि चुनौती सामना गर्न सक्षम भए। यही कारण उनी उत्कृष्ट विद्यालयमा पूर्ण छात्रवृत्तिसहित प्रवेश पाउन सफल भए र अहिले कोलम्बिया विश्वविद्यालयमा समेत छात्रवृत्ति प्राप्त गरी अध्ययन गरिरहेका छन्।

“जब बालबालिकालाई परिवारबाट नै प्रेरणा, समझदारी, र मानसिक समर्थन प्राप्त हुन्छ, उनीहरू जीवनका हरेक क्षेत्रमा आत्मविश्वासका साथ अघि बढ्न सक्छन्।”

समुदायका लागि निरन्तर काम गर्ने प्रतिबद्धता

कार्यक्रमको अन्त्यमा अपन फाउन्डेशनका संस्थापक अमित प्रताप शाहले सम्पूर्ण सहभागी, वक्ता, आयोजक टोली, तथा साइमन किचेनलाई कार्यक्रमको आतिथ्य एवं सहयोगका लागि धन्यवाद ज्ञापन गरे। उनले नवनियुक्त अध्यक्ष परशु राम पन्थीलाई परिचय गराउँदै समुदायका लागि यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गरिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमको अन्त्यमा अपन फाउन्डेसनका नवनियुक्त अध्यक्ष परशु राम पन्थीले कार्यक्रमको सफलताप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

साथै, उनले सकारात्मक परिवर्तनका लागि सही समयमा राम्रो बीउ रोप्नु आवश्यक रहेको बताउँदै, राम्रो संस्कार र शिक्षा दिने हो भने भविष्यमा हाम्रो सन्ततिले त्यसको राम्रो प्रतिफल पाउने विश्वास व्यक्त गरे।

“जब हामी राम्रो बीउ रोप्छौं र सही तरिकाले त्यसको हेरचाह गर्छौं, तब वर्षौंदेखि निरन्तर मीठो फल पाइन्छ। त्यही सोचाइ हाम्रो बालबालिकाका लागि पनि लागू हुन्छ। यदि हामीले उनीहरूलाई राम्रो मार्गदर्शन, शिक्षाको अवसर, र संस्कृतिप्रति सम्मान गर्ने आधार दिन सक्यौं भने, उनीहरू भविष्यमा समाजका सक्षम, जिम्मेवार र सफल व्यक्तित्व बन्नेछन्,” पन्थीले जोड दिए।

“यो कार्यक्रम एउटा सुरुवात मात्र हो। हामी आगामी दिनमा अझ प्रभावशाली कार्यक्रमहरू ल्याउने छौं, जसले विद्यार्थी, अभिभावक र समुदायबीच सम्बन्ध बलियो बनाउनेछ,” उनले भने।

“न्युयोर्क सिटी विद्यार्थी र अभिभावकहरू: ब्रेकिंग ब्रेड एन्ड बिल्डिङ बन्ड्स” कार्यक्रम केवल एक साधारण कार्यक्रम मात्र थिएन; यो समुदाय, संस्कृति र आपसी सम्बन्धलाई सशक्त पार्ने उत्सव थियो। कार्यक्रम सामुदायिक एकता, पुस्तागत समन्वय, र सामाजिक संलग्नताको उत्कृष्ट उदाहरण बन्न सफल भयो। सहभागीहरूले संवाद, समझदारी, र सहभागितामार्फत परिवार र समुदायलाई सशक्त बनाउन सकिने सन्देश लिएर घर फर्किए।

यस ऐतिहासिक कार्यक्रमको सफलताले भविष्यमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिन प्रेरणा दिएको आयोजकहरूले बताएका छन्।

प्रतिक्रिया