अध्यावधिक गरिएको : अमेरिकाको फ्लोरिडा राज्यमा आएको खतरनाक आँधी मिल्टनको साथै घुम्रपात ( टोर्नाडो )को कारण ४ जनाको मृत्यु भएको छ । सिबिएसन्यूजले जनाए अनुसार सेन्ट लुसी काउन्टीमा घुम्रपात ( टोर्नाडो)को कारण ४ जनाको मृत्यु भएको हो ।
फ्लोरिडाको पूर्वी तटमा रहेको सेन्ट लुसी काउन्टीमा घुम्रपातका कारण चार जनाको मृत्यु भएको काउन्टी अधिकारीहरूले बताएका छन्।
साथै धेरै घरहरूलाई ठूलो क्षति पुर्याएको अधिकारीहरूले जनाएका छन् । ट्याम्पामा ९७ माइल प्रतिघण्टा र सारासोटा ब्राडेन्टन अन्तर्राष्ट्रिय विमानस्थलमा १०२ माइल प्रतिघण्टाको गतिमा हावा चलेको छ । मिल्टनको शक्तिशाली हावाले फ्लोरिडाको सेन्ट पिटर्सबर्ग स्थित रंगशालाको छानाको केही भाग उडाएको र क्षति पुर्याएको छ ।
मिल्टनको केन्द्र बिन्दु फ्लोरिडाको एट्लान्टिक तटबाट लगभग ५० माइल टाढा रहेता पनि वर्षा, हावा र आँधीबेरी जारी रहेको छ । भारी वर्षा र समुन्द्री आँधी हाल डेटोना समुन्द्रीतट (बीच)को दक्षिणबाट पोर्ट सेन्ट लुसी क्षेत्रसम्म फैली रहेको छ । सिबिएसन्यूजका अनुसार ६० देखि ७० माइल प्रतिघण्टाको हावाले अझै पनि स्पेस कोस्ट र नजिकैको किनारका केही भागहरूलाई प्रभावित बनाई रहेको छ ।
मिल्टनको धेरैजसो वर्षा आज बिहान अन्त्य हुनेछ। हिल्सबरो काउन्टीले बिहीबार बिहान उद्धार कार्य सञ्चालन गर्दा तीन उभयचर सवारी साधन(जलथल दुवैमा चल्न सक्ने )हरू तैनाथ गरेको छ।
प्रतिक्रिया