मेरिल्याण्डमा सुदूरपश्चिमेलीहरुले हर्सोउल्लास साथ मनाए गौरा पर्व

इनेप्लिज २०८१ भदौ १० गते ०:४८ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रको मेरिल्याण्डमा बसोबास गर्ने सुदूरपश्चिमेलीहरुले आज अगस्त २५ आइतबारका दिन गौरा पर्व हर्सोउल्लास साथ मनाएका छन् । अमेरिकाको मेरिल्याण्ड राज्यमा सन् २०१९ मा स्थापित सुदुरपश्चिम नेपाली समाजले आफ्नो मौलिक गौरा पर्व बिशेष रुपमा मनाएको छ ।

गौरा पर्वमा देउडा गीतका माध्यमबाट एक अर्काका दुःख सुख बाड्नुका साथै माया प्रेम बाडेर यो पर्व मनाउने गरिन्छ । गौरा पर्व सुदूरपश्चिमको प्रमुख साँस्कृतिक पर्ब हो । अमेरिकामा रहेका सुदूरपश्चिमेलीहरुले एकता, भाईचाराका साथै सँस्कृतिलाई पुस्तान्तरण गर्नका लागि महत्वका साथ मनाउँदै आएकोले यसलाई यस बर्ष पनि निरन्तरता दिईएको छ ।

मेरिल्याण्डमा गौरा देबीको प्रतिमा बनाएर हर्षोल्लासमा साथ मनाईएको छ । गौरी पूजा,परम्परागत बाजा, दूबधागो अभिषेक ,कलस यात्रा ,गौर नृत्य ,बिरुडा ,देउडा ,सांस्कृतिक प्रदर्शन लगायत अन्य कार्यक्रमहरु भव्यताको साथ सम्पन्न भएको छ ।

नेपालको भाषा अनि संस्कारको जरो खोज्दै जाने हो भने सुदूरपश्चिमी भू–भाग अनि यसको मौलिक पृष्ठभूमिको ठूलो महत्व छ । विशेष गरी डोटी र कुमाउँमा परापूर्व कालदेखी नै मनाईदै आएको पर्व हो, गौरापर्व ।

विशेष नेपाली मौलिकता बोकेका यस्ता गीतका माध्यमबाट एकअर्काका दुःख–सुखः बाँड्नुका साथै माया प्रेम बाँड्ने गरिन्छ । यो पर्व सुदूरपश्चिम क्षेत्रकै एक ठूलो पर्वको रूपमा मनाईन्छ ।

गौरा पर्वको पहिलो दिन गौरापर्व मनाउने समुदायका महिलाहरूले निराहार रही आ-आफ्नो घरमा तामा वा पित्तलको भाँडो बिरुडामा पाँचथरीका गेडागुडी भिजाउने गर्छन् । गौरापर्वमा व्रतालु तथा तथा श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ।

आज सम्पन्न भएको कार्यक्रममा सबै भन्दा पहिले गौरा आगमनको साथै कलश यात्रा गरिएको थियो । उक्त गौरालाई कार्यक्रमस्थलमा पन्च कन्या सहित कलस बोक्दै भित्र्याईएको थियो ।

यसै गरि गौरा स्थापना गरे पछि गौरा पूजा गर्नुको साथै गौरा नाच समेतको आयोजना गरिएको थियो । छोटो औपचारिक कार्यक्रम समेत रहेकोले अध्यक्ष बिक्रम शाहीले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रमका संयोजक तीर्थ पाण्डेले गौरा पर्वको बारेमा प्रकाश परेका थिए भने संक्षेपमा सुदुरपश्चिम नेपाली समाजलका संस्थापक तथा पूर्व अध्यक्ष दमन बिक्रम शाहले पनि गौरा पर्वको बारेमा जानकारी गराएका थिए ।

त्यहा उपस्थित भएका अतिथीहरुमा मेरिल्याण्ड राज्यका बिधान सभा सदस्य डा ह्यारी भण्डारी (विद्या वारिधि )बानाका अध्यक्ष सुबोध विलास पन्त , एनआरएनए मेरिल्याण्डका अध्यक्ष कुल गुरुङ, बाल्टिमोर काउन्टीकी अध्यागमन मामलाकि प्रतिनिधि जुलियाना भ्याकेनिया ,बाल्टिमोर काउन्टीका काउन्सिल सदस्य डेविड मार्क्स लगायतले शुभ कामना मन्तब्य राखेका थिए ।

औपचारिक कार्यक्रम पश्च्यात औपचारिक तथा अनौपचारिक देउडा खेलको आयोजना गरिएको थियो । आमन्त्रित र सहभागी भएका सबैलाई शाकाहारी खानाको प्रवन्ध गरिएको थियो ।

प्रतिक्रिया