बेपत्ता भएकी ममता काफ्ले १५ औ दिन सम्म पनि फेला परिनन् ,प्रहरी चौकीद्वारा बिज्ञप्ती जारी ,समूह राजदुताबासमा

इनेप्लिज २०८१ साउन ३२ गते ०:१२ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको मनासस शहरबाट गत अगस्त १ देखि हराई रहेकी नेपाली मूलकी नर्स (स्वास्थ्य परिचारिका ) ममता काफ्ले भट्ट आज अगस्त १५ बिहिबारका दिन अर्थात् १५ औ दिन सम्म पनि फेला परेकी छैनन् ।

आजै मनासस पार्क प्रहरी विभागले एक बिज्ञप्ति जारी गरेको छ । उक्त बिज्ञप्ति प्रति अधिकांशले असन्तुष्टी व्यक्त गरेका छन् । उक्त बिज्ञप्तिमा अगस्त २ देखिका कुरा ,प्रहरी विभागले ममता काफ्ले भट्टका पति नरेश भट्टसंग भेट भएको र उनले भनेको कुराहरु बिज्ञप्तिमा जनाईएको छ ।

प्रहरीले बिज्ञप्ति जारी गरे पछि समुदायले प्रहरी बिभागलाई प्रश्न गरेका छन् । साथै प्रहरीले अगस्त २ मा ममता काफ्लेको घरमा उनको कल्याणको जाँच गरेको लागि उनका श्रीमान् श्री भट्टसँग कुरा गरेको जनाएको छ । पति नरेशले त्यतिबेला थप जानकारी उपलब्ध गराए र उनी हराएको रूपमा सूचना गर्न चाहँदैनथे, बिज्ञप्तिमा भनिएको छ । तर अगस्त ५ मा भट्टले प्रहरीलाई सम्पर्क गरी ममता काफ्ले हराएको जानकारी दिएको उल्लेख गरेको छ ।

साथै प्रहरीले राज्यव्यापी रुपमा हराएको व्यक्तिको सूची सञ्चालन गरेको र जासूसहरूले ममता काफ्ले भट्ट बेपत्ता भएको बारेमा अनुसन्धान जारी राखेको बताएको छ । भर्जिनिया राज्य प्रहरीले ममताको पत्ता लगाउन मद्दत गर्न सबै भर्जिनिया र अन्य अमेरिकी प्रहरी सँस्था (एजेन्सी)हरूलाई सूची वितरण गरेको बिज्ञप्तिमा जनाईएको छ ।

अगस्त ५-८ को बीचमा जासूसहरूले विस्तृत अनुसन्धान गरेको बताएको छ । आज जारी गरिएको बिज्ञप्तिमा जुलाई २७ मा ममता काफ्ले अन्तिम पटक युभिए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा देखिएकी थिइन् , जुलाई २८ मा ममता काफ्लेले साथीसँग कुरा गरेको र जुलाई ३१ का दिन काफ्लेलाई उनका श्रीमानले अन्तिम पटक देखेका थिए भनि उल्लेख गरेको छ ।

आज अगस्त १५ बिहिबारका दिन पनि दिउसो मनासस पार्क प्रहरी बिभाग अगाडी सबै समुदायका व्यक्तिहरु ,संचार माध्यम ,ममताका साथीहरु ,स्वास्थ्यकर्मी ,शुभ चिन्तक ,बिभिन्न संघ/संस्थाका प्रतिनिधि,स्थानीय नेतृत्ववर्ग ,समाज सेवी ,लगायतको बिशेष उपस्थिति रहेको थियो ।

आज पनि ब्यापक रुपमा मनासस पार्क प्रहरी चौकी अगाडी भेला भै ममताको खोजीको लागि प्रहरीलाई छिट्टै खोज्न र पत्ता लगाउन दवाब दिने उद्धेश्यले शान्तिपूर्ण धर्ना दिएका छन्। १५ औ दिन सम्म यत्र तत्र सर्वत्र उनको खोजी भै रहेको छ भने अरु समुदायहरु पनि उनको खोजीमा सहभागिता जनाउन थालेका छन् । व्यापक (भाइराल)रुपमा सबै समुदायहरु लागेका छन् । बिदेशी संचार माध्यमहरुले उनको खोजीमा सहयोग गर्नुको साथै प्रचार प्रसारमा व्यापक रुपमा सहयोग गरि रहेका छन् ।

ममतालाई सुरक्षित र सकुशल रुपमा घर फर्कन आह्वान गर्दै सहभागीहरुले ममताको बारेमा बिभिन्न प्रचार सामग्री (ब्यानर)बोक्दै प्रदर्शन गरेका छन् ।

यो कार्य निरन्तर हुने जनाईएको छ । साथै ममता बेपत्ता भएको बिषयमा नेपाली दूतावाससँग एक टोलीले भेट गरेको छ । ममता बेपत्ता प्रकरणमा नेपाली दूतावासले टोलीलाई हरसम्भव प्रयास गर्ने आश्वासन दिएको छ।

टोलीले दूताबासका कार्यबाहक राजदूत कुमार राज खरेलसँग भेट गरेको छ । दुताबासको तर्फबाट आर्थिक सल्लाहकार युगराज पाण्डे तथा द्वितीय सचिव उत्तम घिमिरे रहेका थिए ।

साथै प्रतिनिधिमण्डल टोलीमा स्वास्थ्य परिचारिका तथा lets Speak Up For Mamta Kafle Bhatta भन्ने सामाजिक संजाल समूहकी संयोजक मध्य कै एक विना खड्कालामा, न्यूजर्सीबाट आएकी डा विष्णुमाया परियार, अधिवक्ता बन्दिता शर्मा दाहाल, एनआरएनए भर्जिनियाका अध्यक्ष बिशाल कार्की, स्तुति लम्साल, चन्द्र लामा साथै डब्लुयुएसए९ संचार माध्यमहरु नेपाली दुताबास पुगेका थिए ।

ममता काफ्ले गत अगस्त १ देखि हराई रहेकी छिन्। लेट्स स्पिक अप फर ममता काफ्ले भट्ट(lets Speak Up For Mamta Kafle Bhatta )भन्ने सामाजिक संजाल समूह निर्माण गरिएको छ । ममता बेपत्ता भए देखि यसै समूह मार्फत सबैले आ- आफ्ना कुराहरु राखी रहेका छन् ।

प्रतिक्रिया