रौतहट
रौतहटको मौलापुर नगरपालिकाको विकास बजेटको करिब आधा रकम जनताको खातामा जाने गरेको पूर्वमन्त्री प्रभु साहले बताएका छन् । रौतहटको मौलापुर नगरपालिकाको बजेटसभाको उद्घाटन गर्दै आम जनता पार्टीका केन्द्रीय अध्यक्षसमेत रहेका संघीय साँसद साहले घरायसी तथा विद्युतको बिल र खानेपानीको बिल नगरपालिकाले तिरिरहेकोले विकास बजेटको करिब आधा रकम यसैमा खर्च भइरहेको बताएका छन् ।
नगरपालिकाको अधिकांश निर्माणको काम टेन्डर प्रक्रियाद्वारा ठेक्कामा हुने भएकोले जनप्रतिनिधिको माध्यमबाट खर्च हुने बजेट अत्यन्तै कम रहेकाले मौलापुर नगरपालिकाका जनप्रतिनिधिहरुले पनि ठुलो त्याग गरेको बताउँदै प्रशंसा गरेका छन् । नगरपालिकाले छोटो समयमा अभुतपूर्व प्रगति गरेको साहको भनाइ छ । नेता साहले गएको सात वर्षमा मौलापुर नगरपालिकाले गरेको प्रगति अन्य पालिकाको तुलनामा निकै बढी रहेको बताएका छन् ।
नगरबासीसित कुनै पनि किसिमको कर नलिने गरेको मौलापुर नगरपालिकाले सबै नागरिकलाई बिजुली, पानी तथा अन्य सुविधा निशुल्क दिने गरेको छ । भौतिक विकासको क्षेत्रमा गत सात वर्षमा अभूतपूर्व प्रगति गरेकोमा पूर्वमन्त्री साहले नगरप्रमुख रिनाकुमारी साहको प्रशंसा पनि गरेका छन् ।
नगरसभाका सम्पूर्ण सदस्यहरु एकजुट भएर विकासको काममा निरन्तर जुटिरहेको बताउँदै नगरपालिकाको विकासको चर्चा देशभरमा भइरहेको बताएका छन् । जनताको हातमा नगरको पैसा शिक्षा, बिजुली, स्वास्थ्य तथा पानीमार्फत सोझै हातमा गइरहेको बताउँदै जिल्लाको सबैभन्दा कम बजेटमा पालिकाले गरेको प्रगति अत्यन्त खुसी लाग्ने किसिमको भएको बताएका छन् ।
मौलापुरको विकास मोडेलबाट देशका अन्य जागरुक पालिकाहरुले सिकिरहेको स्पष्ट पारेका छन् । मौलापुर नगरपालिकाले अनेक चुनौतीको सामना गर्दै गरिरहेको प्रगति गौरवपूर्ण रहेको बताएका छन् । सरकारको अर्थनीति विभेदपूर्ण रहेको पनि साहको आरोप रहेको छ । केन्द्र सरकारले शिक्षक दरबन्दी, बैकको लगानी तथा अन्य क्षेत्रमा पनि विभेद गरिरहेको आरोप पनि साहले लगाएका छन् ।
केही विकास विरोधीहरुले ट्रान्सफर्मर चोरी गरेको, विद्यालयको सामग्री तोडफोड गर्ने गरेको, जनप्रतिनिधिबिच फुट ल्याउन खोजेको तथा विकासको काममा अवरोध गर्न खोजेको बताएका छन् । मधेश प्रदेशमा लगातार दुई कार्यकाल नगरप्रमुखमा निर्वाचित भएकी नगरप्रमुख रिनाकुमारी साहले नगरपालिकाको नागरिकलाई अनेक सुविधा दिदै आएकी छन् । साहको अध्यक्षतामा भएको नगरसभामा उपप्रमुख नागेन्द्र राय यादवले ३९ करोडको आय व्यय प्रस्तुत गरेका छन् ।
मौलापुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि तथा भौतिक पूर्वाधारमा जोड दिएको छ । विद्यालय भवनहरुको निर्माण तथा शिक्षक दरबन्दीसमेतमा नगरपालिकाले ठुलो बजेट खर्च गर्दै आएको छ । सम्पूर्ण बजेटको करिब ४२ प्रतिशत शिक्षामा लगानी गर्दै आएको मौलापुर नगरपालिकाले हरेक वर्ष पुरातात्विक महादेव मन्दिरको प्रचारप्रसारमा पनि ठुलो खर्च गर्ने गरेको छ । हरेक वर्ष पुरातात्विक महादेव मन्दिरमा लाखौँ दर्शनार्थी आउने गरेका छन् ।नगरपालिकाले आगामी आर्थिक वर्षको लागि सन्तुलित बजेट ल्याएको भन्दै विभिन्न वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले प्रशंसा गरेका छन् ।
कार्यक्रमको संचालन गर्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जनहितमा निरन्तर सक्रिय रहेको मौलापुर नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट अझ लोकप्रिय र जनमुखी भएको बताएका छन् ।
प्रतिक्रिया