न्यूयोर्कको रोसभेल्ट टापुमा नेपालको ‘कफी ८८४८’

इनेप्लिज २०८१ वैशाख २० गते ०:५८ मा प्रकाशित

विश्व अर्थतन्त्रको राजधानी मानिने संयुक्त राज्य अमेरिकाको न्यूर्योक शहरको इस्ट नदी किनारमा रहेको रोसभेल्ट टापुमा हरेक शनिबार हाटबजार लाग्छ र यही हाटबजारमा नेपालमा उत्पादन भएको कफी पनि विक्रीका लागी राखिन्छ ।

कूटनीतिक नियोगका पदाधिकारीहरुको आवासीय क्षेत्र रहेको रोसभेल्ट टापु न्यूयोर्कबाट निकट रहेका राज्यका किसानहरुका लागि छोटो समयमै आफ्ना उत्पादन बिक्री गर्ने सुनौलो बजार हो । यहाँ विशेष गरी पेन्सलभेनियाका किसानहरुको तरकारी, फलफूल लगायतका उत्पादन विक्रीका लागि राखिन्छ भने न्यूयोर्कबासीहरुले आफ्नै हातले उत्पादन गरेका खाद्य तथा पेय पदार्थ विक्री गरिन्छ ।

अमेरिकी किसान र उत्पादकका उत्पादनहरुको बाहुल्य रहेको हाटबजारमा नेपालमा उत्पादिन कफीले पनि स्थान पाइरहेको छ ‘कफी ८८४८’ को ब्राण्डमा । विश्वको सर्वोच्च शिखर सगरमाथाको मापनलाई नाम दिइएको यो कफी संखुवासभा, ललितपुर तथा रसुवा जिल्लामा उत्पादन हुने कफी कुनै औजार र रसायनबिना प्रयोग गरिने हुँदा यसका पारखीहरु बढ्दै गएका छन् ।

नेपालमा उत्पादित कफीका पारखीहरु बढ्दै गए पनि यसको बजार प्रबद्र्धन त्यति गर्न नसकिएको स्पटै देखिन्छ । नेपाल र नेपालीको चिन्ता जनाउने प्रवाशीहरुले यस्तो कामलाई थोरै मात्र प्राथमिकता दिने हो भने अमेरिकामा नेपालका अन्य उत्पादनको पनि बजार बढ्नेछ ।

अमेरिकामा सक्रिय नेपाली समुदायले नेपालमा उत्पादित बस्तुको बजार प्रबर्धनमा संस्थागत रुपमा पहल गर्ने हो भने त्यो साँच्चै देशभक्तिपूर्ण काम हुनेछ, जसले नेपालको ग्रामीण क्षेत्रको अर्थतन्त्रमा ठूलो टेवा दिनेछ ।

अमेरिकामा झण्डै तीन लाखको हाराहारीमा नेपाली रहेका र न्यूयोर्कमा मात्रै ३० हजार जति नेपाली रहेको अनुमान छ । त्यस्तै दुई दर्जन बढी नेपाली संघसंस्थाहरु पनि स्थापित छन् । यी सबैले नेपाली उत्पादनलाई प्रबर्धन गरे साँच्चै देशको माया देखिनेछ ।

न्यूयोर्कबाट यादब देवकोटा

प्रतिक्रिया