वन तथा वातावरण साहित्यिक समूहको तेश्रो वार्षिकोत्सव र विश्व वातावरण दिवस २०८२ को अवसरमा नदी संरक्षण अभियन्ता अपिल घिमिरेसँगको अन्तरक्रिया २०८२ साल जेठ २४ गते शनिवार सफलतापूर्वक सम्पन्न भयो ।
कार्यक्रमको आरम्भमा संरक्षण अभियानमा आउनुको प्रेरणा वि स २०७२ माघ २३ को एउटा मर्मस्पर्सी घटना बारे घिमिरेले बताए । “त्यो दिन हामी राप्ती तटमा हिडिरहेका थियौ । सितामाई धार्मिक स्थलको नजिक भालुखोल्साबाट माउ र बच्चा गैडा उक्ल्यो। त्यो पिकनिक स्थल पनि हो। बच्चा गैडाले खुट्टा खोच्याउदै गरेजस्तो लागेपछि पछि पछि लाग्यौ । गैंडा कटेर गयो तर नजिक पुगि हेर्दा जमीनमा रगतको टाटा टाटा देखियो र देखियो यत्रतत्र पेयपदार्थका फुटेका सिसाहरु । बच्चा गैंडालाई पक्कै सिसाले काट्यो भन्ने सोचे । हामी मानिसले अवोध प्राणीलाई दूर्दशामा धकेलेको देखेर दु:ख लाग्यो । त्यहि दिन गाउँमा गई, गाउँलेहरुलाई घटनाबारे सुनाई, त्यस क्षेत्रमा फोहोर मैला संकलन गर्न फर्क्यौं । केहि घण्टामा आठ बोरा सिसा र प्लाष्टिक जस्ता फोहोर संकलन गर्यौं । त्यसै दिनको घटनाले सरसफाई अभियानमा लाग्ने विचार पलायो ।“
आयोजक सँस्थाको तर्फबाट कमला रुपाखेतीले अपिल घिमिरेको संक्षिप्त परिचय दिई सम्पूर्ण सहभागीहरुलाई स्वागत गरेपछि कुराकानी आगाडि बढेको थियो। गंगानगर, चितवन, राप्ती तटमा जन्मिएका घिमिरेले त्यसै घटनाको सालदेखि राप्ती नदि सरसफाई अभियानको नेतृत्व गरिरहेका छन् । घिमिरे कहिले बोरा, कहिले डोको बोकेर अन्य अभियन्ताकर्मीहरुसँग खोला, वन, सडक, बाटा, गल्लीमा फोहोर मैला संकलन रहेको भेटिन्छन। घिमिरेले अहिले धेरै समुदायहरुलाई आफ्नो अभियानमा समाहित गरेका छन् ।
“प्रारम्भिक दिनहरुमा हामीले फोहोर मैला संकलन गर्दा धेरैको नमिठो भनाई सुन्नुपर्यो, भोग्नुपर्यो तर अहिले त्यस्तो अनुभव गर्नुपरेको छैन । अहिले अभियानमा धेरै समुदायहरु सक्रिय भएर आएको देख्दा खुशी लाग्छ।“
“प्रत्येक बिहान १०८ रुद्राक्ष माला जप्दा १०८ वटा प्राणीको तस्वीर आनन्दले बासस्थानमा विचरण गरिरहेको, पर्याप्त आहार उपलब्ध भएको, नदि स्वच्छ र सफा बगिरहेका, चरा प्रफुल्ल भइ गीत गाइरहेको आदि दृश्य मस्तिष्कमा ल्याउछु । यहि विधीमार्फत स्वयमलाई अगि बढ्न म प्रेरणा पाउने गर्छु ।“ घिमिरेले वताए
कुराकानीलाई समूहका रोशन शेरचनले सहजीकरण गरेका थिए । राप्ती नदि बग्ने विभिन्न नगरपालिकाका पदाधिकारीहरुसँग राप्ती नदिलाई कसरी प्रदूषणरहित बनाउने भन्ने बारे छलफल चलाएको पनि घिमिरे बताउछन् । कुराकानीको अन्तमा सहभागीहरुले प्रश्न तथा जिज्ञाषाहरु घिमिरेसामु राखेका थिए । प्रश्नोत्तर कार्यक्रमलाई समूहको हिमलाल श्रेष्ठ र ऋषि बस्तोकोटीले सहजीकरण गरेका थिए ।
कवि भूपीनले कपिल घिमिरे वातावरण संरक्षण र सरसफाई अभियानमा मनै देखि लाग्ने अभियानकर्मी रहेको आफूले पाएको बताए । नदि र तालतलैया र पछिल्लो समय चौताराको संरक्षण अभियानमा लागेको घिमिरे राप्तीको असल सन्तान भएको बताए । एक विद्वानको भनाई “प्रार्थना गर्ने ओठ भन्दा सेवा गर्ने हात मूल्यावान हुन्छ” उधृत गर्दै आफ्ना अनुभव र अनुभूतिहरु समेटिएको पुस्तक निकाल्न समेत सुझाव दिए ।
कार्यक्रमको अन्तमा समूहका भरतमान श्रेष्ठले समूहले पछिल्लो दुई वर्षमा संचालन गरेका गतिविधिहरुबारे जानकारी गराउदै अतिथी अपिल घिमिरे र सम्पूर्ण सहभागीहरुलाई धन्यवाद दिए । प्लास्टिक वातावरण प्रदुषणको डरलाग्दो कारक भएको र यस्ता संरक्षण अभियन्ताहरुले सामाजिक चेतनामा परिवर्तन ल्याउने हुनाले सदैव साथ सहयोगको अपेक्षा राखेको पनि बताए ।
प्रतिक्रिया