भारतीय सरकारका अधिकारीहरूका अनुसार भारतको गुजरात राज्यका पूर्व मुख्यमन्त्री विजय रुपाणीको बिहीबार भएको एयर इन्डियाको विमान दुर्घटनामा निधन भएको विश्वास गरिएको छ। उनको घर अहमदाबाद हो ।
“मुख्यमन्त्री विजय रुपाणी पनि त्यही विमानमा हुनुहुन्थ्यो भन्ने थाहा पाउँदा धेरै दुःख लागेको छ,” भारतका केन्द्रीय नागरिक उड्डयन मन्त्री राम मोहन नाइडु किन्जारापुले अहमदाबादस्थित दुर्घटनास्थलबाट पत्रकारहरूलाई बताए।
प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा) का सदस्य रुपाणीले २०१६ देखि २०२१ सम्म गुजरातको मुख्यमन्त्रीको रूपमा सेवा गरेका थिए। रोयटर्सले पनि पूर्व मुख्यमन्त्रीको निधन भएको खबर दिएको छ।
एक विशेषज्ञका अनुसार बिहीबार भारतमा उडान भरेको केही बेरमै दुर्घटनाग्रस्त भएको व्यावसायिक विमानको मामिलामा के गडबडी भयो पत्ता लगाउन विश्वभरका अनुसन्धानकर्ताहरू संलग्न हुनेछन्।
बोइङ ७८७-८ ड्रिमलाइनर विमान अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डन ग्याटविक बिमानस्थलको लागि उडान भरेको बेला २४२ जना यात्रुहरू बोकेको थियो।
केन्द्रीय नागरिक उड्डयन मन्त्री राम मोहन नाइडु किन्जारापुका अनुसार भारतको विमान दुर्घटना अनुसन्धान ब्यूरोले अहमदाबादमा एयर इन्डियाको घातक दुर्घटनाको औपचारिक अनुसन्धान सुरु गरेको छ।
भारतका गृहमन्त्री अमित शाहले आज पत्रकारहरूलाई एयर इन्डिया १७१ मा सवार मध्ये एक यात्रु “भाग्यवश बाँचे । गृहमन्त्री शाहले उनलाई भेटेको बताए ।
उनले ती यात्रुको अवस्थाबारे विस्तृत जानकारी भने दिएनन्। “सम्पूर्ण देश स्तब्ध छ, र ज्यान गुमाउनेहरूका परिवारको साथमा छ,” शाहले भने। “प्रधानमन्त्री, केन्द्रीय सरकार र गुजरात सरकारको तर्फबाट, म यस घटनामा ज्यान गुमाउनेहरूलाई श्रद्धाञ्जलि अर्पण गर्दछु।”
प्रतिक्रिया