जनैपूर्णिमाको अवसरमा कुण्डमा भक्तजनको भीड

इनेप्लिज २०७२ भदौ १२ गते ३:४६ मा प्रकाशित

indexभक्तपुर, १२ भदौ । जनैपूर्णिमाको अवसरमा आज भक्तपुरको नगरकोटस्थित महादेवकुण्ड र भक्तपुर औद्योगिक क्षेत्रस्थित धल्चा पुखुमा मेला लागेको छ ।

ती कुण्डमा स्नान गर्न हजारौँ भक्तजनको आज बिहानैदेखि भीड लागेको छ । नगरकोटको महादेव कुण्डलाई गोसाइँकुण्डको प्रतीक मानिन्छ । यस कुण्डमा विशेष गरी नगरको आसपासका तामाङको विशेष मेला लाग्ने गर्दछ । कुण्डमा काभ्रे र सिन्धुपाल्चोकसम्मका तामाङ गुरु आफ्नो मौलिक पोसाकमा डम्फु बजाउँदै मेला भर्न आउने गर्दछ ।

समूह समूहमा आउने त्यस्ता लामा गुरुको नाचले मेलालाई आकर्षण बनाउने गर्दछ । आजको दिन कुण्डमा स्नान गरी महादेवको दर्शन गरे गुरुको मन्त्र सिद्धी हुने विश्वास पनि रहेको छ ।

पौराणिक कथनअनुसार महादेवले कालकुट विष सेवन गरेपछि छटपटिएर गोसाइँकुण्डतर्फ जाने क्रममा नगरकोटमा बास बसेको विश्वासमा आजको दिन सो कुण्डमा मेला लाग्ने गरिएको हो । गोसाइँकुण्ड जान नसक्नेले सो कुण्डमा स्नान गरे पनि गोसाइँकुण्डमा स्नान गरेसरह पुण्य प्राप्त हुने जनविश्वास रहेको पाइन्छ ।

त्यसैगरी भक्तपुर औद्योगिक क्षेत्रस्थित धल्चा पुखुलाई पनि गोसाइँकुण्डको प्रतीक मानेर स्नान गर्ने प्रचलन रहेको छ । सो कुण्डमा स्नान गरी भक्तपुर दरबारस्क्वायरस्थित शिलु महादेव (फसी देगः) को दर्शन गरे गोसाइँकुण्ड गएसरह पुण्य प्राप्त हुने जनविश्वास छ ।

प्रतिक्रिया