आज ह्यारोमा मह जोडी र प्रकाश सपूतको भव्य प्रस्तुति हुँदै

इनेप्लिज २०८० पुष ७ गते ११:४२ मा प्रकाशित

लन्डन – ‘मह जोडी टुर २०२३’ को सिलसिलामा बेलायत आइपुगेका वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य तथा चर्चित कलाकार प्रकाश सपूतबाट आज (शनिबार) अपरान्ह ह्यारो लिजर सेन्टर, ह्यारोमा भव्य प्रस्तुति हुने आयोजकले जनाएका छन् ।

द गोर्खा सेन्टरद्वारा शुक्रबार बेलुका आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै वरिष्ठ कलाकारद्वयले बेलायतस्थित नेपाली समुदायसंग साक्षात्कार गर्न आफूहरु आतुर रहेको बताए। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले भने, ‘बेलायतको नेपाली समुदायप्रति हाम्रो उच्च सम्मान छ । हाम्रो कार्यक्रमहरुमा आउनुस् है ।’

त्यस्तै वरिष्ठ कलाकार हरिवंश आचार्यले भने- बेलायतका नेपालीमाझ झन्डै एक दशकपछि फेरि आएका छौं । कृपया आफूलाई पायक पर्ने भेन्युमा आउनुस् । हामीसँग स्पेसल प्याकेज छ ।’

कार्यक्रम आयोजक द गोर्खा सेन्टरका संस्थापक तथा सिइओ भिम तामाङले तयारी करिब करिब पुरा भएको बताए । “हामीले दर्शक तथा नेपाली संघसंस्थाहरुबाट उत्साहजनक प्रतिक्रिया पाइरहेका छौं।’

नेपाली कला क्षेत्रका लिजेन्ड मह जोडीको सम्मान स्वरुप पनि कमसेकम १,५०० दर्शक शनिबार ह्यारो लिजर सेन्टरमा कार्यक्रम हेर्न आउने आफूहरुले अपेक्षा गरेको उनले बताए।

मह जोडी टुर अन्तर्गत पहिलो कार्यक्रम आज शनिबार (२३ डिसेम्बर) अपरान्ह ४ बजेदेखि हयारोस्थित ह्यारो लिजर सेन्टर र दोश्रो कार्यक्रम आइतबार, २४ डिसेम्बर अपरान्ह ४ बजेदेखि अल्डरसटस्थित एम्पायर हलमा हुँदैछ ।

ह्यारोमा चर्चित गायक प्रकाश सपुत, यमन श्रेष्ठ, शर्मिला बर्देवा लगायत कलाकारहरुको समेत प्रस्तुति रहने आयोजकले जनाएका छन् ।

अल्डरसटमा स्थानीय कलाकार र गत सिजनका ‘भ्वाइस अफ नेपाल विजेता करण राईले पनि प्रस्तुति दिनेछन् ।

कसरी किन्ने टिकट?

आयोजकका अनुसार यो लिंकमा गएर टिकट किन्न सकिन्छ:
ह्यारो : https://www.tickettailor.com/events/thegurkhacentre/989012?fbclid=IwAR0EM85ckr95ilR4ErPrqnF0o3fENYiOkOxiV67c_2c0zGZDrOxuyNUphUE

अल्डरशट : https://www.tickettailor.com/events/thegurkhacentre/1067312?fbclid=IwAR0R96AQqtkADvDJy9nTmYdpC63SJkUEaQAb2x2Pr879iTSIPlHGbgAXVgo

प्रतिक्रिया