क्यानेडियन नेवाः गुठि द्वारा “कूछिभ्वय्” बारे प्रबचन तथा भोज आयोजना

इनेप्लिज २०८० कार्तिक ७ गते ११:२३ मा प्रकाशित

क्यानेडियन नेवाः गुठिले नेवाः समूदायले बिजया दशमिको अष्टमिको दिन मनाइने बिशेष पर्ब भोज “कूछिभ्वय्” बारे प्रबचन तथा सोहि अनुसार भोजको आयोजना गरि मनाइएको छ। भोज संचालन हुनु भन्दा अगाडी गरिएको “कूछिभ्वय्” बारेको प्रबचनमा सबैलाई स्वागत गर्नु हुदै गुठिका सांस्कृतिक सचिब राजेन्द्र महर्जनले नेवाः परम्परालाई संबर्द्दन गर्ने उदेश्यले सो “कूछिभ्वय्” कार्यक्रम संचालन गरिएको बताउनु भयो ।

गुठिका प्रथम उपाध्यक्ष बिमल श्रेष्ठले नेवाः संस्कृतिको जिबन्तता बारे बोल्नु हुदै गुठिले बिबिध कार्यक्रम गर्दै आएको र “कूछिभ्वय्” संचालनको निरन्तरता गत केहि बर्ष देखि गर्दै आएको बताउनु भयो। साथै उहाँले बिजया दशमिको उपलक्षमा सबैमा शुभकामना पनि ब्यक्त गर्नु भयो। गुठिका द्वितिय उपाध्यक्ष सुरेन्द्र लाल श्रेष्ठले गुठिले गर्ने बिभिन्न कार्यक्रमहरु संचालन गर्न अब आफ्नै भबनको ब्यबस्था गर्नु पर्ने समय आएको छ भन्नु हुदै सबैको सहयोग भएमा पक्कै पनि यो लक्ष प्राप्त हुने छ भन्ने बिस्वास ब्यक्त गर्नु भयो। सो कार्यक्रममा गुठिका कार्य समिति सदस्य डा. कृष्ण कायस्थले बिजया दशमि बारे आफ्नो रचना पाठ गर्नु भएको थियो।

“कूछिभ्वय्”को प्राकृतिक, सांस्कृतिक, सामाजिक महत्व बारे प्रकाश पार्नु हुदै गुठिका अध्यक्ष उत्तम माकःजुले परिवारको सबै सदश्यहरु संगै बसी खाइने भोज भएकोले कूलछि भ्वय् भनिएको र कालान्तरमा “कूछिभ्वय्” को रुपमा रुपान्तरण भएको बिचार ब्यक्त गर्नु भयो। साथै उहाँले बिजया दशमि पर्ब नेवाः समुदायले “मोहनि नखः”को रुपमा मनाउदै आएको र नेवाः संस्कारमा जेष्ठतालाई सम्मान गर्ने परम्परा रहेकोले सो “कूछिभ्वय्”मा जेष्ठताकै आधारमा लहरै बसि भोज खाने नियम सामाजिक पक्ष भएको उहाँले बताउनु भयो।” नेवाः सस्कृतिका बिभिन्न परम्पराको ब्याख्या र आधार युबा पुस्तामा पुस्तान्तरण गर्न नसकेमा नेवाः संस्कृति लोपोन्मुख हुदै जाने भएकोले यस बिषयमा गम्भिरतापुर्बक सोच्नु पर्ने अबस्था आएको छ” उहाँले थप्नु भयो।

सोहि कार्यक्रममा गुठिका कार्यसमिति सदस्यहरु सुमन राजबन्शी, कृष्ण ध्वोन्जु, जलेन्द्र देब शाक्यले शुभकामना ब्यक्त गर्नुभएको थियो भने “मिसा पुचः”(महिला समुह)का गायत्री कायस्थले बिदेशमा बसेर पनि आफ्नो संस्कृतिलाई निरन्तरता दिन पाएकोमा खुसी ब्यक्त गर्नु भयो। कार्यक्रममा गुठिका जन सम्पर्क अधिकारी सुमन गोपाल प्रधानले कार्यक्रमलाई सफल पार्न सहयोग गर्नु हुने सबैलाई धन्यबाद ब्यक्त गर्नु भयो।

सो औपचारिक कार्यक्रम पछि नेवाः परम्परा अनुसारको बिभिन्न परिकार सहितको “कूछिभ्वय्” भोज खुवाइएको थियो भने कार्यक्रमको अन्त्यमा स्थानिय कलाकारहरुले नेपालभाषा लगायत अन्य गीतहरु प्रस्तुत गरि अतिथिहरुलाई मनोरन्जन गराइएको थियो।

प्रतिक्रिया