कालोझोला डटकमको दोस्रो वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

इनेप्लिज २०८० कार्तिक ४ गते १:१० मा प्रकाशित

काठमाडौँ, कार्तिक ३ गते । सञ्चार माध्यमहरूको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको धारणा राख्दै प्रमुख निर्वाचन आयुक्त माननीय दिनेशकुमार थपलियाले मिडियामा केही नविनतम विचार र दृष्टिकोण सम्प्रेषित गर्न सञ्चाकर्मीहरूलाई आव्हान गरेका छन् । मैतीदेवी मिडिया प्रा.लि.को दोस्रो वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमका प्रत्येक मिडियाले अब केही न केही नयाँपन दिएर आफ्नो छुट्टै पहिचान स्थापित गराउन सुझाव दिएका छन् ।

बागमती प्रदेश सभासदस्य माननीय श्रीराम लामिछानेले कालोझोला डटकमको उत्तरोत्तर प्रगतिको कामना गर्दै मिडियाले सही रुपमा सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने धारणा राखे । त्यस्तै, भारद्वाज संस्कृति सम्बद्र्धन केन्द्र, नेपालका केन्द्रीय अध्यक्ष ऋषिप्रसाद सुवेदीले गोत्रीय बन्धुहरुको सक्रिय सहभागिमा सञ्चालित कालोझोला डटकमको उत्तररोत्तर प्रगतिको कामना गरे । साथै उनले सम्पूर्ण देश विदेशमा रहनु हुने भारद्वाज गोत्रीय बन्धुबान्धवहरुलाई वडा दशैँ, दिपावली, नेपाल सम्वत् र छठको समेत शुभकामना व्यक्त गरे ।

सो अवसरमा मैतीदेवी मिडिया प्रा.लि.ले विविध क्षेत्रका ९ जनालाई सम्मान गरेको छ । सम्मानीत हुनेहमा वरिष्ठ पत्रकार कृष्णमुरारी भण्डारी, समाजसेवी शिवराम अर्याल, वरिष्ठ सञ्चारकर्मी अच्युतप्रसाद सुवेदी, वरिष्ठ कलाकार तथा निर्देशक दिपाश्री निरौला, संगीतकार वी.पी. वाग्ले (भीमप्रसाद) रहेका छन् । त्यस्तै संस्थागततर्फ लाइफलाइन हेल्थ होम केयर प्रा.लि. र सेन्ट लरेन्स कलेज सम्मानित भएका छन् भने कर्मचारीतर्फ दिपेन्द्र प्रजापति र विष्णुप्रसाद तिमल्सिना सम्मानित भएका छन् ।

मैतीदेवी मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक सुमन सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ सञ्चारकर्मी हेम सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया