लेबनान-इजरायल सीमामा तनाव चर्कियो: हेजबुल्लाहको व्यवस्थापन केन्द्रलाई लक्षित गर्दै इजरायली वायुसेनाको भीषण प्रहार

इनेप्लिज २०८२ असार १३ गते १०:४४ मा प्रकाशित

इजरायली सेनाले दक्षिणी लेबनानमा हेजबुल्लाहले इजरायलमाथि आक्रमणहरू व्यवस्थापन गर्न प्रयोग गर्ने एउटा स्थलमा बमबारी गरेको बताएको छ। यो इरान समर्थित लडाकू समूहलाई लक्षित गरी गरिएका आक्रमणहरूको नयाँ श्रृंखला हो।

इजरायल रक्षा बल (आईडीएफ) ले युद्धविमानहरूले “दक्षिणी लेबनानको बेउफोर्ट रिज क्षेत्रमा हेजबुल्लाह आतंकवादी संगठनले आफ्नो रक्षा प्रणाली व्यवस्थापन गर्न प्रयोग गर्ने” एउटा स्थल (साइट)मा आक्रमण गरेको बताएको छ। यस क्षेत्रको श्रब्यदृश्य (भिडियो)मा ठूला विस्फोटहरूको श्रृंखला देखिएको छ भने तर लेबनानको राष्ट्रिय समाचार निकायले “तीव्र हवाई आक्रमण” भएको जानकारी गराएको छ।

आईडीएफले उक्त स्थल “भूमिगत परियोजनाको एक हिस्सा थियो जुन यस क्षेत्रमा आईडीएफको आक्रमणको परिणामस्वरूप हटाइएको थियो, तर आईडीएफले यसलाई पुन: निर्माण गर्ने प्रयासहरू पत्ता लगाएको छ,” यसलाई गत वर्षको द्वन्द्वलाई अन्त्य गर्ने युद्धविरामको उल्लङ्घन भएको बताएको छ।

सिएनएनका अनुसार गत नोभेम्बरमा हेजबुल्लाहद्वारा सीमापार आक्रमण र इजरायली सेनाद्वारा समूह विरुद्धको कारबाही एक वर्षभन्दा बढी चलेपछि युद्धविराममा सहमति भएदेखि इजरायली सेनाले दक्षिणी लेबनानमा आक्रमणहरू जारी राखेको छ।

सम्झौता अनुसार लिटानी नदीको दक्षिणमा रहेको क्षेत्र जुन हेजबुल्लाहको गढ र इजरायलसँगको सिमानामा पर्छ, त्यहाँ लेबनानको आधिकारिक सुरक्षा बलहरू मात्र तैनाथ हुन सक्ने व्यवस्था गरेको थियो।

प्रतिक्रिया