फोहोर व्यवस्थापनका निम्ति सङ्घीय, प्रादेशिक र स्थानीय सरकार गम्भीर बन्नुपर्छ : प्रधानमन्त्री दाहाल

इनेप्लिज २०८० भदौ १९ गते १३:०८ मा प्रकाशित

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउने सम्बन्धमा सरोकारवाला निकाय र पक्षका प्रतिनिधिहरूसँग छलफल गरेका छन् ।

मंगलबार सिंहदरबारमा प्रधानमन्त्री दाहालले काठमाडौँको फोहोर व्यवस्थापन, फोहोरको दीर्घकालीन समाधान र सरकारको तर्फबाट चाल्नुपर्ने कदमबारे सरोकारवाला पक्ष र निकायहरूसँग छलफल गरेका हुन् ।

बैठकमा फोहोरको दीर्घकालीन समाधानका विविध पक्षबारे सहभागीहरूले आफ्नो धारणा राखेका थिए ।

बैठकमा बञ्चरेडाँडाको फोहोर व्यवस्थापन, स्थानीय प्रभावित जनताले उठाएका मागहरू, डम्पिङ साइडका लागि जग्गा खरिद लगायतका विषयहरूमा छलफल गरिनुका साथै यसका लागि उच्चस्तरीय संयन्त्र आवश्यक रहेको र सोका लागि कानूनी प्रबन्ध आवश्यक रहेकोमा जोड दिइएको छ ।

बैठकमा प्रधानमन्त्री दाहालले आउँदो मन्त्रिपरिषद्को बैठकबाट देशभरिको फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी र संयोजन सहरी विकास मन्त्रालयको हुनेगरी ठोस निर्णय गरिने जानकारी गराएका थिए ।

प्रधानमन्त्री दाहालले भने , “सङ्घीय सरकार काठमाडौँ उपत्यका लगायत देशभरिको फोहोर व्यवस्थापनका निम्ति गम्भीरतापूर्वक लागिरहेको छ ।

त्यसका लागि मन्त्रिपरिषद्को बैठकबाट ठोस निर्णय गर्नुपर्दछ । आउँदो मन्त्रिपरिषद् बैठकमा देशभरिको फोहोर व्यवस्थापनको कार्यादेश सहरी विकास मन्त्रालयलाई दिनेगरी निर्णय लिन्छौँ।”

प्रधानमन्त्री दाहालले फोहोर व्यवस्थापन सङ्घीय, प्रादेशिक र स्थानीय सरकारको साझा दायित्व भएकोमा जोड दिँदै फोहोरको दीर्घकालीन व्यवस्थापनका निम्ति गठन आदेशसहितको कानूनी व्यवस्था र दीर्घकालीन संयन्त्र निर्माण गरिने बताउँदै त्यसका लागि ठोस गृहकार्य गर्नसमेत निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीले बोलाएको छलफलमा सहरी विकासमन्त्री सीता गुरुङ, नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्याल, प्रधानमन्त्री कार्यालयका सचिवहरू एकनारायण अर्याल, मणिराम गेलाल, सहरी विकास मन्त्रालयका सचिव रवीन्द्रमान श्रेष्ठ, लगानी बोर्डका कार्यकारी निर्देशक सुशील भट्ट, काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी, ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती लगायतका प्रतिनिधिहरूको उपस्थित रहेको थियो ।

प्रतिक्रिया