काठमाडौं, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्कालै नेपालका कम्युनिष्ट पार्टीहरूबीच एकता सम्भव नभएको निष्कर्ष निकालेका छन् ।
मङ्गलबारबाट सुरू भएको केन्द्रीय कमिटी बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा उनले यस्तो निष्कर्ष निकालेका छन् । “अहिले तत्काल कम्युनिष्ट पार्टीहरूबीचको एकता वा वामएकता सम्भव छैन,” उनले उल्लेख गरेका छन् ।
त्यसअघि उनी लेख्छन्— हामीले सुरूदेखि नै क्रान्तिकारी कम्युनिष्टहरू, खासगरी समाजवादी कार्यदिशा अङ्गालेका कम्युनिष्ट घटकहरूबीच एकता हुनुपर्ने कुरामा जोड दिँदै आयौँ ।
केही साना घटकहरूलाई पार्टीमा एकताबद्ध गरेका पनि छौँ । साथै नेकपा ९माओवादी केन्द्र० र जसपालगायतका पार्टीहरूसँग एकता वार्ता पनि चलाएका थियौँ । यस दौरान व्यवहारबाट के स्पष्ट भयो भने अहिले तत्काल कम्युनिष्ट पार्टीहरूबीच एकता सम्भव छैन ।
उनले एकताका लागि पार्टीको नाम, मार्गदर्शक सिद्धान्त, सङ्गठनात्मक सिद्धान्त, कार्यक्रम र कार्यदिशाजस्ता मूलभूत विषयमा एकरूपता हुनुपर्ने बताएका छन् ।
“यी मुख्य विषयमा एकरूपता नभइकन पार्टी एकता हुन सक्तैन । कार्यगत एकता, मोर्चाबन्दी र सहकार्य भने तात्कालिक राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक मुद्दाहरूमा दृष्टिकोण मिल्नेहरूका बीच गर्न सकिन्छ ।
त्यसैले अहिले पार्टी एकता होइन, समाजवादी कार्यदिशा अङ्गालेका वामपन्थी पार्टीहरूको एउटा मोर्चा बनाएर सहकार्य गर्नु उपयुक्त हुन्छ भन्ने निष्कर्षमा हामी पुगेका हौँ,” उनले भनेका छन् ।
एकीकृत समाजवादी, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) लगायतका दलहरूबीच पार्टी एकता गर्ने भनेर दलगत वार्ता समितिहरूसमेत बनेका थिए ।
तर, ती समितिहरू निष्क्रिय भएको भन्दै अध्यक्ष नेपालले असन्तुष्ट व्यक्त गरेका छन् ।
प्रतिक्रिया