मेरिल्याण्डमा बाल हेरचाह केन्द्रमा बाल दुर्व्यवहारको आरोपमा एक महिला पक्राउ

इनेप्लिज २०८० भदौ ३ गते १३:४४ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यमा शिशु हेरचाह केन्द्र(डे -केयर )मा बाल दुर्व्यवहार गरेको आरोपमा एक महिलालाई पक्राउ गरिएको छ । मेरिल्याण्ड राज्यको प्रिन्स जर्ज काउन्टीमा रहेको डेकेयर (बालबालिका हेरचाह )का कार्यकर्तालाई बाल दुर्व्यवहारको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी अधिकारीहरूका अनुसार गस्ती प्रहरी अधिकारीहरूलाई झगडा भए पछि डिस्ट्रिक हाइट्सको मर्निङ स्टार नामक बाल हेरचाह केन्द्रमा बोलाइएको थियो। प्रिन्स जर्ज काउन्टीले अन्तर्वार्ता लियो र अङ्कियदृश्य (भिडियो फुटेज)को समीक्षा गरे पछि मेरील्याण्डकी २१ वर्षीया लताजिया फोर्ब्स बाल दुर्व्यवहारको घटनामा संलग्न भएको ठहर गरेको छ ।

फोर्ब्सलाई दोश्रो श्रेणीको बाल दुर्व्यवहार र दोस्रो-श्रेणीको आक्रमणको आरोप लगाइएको छ । उनलाई थप प्रक्रियाको लागि प्रिन्स जर्जको काउन्टी सुधार विभागमा लगिएको एबिसी७न्यूजले जनाएको छ ।

फोर्ब्सले सन् २०२१ देखि बाल हेरचाह सहायकको रुपमा त्यहाँ काम गर्दै आएकी थिइन् । प्रिन्स जर्जको काउन्टी प्रहरीले संदिग्ध व्यक्तिलाई समावेश गर्ने अन्य घटनाहरूको बारेमा थाहा नभएको र यस घटनाको थप अनुसन्धान जारी राखेको छ।

प्रतिक्रिया