काठमाडौं, संसद् अवरोध खुलाउन सभामुख देवराज घिमिरेको कार्यकक्षमा प्रमुख दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ ।
सभामुख घिमिरेले संसद्को अवरोध हटाउनेबारे छलफल गर्न शीर्ष नेताको बैठक बोलाएका हुुन् ।
आज (सोमबार) सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहालका निजी सचिवालयका अनुसार सदनको कारबाही सुरु हुनुभन्दा अघि शीर्ष नेताको बैठक सुरु भएको हो ।
सभामुखले बोलाउनुभएको शीर्ष नेताहरूको बैठकमा प्रधानमन्त्री दाहाल, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता केपी ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस मुख्य सचेतक रमेश लेखक, माओवादी मुख्य सचेतक हितराज पाण्डे, कांग्रेसका सांसद तथा कार्यव्यवस्था समिति सदस्य रामहरि खतिवडा सहभागी छन् ।
साउन १० गते बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख विपक्षी दल एमालेले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै अवरोध गरेको थियो । त्यसपछिका दुई वटा बैठक बोलाइए पनि सूचना टाँसेर स्थगित भएको थियो ।
प्रतिक्रिया