अमेरिकी सर्वोच्च अदालतले बुधबार फ्लोरिडामा लागू हुन लागेको नयाँ आप्रवासन कानून (एसबि ४-सी ) लाई हालका लागि रोक लगाउने निर्णय गरेको छ। यो कानुनले अमेरिकामा गैरकानुनी रूपमा रहेका आप्रवासीलाई फ्लोरिडा प्रवेश गरेमा अपराधी ठहराउने प्रावधान राखेको थियो।
फ्लोरिडाका गभर्नर रन डिसान्टिसले यस कानूनमा हस्ताक्षर गरे पनि दुई आप्रवासी र दुई गैरनाफामूलक संस्थाहरूले अदालतमा मुद्दा हालेपछि यो कानुन अप्रिलदेखि लागू हुन पाएको छैन।
फ्लोरिडाका महान्यायाधिवक्ता जेम्स युथमाइरले सर्वोच्च अदालतसँग कानून लागू गर्न अनुमति मागेका थिए, तर अदालतले त्यो माग अस्वीकार गर्यो। यसकाे अर्थ, संघीय न्यायाधीश क्याथलीन विलियम्सले जारी गरेको अस्थायी रोक अर्थात् इन्जन्क्सन यथावत् रहनेछ।
विलियम्सले यस कानुनलाई संविधान विरुद्ध भएको सम्भावना देखाउँदै रोक लगाएकी थिइन्।
सिबिएस न्यूजका अनुसार युथमाइरले अदालतको आदेश अनुसार राज्यका सुरक्षाकर्मीहरूलाई जानकारी दिनुपर्ने थियो, तर उनले उल्टो सन्देश पठाएर सुरक्षाकर्मीहरूलाई कानून लागू गर्न “कुनै रोक छैन” भने। त्यसकारण न्यायाधीशले उनलाई अदालतको अवहेलनामा दोषी ठहर गरिन्।
अब अदालतले युथमाइरलाई हरेक दुई साता फ्लोरिडाको आप्रवासन कानून अन्तर्गत कति पक्राउ वा कारबाही भए भनेर विवरण दिन आदेश दिएको छ।
प्रतिक्रिया