क्यानाडामा नेपालीहरुको आगमन संगसंगै यहाँ नेपाली भाषा–साहित्य र संस्कृतिले पनि गति लिदै गएको पाइन्छ । अहिलेसम्म मौखिक जानकारी अनुसार नेपालीहरुको आगमन ६० को दशकमा भएको मानिन्छ । त्यसबेला औलामा गनिने नेपालीहरुको संख्या आज विशाल टोरोन्टोमा आठ हजार नाघेको छ । क्यानडामा संस्थागत रुपमा नेपालीहरु सन् १९८९ देखि ‘नेपाली एशोसिएसन इन क्यानाडा’ (एन.ए.सी) क्यानाडाका माध्यमबाट जोडिदै जान थालेको देखिन्छ । यसै क्रममा सन् २००० टोरोन्टोमा स्थापना भएको नेपालिज् क्यानेडियन कम्युनिटी सर्भिसेस् ( एन.सि.सि.एस.) ले २००६ देखि नेपाली संस्कृतिलाई बहुसांस्कृतिक भएको राष्ट्र क्यानाडाको बहुसांस्कृतिक उत्सवहरुहरुको शहरका रुपमा चिनिने टोरोन्टोमा चिन्हाउने काम गर्दै आएको छ । एन.सि.सि.एस.ले पन्धौं नेपाली मेला : हिमालयन फेस्टिभल यही अगस्त १३ आईतबारका दिन नेथन फिलिप स्क्वायरमा भब्यताकासाथ आयोजन गर्दैछ । २००६ देखि शुरु गरिएको नेपाली मेलाले दर्शकको संख्या बढाउ“दै गई रहेको छ । यो मेला विशाल टोरोन्टोमा बस्ने सबै नेपालीहरुको मेला हो, सबै नेपाली संस्थाहरुको मेला हो र सबै नेपालप्रति आस्था र माया राख्नेहरुको मेला हो । यस पटकको मेलाको आकर्षक बनेका शिव परियारले आफ्नो प्रस्तुतिबाट दर्शक रमाउने छन् । यही मेलामा आईटम गीतबाट आफ्नो बेग्लै पहिचान बनाएकी मीना निरौलाको प्रस्तुतिमा दर्शक झुम्मिने छन् । साथै विशाल टोरोन्टोका स्थानीय प्रतीभाहरुले पनि आफ्ना उत्कृष्ठ प्रस्तुतिहरु पस्कने छन् । यो नेपाली परिकारको स्वाद चाख्दै रमाउने मेला हो । यो विशाल टोरोन्टोका नेपालीहरुको वार्षिक चाड हो । अनेकता एकता नेपालीको विशेषता भन्ने शब्दलाई यस्ता कार्यक्रमले व्यवहारमा उतार्ने गर्छ ।
यस्ता उत्सवबाट एकातिर मेला शब्दले नेपालीपनलाई समाति रहेको छ भने अर्कोतिर हिमालयन फेस्टिभल शब्दले हिमालयको देश नेपालमा रहेको सांस्कृतिक विशेषताको वास्तविकता झल्काई रहेको हुन्छ । क्यानाडामा विश्वका प्रायः सबै राष्ट्रबाट आएका विभिन्न समुदायका विभिन्न संस्कृति बोकेका मानिसहरुको बाहुल्यता रहेको छ । बहुसांस्कृतिक शहर टोरोन्टोमा प्रत्येक वर्ष मार्चको आगमन संगसंगै खुला आकाश उत्सव ((Street Festival)शुरु हुन्छ । प्रत्येक शनिबार र आईतबार कुनै न कुनै देशको उत्सव शहरका विभिन्न क्षेत्र अझ भनौं खुला सडकमा समेत चलि रहेको हुन्छ । टोरोन्टोको मुटुमा अवस्थित नेथन फिलिप स्क्वायरमा यहाँको सिटी काउन्सिलको सहयोगमा विभिन्न राष्ट्रको उत्सव चल्ने गर्दछ । नेपालले पनि २००६ देखि सिटी काउन्सिलको सहयोगमा आफ्नो प्रतिनिधित्व गर्दै आईरहेको छ । प्रत्येक वर्ष अगस्त महिनाको दोस्रो आईतबार मनाइने नेपाली मेला : हिमालायन फेस्टिभल अब यहाँको सिटी काउन्सिलको वार्षिक क्यालेण्डरमा दर्ता भई सकेको छ । एन.सि.सि.एस.बाट जग हाल्ने काम भए तापनि अब यो उत्सव यहाँ बसोबास गर्ने सम्पूर्ण नेपालीहरुका लागि एउटा वार्षिक चाँड बनि सकेको छ । एन.सि.सि.एस. का तत्कालिन अध्यक्ष कोमल सापकोटाको कार्यकालमा शुरु भएको यो लेखकको संयोजन तथा उद्घोषणमा शुरु भएको “नेपाली मेला : हिमालयन फेस्टिभल” को यो पन्धौं मेला यही अगस्त १३ आईतबारका दिन सम्पन्न हुन गई रहेको छ । दुई बजेदेखि आठ बजेसम्म मनोरञ्जनका विभिन्न विधाहरुको प्रस्तुतिसँगै सधाझै नेपालबाट मनोरञ्जन पस्कन शिव परियार आउँदै हुनु हुन्छ भने उसलाई साथ दिन र दर्शकमा मनोरञ्जन पस्कन स्थानीय कलाकारहरुमा मीना निरौंलासँगै अन्यको पनि सहभागिता रहने जानकारी मेला संयोजक तथा संस्थाका संस्थापक सदस्य बीना वर्माबाट जानकारी भएको छ ।
यस पटकको मेलालाई अझ आकर्षक बनाउन आयोजकहरुले यहाँ अवस्थित विभिन्न संस्थाको प्रतिनिधिधत्व रहने गरी जातीय नृत्यहरुको प्रस्तुतिहरु रहने छ । कुमारी, लाखे, मञ्जुश्री नृत्यसँगै यसपटकको आकर्षक पञ्चेबाजासँगै विभिन्न जनजातिका सांस्कृतिक प्रस्तुतिहरु रहने छ । विगतलाई पल्ट्याएर हेर्ने हो भने पहिलो मेलाको उद्घाटन टोरोन्टोका तत्कालीन मेयरबाट भएको थियो । त्यसपछिका दिनहरुमा विभिन्न ओहोदामा रहेका उच्चपदस्त व्यक्तीत्वबाट हुँदै आएको छ भने हाम्रो मुलुकको प्रतिनिधित्व सधै महामहिम राजदूतबाट हुँदै आएको छ । पहिलो हिमालयन मेलाबाट शुरु भएको रौनक लाखे र भ्mयालिञ्चे नाँचबाट शुरु हुने मेलामा यसपटक पञ्चेबाजाले अर्को रौनक थप्ने भएको छ । यही मेलाका माध्यमबाट नेथन फिलिप स्क्वायर मञ्चमा नेपालका प्रसिद्ध र चर्चित गायिका आनी चोयाङ, नेपाली संगीतका महारथी शम्भुजित बाँसकोटाबाट लिएर नेतृ हिसिला यमी, नलिनी चित्रकार, सरिश्मा अमात्य, संजीव प्रधान, समीर आचार्य, निमा रिम्बा, हेमन्त लामा, यस बराल, गम्बु शेर्पा, रामकृष्ण ढकाल, प्रमोद खरेल जस्ता प्रतिभाहरुले प्रस्तुति दिई सकेका छन् भने कार्यक्रममा रौनाता ल्याउन यहाँका स्थानीय कलाकार बुद्धीसागर बस्न्यात, देवीका के.सी, रीता बुर्लाकोटी, विनोद ढुङ्गाना, विनया निरौला, रामकाजी मोक्तान, आर्शिवाद सुवेदी, निर्माण श्रेष्ठको उपस्थितिलाई पनि विर्सन सकिदैन । त्यस्तै नृत्यका माध्याबाट मनोरञ्जन पस्केर दर्शन रमाउने माध्यम बनेका धेरैनै स्थानीय कलाकारहरुको योगदानले पनि यो मेलालाई यहाँसम्म ल्याई पुर्याएको तथ्यलाई नकार्न सकिदैन । संगीत साधक तथा मादल विशेषज्ञ सानु महर्जन र उनको हिमालयन भाइप्सको सांगीतिक प्रस्तुति जहिले पनि मेलाको शान बन्दै आएको छ ।
आजको मितिमा हिमालयन मेलाको थालनी एन.सि.सि.एस. बाट भए तापनि यो विशाल टोरोन्टोमा बसोबास गर्ने सबै नेपालीहरुको वार्षिक चाँड भएको छ । यसमा व्यापकता ल्याउन आकर्षक बनाउन आयोजकले सहभागिता र प्रस्तुतिहरु बढाउँदै लिएर गएका छन् । यही मञ्चबाट हाम्रा अग्रजहरुको सम्मान गरेर समुदायका लागि उनीहरुले गरेको योगदानको कथा सुनाउदै आएका छन् । यसको आधिकारिक आयोजक एन.सि.सि.एस. भए तापनि यसमा विशाल टोरोन्टोमा अवस्थित सबै संस्थाका प्रतिनिधित्व रहदै एकतामा अनेकाताको परिचय दिदै हिमालयन मेला सम्पन्न हुँदै आएको छ । एनसिसिएसका वर्तमान अध्यक्ष तुलसी पाठकका अनुसार मेलाको आयोजनाका लागि एउटा समुह मेला सम्पन्न गर्न अहोरात्र खटेर का मगर्दै आएको छ । मेलाको अर्को आकर्षक भनेको विशाल टोरन्टोमा रहेको नेपालीहरुको व्यवसायका बारेमा पनि जानकारी पाईन्छ भने समुदायमा भए गरिएका विभिन्न क्रियाकलापका बारेमा सूचनाका अतिरिक्त नेपाली खानाका परिकारहरु मेलाको आकर्षक थियो छ र रहने छ । नेपालबाट खानाको परिकारका रुपमा विश्वमा आजको मितिमा प्रसिद्धि पाएको मःमः का परिकारहरुले दर्शकलाई मेलाको बेग्लै आनन्द दिने गरेको देखिदै आएको छ । मेलामा आउने वित्तिकै राष्ट्रियताको धुन बोकेको बाजाहरुको झन्कारले मन त्यसै त्यसै तरङ्गिन थाल्छ । यही मेला हो जहाँ विशाल टोरन्टोका नेपालीहरुलाई एउटै स्थलमा उपस्थित गराएर सँगै खाने नाच्ने र रमाउँने वातावरण बनाई दिएको हुन्छ ।
यो पर्वले विशाल टोरन्टो क्षेत्रमा बसोबास गर्ने नेपाली मूलका मानिसहरुलाई नेपाली क्यानेडियाली समुदायको संस्कृतिलाई परम्परागत खाना, नृत्य र अन्य साँस्कृतिक प्रदर्शन मार्फत एकसाथ ल्याउँछ ।
अनि के त ! तपाई पनि आउने हैन त सपरिवार ।
-डा. गोविन्दसिंह रावत टोरान्टो
प्रतिक्रिया