मेक्सिकोको माटामोरोसमा आक्रमण र अपहरणपछि ४ अमेरिकी नागरिक बेपत्ता

इनेप्लिज २०७९ फागुन २२ गते १२:१७ मा प्रकाशित

मेक्सिकोको माटामोरोसमा आक्रमण र अपहरणपछि ४ अमेरिकी नागरिक बेपत्ता भएको एफबीआईले जनाएको छ ।

बेपत्ता भएका अमेरिकीहरूको खोजी गरिरहेको एफबीआईका अनुसार शुक्रबार उत्तरपूर्वी मेक्सिकोमा सीमा पार गरेपछि चार अमेरिकी नागरिकलाई आक्रमण गरी अपहरण गरिएको थियो।

शुक्रबार अमेरिकी नागरिकहरू मेक्सिकोको सीमावर्ती सहर माटामोरोसमा प्रवेश गरेलगत्तै अज्ञात बन्दुकधारीहरूले उनीहरूमाथि गोली हानेका थिए, सान एन्टोनियोमा रहेको एफबीआईले जारी गरेको विज्ञप्तिमा भनिएको छ। सँस्था (एजेन्सी)ले पीडितको पहिचान गरेको छैन।

विज्ञप्तिमा भनिएको छ, “चारै अमेरिकीहरूलाई एउटा गाडीमा राखेर हतियारधारीहरूले घटनास्थलबाट लगेका थिए।”

एफबीआईका अनुसार अमेरिकी नागरिकहरूले उत्तरी क्यारोलाइनाको दर्ता संख्या (लाइसेन्स प्लेट) भएको सेतो मिनीभ्यान (सानो मालबाहक)सवारी साधन चलाउँदै थिए।

एफबीआईले अमेरिकीहरू पत्ता लगाउन र अपहरणका लागि जिम्मेवार व्यक्तिहरूको पहिचान गर्न जनताको सहयोग खोजिरहेको छ। संस्थाले पीडितलाई फिर्ता गर्ने र संलग्नहरूलाई पक्राउ गर्नेलाई ५०,००० डलर पुरस्कार घोषणा गरेको छ भनि सिएनएनले समाचार लेखेको छ ।

एफबीआईले अपहरणको अनुसन्धान गर्न अन्य संघीय साझेदारहरू र मेक्सिकोका प्रहरीहरूसँग सहकार्य गरिरहेको बताएको छ। माटामोरोस मेक्सिकोको तामौलिपास राज्यमा अवस्थित छ।

प्रतिक्रिया