वासिंटन, डि.सी.। गत फेब्रुवरी २६, २०२३ मा गैर आवासीय संघ संयुक्त राज्य अमेरिका एवं क्यानडाबाट संयुक्त रुपमा संचालन गरिएको नेपालको समृद्धिमा गैर आवासीय नेपालीहरूको भूमिका, नागरिकता निरंतरता र सम्पत्ति अधिकार सम्बन्धमा गरिएको बहस तथा अन्तरक्रिया कार्यक्रमलाई भर्चुअल माध्यमबाट संबोधित गर्दै सम्पन्न गरिएको छ ।
उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका महासचिव देव गुरुंगले गैरआवासीय नेपाली नागरिकता सम्बंधिको आवश्यक कारवाही अगाड़ी बढाई यो समस्याको समाधान गर्न सबै मिलेर राष्ट्रिय सहमति सहित छिट्टै टुंगोमा पुगिने भनि बताउनु भएको छ।
गैरआवासीय नेपालीसंघ अमेरिका र क्यानडाले संयुक्त रुपमा आयोजना गरेको “नागरिकता निरन्तरता र सम्पत्ति अधिकार” विषयको वहसको तेस्रो श्रृंखला (चरण) को कार्यक्रमका प्रमुख वक्ता गुरुंगले नेपालमा नयाँ राष्ट्रपति चयनपछि यो विषय सम्पूर्ण रुपमा टुंगिने भनेर भन्नु भएको हो।
नेकपा माओवादी सम्मिलित तत्कालिन सरकारले गैरआवासीय नेपालीहरु सहितको नागरिकता विधेयक सदनबाट पारित गरेपनि सम्माननीय राष्ट्रपतिबाट कारणवस सदर नभएको स्मरण गर्दै वाँहाले बर्तमान सरकार गैरआवासीय नेपालीहरु प्रति सकारात्मक रहेको बताउनु भयो।
यसैगरी कानून विद् एवं वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले नेपाल सरकारले गैरआवासीय नेपाली नागरिकताको नाममा “एनआरएन” चामलसंग पिठो साट्न लगाएको भनेर जनाउनु भयो। वाँहाले नेपाललाई संकट परेका बेला विदेशमा बस्ने नेपालीहरुले डलर खाता खोलेर नेपालको अर्थतन्त्रलाई सघाइ रहेको समेत उल्लेख गर्नु भयो।
‘नेपालमा संकट परेकाबेला विदेशमा बस्ने नेपाली मूलका मानिसहरु चाहिने तर ती मानिसहरुलाई हामीले दोहोरो नागरिकता नदिएर विदेशी मानिसहरुलाई चैं मुलुक भित्र भर्ने कन्सेप्ट जुन आजको लोकतान्त्रिक भनिएको सरकारको छ, यसको पछाडिको नियत के हो थाहाँ छैन । बि. सं. २०६३ सालको नागरिकता ऐनले “एनआरएन” भन्ने नयाँ कन्सेप्ट ल्यायो, त्यो भनेको “पिठो दिएर चामल साटे सरह जस्तै हो भनेर न्यौपानेले बताउनु भयो।
तपाई सित हिजो दोहोरो नागरिकता थियो, त्यो नेपाली नागरिकतालाई हामीले रद्द गरिदियौं, तर सरकारले तपाईलाईं विदेशीको नाताले “एनआरएनए” को सुविधा दिन्छु भन्यो तर त्यसमा कानूनी समस्या पनि रहेछ भन्ने उल्लेख गर्नु भयो।
“एनआरएनए” को सुविधा लिएर नेपालमा बस्यो, जग्गा किन्यो, त्यो मान्छेको मृत्युपछि त्यो सम्पत्ति छोराछोरीले पाउँछन् कि पाउँदैनन् त?भोलि ति छोरो-छोरी “एनआरएनए” बन्न खोजेन भने त्यो सम्पत्ति बेचेर आँफु बसोबास गरेको देशमा लान पाउँछन् कि पाउँदैन?
त्यो पनि कानूनमा स्पष्ट छैन, “एनआरएन” भनेर ठूलो उपलव्धि हासिल भयो भनेर केही हाम्रा साथीभाइहरु यो कन्सेप्टमा लाग्नुभयो तर त्यो “एनआरएन” हुनुभन्दा अगाडि आँफु संग भएको सक्कली नागरिकता त्याग्नु प-यो, यसलाई कानूनले नै रद्द गरि दियो।हामीले अहिले सुन दिएर फलाम साटेका छौं, हामीसँग सुन (सक्कली नागरिकता) थियो तर गैर आवासीय नेपाली नागरिकता ऐन बनाएर सक्कली नागरिकता रद्द गरि दियौं, त्यसको साटो “एनआरएनए” कार्ड दियौं, त्यो भनेको “एनआरएन” हरुका लागि “चामल दिएर पिठो साटेको” जस्तै हो भन्ने तर्क बरिष्ट अधिवक्ता नेउपानेले प्रस्तुत गर्नु भयो।
कानून बिद् एवं वरिष्ठ अधिवक्ता न्यौपानेले नेपाल जोगाउने र नेपाली जोगिने हो भने सार्क देशबाहेकमा बसोबास गर्ने नेपालीहरु जो बंशजको नागरिक हुन् उनीहरुलाई दोहोरो नागरिकता दिन आग्रह समेत गर्नु भयो। यदि यसो गरियो भने र यस बमोजिम नागरिकता प्रदान गरियो भने बिश्वभर बाट धनराशि कमाएर आएका “एनआरएन” हरुले ठूला-ठूला उद्योग धन्दा, कलकारखानाहरु खोल्छन सक्छन्।
नेपालमा ठूलो लगानी भित्रिन सक्छ, “एकचोटीको नेपाली सदाको लागि नेपाली” भने मात्रै यो देश बच्छ र बन्दछ पनि। जति नेपालमा बस्ने नेपालीलाई यो देशको चिन्ता छ, त्यो भन्दा धेरै गुणा बढी चिन्ता विदेशमा बस्ने नेपालीहरुलाई छ, वाँहाले भन्नु भयो। कानून बिद् वरिष्ठ अधिवक्ता न्यौपानेले कार्यक्रममा उपस्थित विभिन्न सहभागीहरुले सोधेका विविध प्रश्नहरुको जवाफ पनि दिनु भएको थियो।
“एनआरएनए” आइसीसीका केन्द्रीय अध्यक्ष डा. बद्री केसीले “एनआरएनए” हरुको नागरिकता निरन्तरताको कुरा संघले सन् २००५ देखि नै अभियानको रुपमा लगातार लिएर आइरहेको बताउनु भयो। जब बि. सं.२०७२ को संविधान आयो, त्यो संविधानमा “गैर आवासीय नेपाली नागरिकता” को विषय पार्न सक्यौं, त्यो हाम्रो एउटा सफलता मान्नुपर्छ।
तर सन् २०१५ मा संविधान बनिसकेपछि अहिलेसम्म नागरिकता ऐन नआउनु वास्तवमै दुःखको कुरा हो, नागरिकता भन्ने विषय नेपालको राजनीति संग पनि जोडिने र अन्य नागरिकता संग पनि जोडिने भएको हुनाले समय लाग्नु स्वभाविकै हो भनेर वाँहाले भन्नु भयो। धेरै साथीहरुको माग पनि थियो कि गैरआवासीय नागरिकतालाई अन्य नागरिकतासँग नजुधाएर विधेयक लिएर आउँ भन्ने थियो। नेपालमा “एनआरएनए” हरुलाई अधिकार र मान्यता दिनका लागि अलिकति कन्जुस्याइं गरेको जस्तो देखिन्छ।
मूल नागरिकता ऐनबाट गैरआवासीय नेपाली नागरिकतालाई छुट्यायौं भने हाम्रो अधिकार फितलो हुन्छ भन्ने हाम्रो ठम्याई हो। यस्तै सुझाव हामीलाई विभिन्न कानूनबिद्हरुले पनि दिनुभएको छ, केन्द्रीय गैर आवासीय नेपाली संघका अध्यक्ष डा. केसीले नागरिकता प्राप्ति पछि हाम्रो आर्थिक सामाजिक र सांस्कृतिक अधिकार के हो? भन्ने कुरोमा नागरिकता ऐनले मात्रै नपुग्ने भनेर खुलस्त गर्नु भयो।त्यसमा जोडिएका गैरआवासीय नेपालीहरुको अधिकारका कुराहरुलाई उल्लेख गरेर विधेयक बि. सं. २०७७ सालमा आएको छ त्यो पनि अघि बढेको भने छैन, रवि लामिछाने नागरिकता प्रकरणले हामीलाई झसङ्ग बनाएको छ, हामीले रद्द भएको नागरिकता नेपालमा प्रयोग गरेर विभिन्न काम गरिरहेका छौं, अहिले सबै झसंग भए पनि गैर आवासीय नेपाली संघ यो कुरामा धेरै अगाडि देखि नै सचेत थियो र छ।
यो समस्या हजारौं-हजार नेपालीलाई पर्न सक्छ भनेर हामीहरु जानकार पनि थियौं।त्यसैले हामीले एक पटक पुरानो कागजातलाई मान्यता दिएर समस्या समाधानका लागि पहल गर्नुपर्छ भनेका हौं।हामीले भने अनुसारको प्रस्तावित क़ानून बनेको छ भनेर वाँहाले भन्नु भयो।
अर्का वक्ता “एनआरएनए” आइसीसीका उपाध्यक्ष डा. हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकता हाम्रा छोरा, छोरीका लागि पनि चाहिने बताउनु भयो।वाँहाले गैरआवासीय नेपालीहरु आँठ-नौं प्रकारका रहेको बताउँदै सबै किसिमका नागरिकतालाई सम्बोधन गर्ने गरी कानून बन्नु पर्ने उल्लेख गर्नु भयो। नेपालमा भएको बि. सं. २०४६ को राजनीतिक परिवर्तन पछि मात्र आम नेपालीले राहदानी लिन पाएको स्मरण समेत गराउनु भयो।
“एनआरएनए” हरुले नेपाल गएर आन्दोलन गर्न व्यवहारिक नहुने भन्दै वाँहाले यसका लागि नेपाली संचार माध्यम र नागरिक समाजको सहयोग जुटाउन आवश्यक रहेको पनि बताउनु भयो।
यसरी नै कसैको पनि नागरिकता खोस्ने अधिकार राज्यलाई हुँदैन र छैन पनि भन्दै गैर आवासीय नेपाली संघका संस्थापक, पूर्व संरक्षक एवं गैर आवासीय नेपाली संघ अमेरिकाका पूर्व अध्यक्ष डा.अम्बिका प्रसाद अधिकारीले धेरै देशमा व्यक्ति स्वयं आफैलाई आफ्नो नागरिकता त्याग्ने वा परिवर्तन गर्ने अधिकार हुन्छ, तर राज्यलाई कसैको नागरिकता खोस्ने अधिकार नहुने भन्ने बिस्वास व्यक्त गर्नु भयो।करिब-करिब दस लाख नेपालीहरु विकसित देशहरुमा बसेका छौं, झण्डै चालिस लाख नेपालीहरु कुनै पनि बेलामा अस्थायी रुपमा बाहिर छौं, झन्डै पाँच लाख नेपालीहरु संग अर्को देशको पनि नागरिकता छ, वंशजको आधारमा नागरिकता लिएकाहरुले विदेशको नागरिकता स्वतः खारेज हुने अहिलेको व्यवस्थालाई गम्भीर भएर रिभ्यू गर्न जरुरी छ भन्नेमा दुईमत हुँदैन भन्नेमा डा. अधिकारीले बिशेष रुपमा जोड दिनु भएको थियो।
“एनआरएनएका” का पूर्व सल्लाहकार तथा अमेरिकाज् क्षेत्रका पूर्व उपसंयोजक डा. द्रोण प्रकाश रसालीले कुनै पनि राजनीतिक दलले दुइ तिहाई बहुमत नल्याउँदा सम्म संविधान संशोधन गर्ने माहोल नहुने भएको अवस्थामा “एनआरएनए” का मुद्दा कसरी कार्यान्वयन गराउने हो?त्यतातर्फ ध्यान केन्द्रित गर्नु पर्ने बताउनु भयो।अहिले धेरै “एनआरएनए” साथीहरुलाई समस्या परिसकेको छ, अहिले हामी संक्रमणकालमा छौं, संविधान बनिसकेको यतिका समय भइसक्दा पनि यसलाई आवश्यक पर्ने ऐन पनि बनिसकेको छैन, नेपाल पूर्व मेचीदेखि पश्चिम महाकालीको बिचमा मात्रै छैन, यो ग्लोबलाइजेशनको जमाना हो, त्यसकारण यही भूमिलाई मात्रै नेपाल ठान्ने र त्यो भूमिकामा बसेकाहरुलाई मात्रै नेपाली ठान्ने परिस्थिति र सोच यथोचित नहुने भनेर वाँहाले उल्लेख गर्नु भयो।
एक पटक नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिलाई आफ्नो वृत्ति विकास गर्ने क्रममा अमेरिका, क्यानडा जस्ता देशहरुमा सहजरुपमा नागरिकता हुने र नागरिकता भएमा त्यस्तो वृत्ति विकास विश्वव्यापी रुपमा जान सकिने भएको हुनाले त्यो कन्भेनियन्स को नागरिकता हामीले लिएका हौं।
नेपालमा जन्मिएर २० वर्षभन्दा धेरै उच्च पदमा रहेर सेवा गरेर जनताका जिवनस्तरमा परिवर्तन ल्याएर बल्ल मात्रै विदेश आएका व्यक्तिहरु छन्, र छौं, म नै निजामति सेवामा २० वर्ष ९ महिना काम गरेर क्यानडा आएको पनि २३ वर्ष भइसक्यो, यो २३ वर्षमा क्यानडाका लागि मात्रै होइन विश्वलाई नै काम लाग्ने कुराहरु गर्नका लागि प्रयास गरियो भनेर वाँहाले भन्नु भयो।अहिलेको प्रावधान सरासर अन्याय पूर्ण भएकाले संक्रमण कालिन नियम बनाएर भए पनि तत्काल राहत प्रदान गर्न जरुरि छ भन्नेमा समेत डा. रसालीले जोड़ दिनु भएको थियो।
त्यस्तै “एनआरएनए” क्यानाडाका संस्थापक मध्यका एक, डा. तुलसी धरेलले नेपालको सर्वोच्च अदालतले हामीलाई अस्ति तर्साएको छ, रवि लामिछाने नागरिकता प्रकरणको मुद्दा फैसला पछि विदेशमा रहेका “एनआरएन” हरु तर्सिएको बेलामा “एनआरएनए” आईसीसीका नेतृत्व गणहरुको बढी दायित्व हुने भनेर बताउदै , तपाईंहरु खाली पार्टीको नेताहरु संग तस्वीर मात्र नखिच्नुस । यस बेला तपाईंहरुले दरिलो तरिकाले आफ्नो आवाजहरु राख्न जरुरी छ ।
अब हामीले कमाएको सम्पत्ति नेपाल नजान सक्छ भनेर घुर्कि मात्र नलगाउनुस्, यतिबेला हामीहरु एकजुट भएर आफ्ना सहि कुराहरु राख्नको लागि यो नै उपयुक्त समय हो भनेर बताए पश्चात Association of Nepalis in the Americas (ANA) का निवर्तमान अध्यक्ष एवं वर्तमान Board of Trustee साथै गैर आवासीय नेपाली संघका आजीवन सदस्य र पूर्व अन्तर्राष्ट्रिय प्रतिनिधि खगेन्द्र अधिकारीले यस बिशेष कार्यक्रमका बारेमा आफ्नो महत्वपूर्ण सारगर्भित बिचारहरु राख्दै नियमित रुपमै सम्पन्न गर्दै आईएको आजको यो बिशेष महत्वपूर्ण कार्यक्रम सम्पूर्ण प्रवासी एवं गैर आवासीय नेपालीहरुका लागि नितान्त उपयोगी र उपलब्धिमुलक भएको भन्दै सबै सहभागीहरु र बक्ताहरुको बिषयबस्तुका सम्बन्धमा राख्नु भएका सारगर्भित बिचारहरु र धारणाहरुका बारेमा समेत संक्षिप्त समिक्षा गर्नु भएको थियो।
यस महत्वपूर्ण र बिशेष कार्यक्रमलाई “एनआरएनए” एनसीसी क्यानडाका अध्यक्ष दिपक गौतमले अत्यंत सफलतापूर्वक संचालन गर्नु भएको र उक्त बहस तथा अन्तरक्रिया कार्यक्रममा “एनआरएनए” अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदीले कार्यक्रमको महत्वलाई महसूस गरेर यस कार्यक्रमलाई सोभायमान गराई दिनु भएकोमा सम्बंधित र उपस्थित सम्पूर्ण आदरणीय व्यक्तित्वहरुलाई मुरी मुरी धन्यवाद ज्ञापन गर्दै यो हाम्रो शाझा उपलब्धिमुलक, उपयोगीपूर्ण, महत्वपूर्ण र बिशेष अभियानलाई निस्चित र निरंतर रुपमा अगाडी बढाउन आआफ्नो स्थान बाट सक्दो पहल गर्दै भरपूर रुपमा मद्दत गर्नको लागि सम्बंधित सबैलाई बिशेष आग्रह गर्नु भए पश्चात उक्त भर्चुअल कार्यक्रमको विधिवत रुपमा समापन भएको थियो।
प्रतिक्रिया