पुस्तक समीक्षा-“मैले टेकेको धरती” पुस्तकभित्र घोत्लिदा

–उद्धव बिष्ट ‘चुम्लुङ्गे’, विराटनगर, हालः झापा २०७९ फागुन ८ गते ११:३८ मा प्रकाशित

नेपाल सरकारका पूर्व सचिव तथा वर्तमान नाष्टका सेवा आयोगका अध्यक्ष रहनुभएका डा. खगराज बरालले फोन गरेर पुस्तक पठाइदिएको बताउनु भयो । विराटनगरका मेरा छिमेकी साहित्यकार हरि बरालज्यू कहाँ पुगेर पुस्तक प्राप्त गरें । सप्रेम प्राप्त भएको पुस्तक ओल्टाइ, पल्टाइ हेरें । बाहिरी कभर नै धरती टेक्दै हिंडेको आकृति रहेको पुस्तकमा तेह्र वटा शीर्षकमा आख्यानात्मक लेख, तीन वटा भजन र चुड्का समेत रहेको पाइन्छ ।

पुस्तकले पारिवारिक आत्मवृत्तान्त प्रस्तुत गर्न सफल भएको लाग्दछ । लेखकका पितामह (हजूबा) प्रजापतिले पिताजी नारायणदत्तलाई खासै चाख दिनुहुँदैनथ्यो भन्दै पिताजीले स्वर्गद्वारी आश्रममा गएर पढेको हुनाले धर्मकर्ममा बढी प्रभावित भएको उल्लेख छ । पिताजी बिहान नुहाएर निकै समय पूजा, जप गर्नुहुने भएकोले त्यस समयमा कोही आएर पितामहलाई बाबाको बारेमा सोधेभने तीर्थ गएको छ भनेर व्यङ्ग्य दिनुहुन्थ्यो रे । बाबा खानमा पनि सोखी रहेको भनाइ पाइन्छ । पिताजी जाँगरिलो पनि हुनुहुन्थ्यो । बाह्र तेह्र दिन पैदल हिंडेर नून, तेल बोकेर आउनुहुन्थ्यो (पृ. १८) । बाबा मेहनती र परिश्रमी हुनुहुन्थ्यो । बत्ती बालेर कुराकानी गरेको समयमा पनि नाम्लो, दाम्लो कुचो बनाउनुहुन्थ्यो । गोमा आमासँग घाँस काट् सँगै गएको भएता पनि घाँस काट्ने समयमा अर्कैतिर लागेकाले गोमा आमालाई खोलाले बगाए पनि आफू बाँचेको । पिताजीले बडहरको रुखको घाँस काट्दा हाँगो भाँचिएर लड्दा बाँचेको भए पनि दाउरा चिर्दा बाको खुट्टा काटेको घाउ पिल्सिएर निकै दुःख दियो । पछि अचानक पेट दुःखेको निहुबाट बाबाको निधन भएपछि २०१९ चैत्र रामनवमीदेखि विवाह नगरुन्जेल एक्लो जीवन बिताएको पाइन्छ ।

मेरो पढाइको सेरोफेरो भन्ने शीर्षकबाट २०२० सालभन्दा अगाडि लेख्न प्रयोग गरिने कलम मसी कस्तो हुन्थ्यो भन्ने जानकारी पाइन्छ । “निगाला र हाडे उनियाँको कलम प्रयोग गर्दथ्यौं । मुसिरे कटुसको पातलाई पकाएर मसी बनाइन्थ्यो” (पृ. ४४) । साबुन नभएर तोरीको पिना भिजाएर र रिठ्ठाले नुहाउनु पर्ने अवस्थाको उल्लेख पाइन्छ (पृ. ५८) । बिरौटाको गोठमा गएर आउँदा बाँदरको फौजले लखेटेर सातो नै गएको (पृ. ५९) । गाउँमा शौचालय हुँदैनथे । गाउँमा मुखिया हुन्थे । पढ्न जान्नेले पनि लेख्न जान्दैनथे, औंठी छाप लगाउँथे (पृ. ६१) । पंण्डित भानुभक्तको घरमा बसेर पढेका समयमा गुरुकुलको जस्तै सेवा गरेर बसेको पाइन्छ । पछि शिक्षकमा नियुक्ति दिलाउन खेमराज पौडेलको योगदान रहेको भन्ने उल्लेख गरिएको छ । विद्यालय सञ्चालनका लागि सेवाक्षेत्रका गाउँलेहरुलाई क, ख, ग, घ वर्गमा विभाजित गरी चन्दा संकलन गरिन्थ्यो (पृ. ६४) ।

बाल्यकालका केही स्मरणीय घटना शीर्षकमा बालसुलभ उट्फट्याङ यथार्थता पनि नलुकाइ लेखिएको छ । गाउँका घर्ती भुजेल, डाँसे र टेकबहादुर भुजेलले रक्सी लिएर खुवाउने प्रयास गर्दा आफैं खान्छु भनेर गिलास ओठसम्म पुर्याएर भूईंमा पोख्ने गरेको, कटुसको पातमा चिलिम बनाएर चुरोट तान्न लगाउँथे तान्नुको सट्टा फुर्र फुकेर उडाइदिएको उल्लेख छ । पंण्डित कान्छा गंगाधर अधिकारीले तमाखु तान्नुहुन्थ्यो र त्यहाँ जानेहरुले तान्ने गर्दथे । एक दिन तँ पनि तान्छस् भनेर सोध्दा अँ भनेर ३/४ सर्का तमाखु तानेपछि उल्टी आएर उल्टी गर्दा सो उल्टी विवाहमा जान धोएर सुकाएका लुगाभरि पेरेकोले गाली पाएको पनि उल्लेख छ । भोलानाथ बाले चिलिममा गाजा राखेको रहेछ । लौ मास्टर सल्काएर ल्याऊ त भनेकाले सल्काउँदा दुई, तीन पटक तानेको त्यस पछि त घरतिर जाँदा बाटामा पटकपटक उल्टी भएर घर पुग्न नसकेर अरुले पुर्याइदिनुपरेको उल्लेख छ ।

लक्ष्मी आधारभूत विद्यालयमा ३७ वर्ष काम गर्दाका अनुभव बताउने सन्दर्भमा त्यस समयको गाउँको शिक्षक भनेको शिक्षक मात्र नभएर वकिल, डाक्टर, ईन्जीनियर लगायतका काम पनि गरिदिनुपर्ने प्रसङ्ग पाइन्छ । राम्रो कामको राम्रै परिणाम, मेहनतको फल मीठो हुन्छ भन्ने भनाइ भएजस्तै विद्यालयमा सबै काम इमान्दारीपूर्वक सम्पन्न गर्ने गरेको र जापानको को को कु हाइस्कुलसँग भगिनी सम्बन्ध गाँसेको कारण त्यस विद्यालयको आमन्त्रणमा जापान भ्रमण गर्न पाएको र जाने, आउने तथा बस्ने व्यवस्था पनि उनीहरुबाटै भएको पाइन्छ ।

तीर्थयात्राको वर्णन गर्ने सन्दर्भमा नेपालका र छिमेकी मुलुक भारतका विभिन्न तीर्थहरुको बारेमा जानकारी गराइएको छ । जहाँ, जहाँ आफू पुगेको हो सो ठाउँ र मन्दिर तथा मूर्तिहरुको समेत फोटो संलग्न राखेर नगएकाहरुलाई पनि स्पष्ट जानकारी पस्किएको पाइन्छ ।

वि.सं. २०७४ श्रावण २८ गते कोरिया भ्रमण लाग्नु भएको प्रसङ्ग छ । कोरियामा जमिनमुनिबाट तीन तलामा रेल कुदेको, फराकिला बाटाको उल्लेख छ । जमिनमाथि पनि दुई तला बाटा । दुई तले बस । धुलो, धुवाको नियन्त्रण गरिएको, सफा सडक । कोरियन खाना धेरैजसो उसिनेको हुने । सामुद्रिक झारदेखि गंगटा, अक्टोपसजस्ता जीव हुने । बंगुरको मासु त त्यहाँको प्रिय खाना नै रहेछ भन्ने उल्लेख गर्दै जाँदा, आउँदा र घुमघामका जानकारीमूलक वर्णन पाइन्छ । काइलो छोरा एकराज (कमल) ले पिएचडीको प्रमाणपत्र लिएको समयमा गर्वले छाती ढक्क फुलेको, आँखा रसाएका र यस्ता छोरा जन्माउने, हुर्काउने आमा लीलावतीको याद आएको कारुणिक वर्णन छ ।

वि.सं. २०६२ सालको भाइटीका लगाएपछि जापान यात्राको साइत त्यसै दिन गरेको उल्लेख छ । जापान पुगेर भगिनी विद्यालय को को कु हाइस्कुल आठ तले रहेछ, कहिले त्यहीं बसेको, कहिले होटलमा र कहिले होमस्टेमा बसेको वर्णन पाइन्छ । जापानीहरु रिसाएको र हुन्न भनेको कतै देखिएन । जेष्ठलाई ठूलो सम्मान गर्ने, विहान, दिउँसो, बेलुका, र राति अलग, अलग शब्द क्रमशः ओहायो गोजाइमास, कोनिचुवा, कोन्वान्वा, सुमिना साइ भन्दारहेछन् । छुट्टिने बेलामा हात हल्लाउँदै सायोनारा भन्दारहेछन् भन्ने जानकारी दिइएको छ । कसैलाई स्वागत गर्दा शिर झुकाएर कोनिचुवा भन्दारहेछन् (पृ. ११५) ।

मातृकुलका कुरा, ससुरालीका कुरा, पत्नीका कुरा, जीवन संघर्षका कुरा, अध्ययन गर्दाका कुरा पुस्तकमा विस्तृत रुपमा पाइन्छन् । मानिसले डेग नछाडेर काम गरिरहने हो भने मेहनत र पसिनाले सुख फिराउन सकिन्छ भन्ने उदाहरण पाइन्छ । लेखकका पाँच भाइ छोराहरु सबैले स्नातकोत्तर अध्ययन पूरा गरेका, काइलो छोराले सबैभन्दा पहिले ‘पिएचडी’ उपाधि प्राप्त गरेका । माइला छोरा नेपाल सरकारको सचिव पदबाट निवृत्त भएर हाल नाष्ट सेवा आयोगको अध्यक्ष रहनु भएको । माइला छोराले पनि ‘पिएचडी’ पूरा गरिसकेका । सबै छोरा र बुहारीहरु समेत जागिरे रहेको अवस्था भएकाले साह्रै सफल जीवन बनाउनु भएका आमाबाबाको उदाहरण हो यो पुस्तक भन्ने लाग्दछ । यसबाट सबै बाबाआमाहरुलाई प्रेरणा र हौसला मिल्दछ ।

लेखकले यो मेरो पहिलो प्रयास हो भनेर आफ्नो हीरक जन्मोत्सवको समयमा प्रकाशन गर्नु भएको यस पुस्तकले नेपाली साहित्यको भण्डारमा एउटा ईंटा थप्ने कार्य गरेर योदान पुर्याएको छ । कोही पनि मानिसलाई केही न केही लेख्नु पर्दछ भन्ने प्रेरणा र हौसला समेत प्रदान गरेको लाग्दछ । लेखकको यस पुस्तकले एक्काइसौं शताब्दीको प्रारम्भदेखि हालसम्मको नेपाली समाजको शैक्षिक विकासक्रमको चित्रण गर्नमा मद्दत गरेको छ । यस पुस्तकले वैदेशिक यात्राको तयारीका सन्दर्भमा तयार गरिनुपर्ने कागजात तथा बाटामा अपनाउनुपर्ने सतर्कता बारे पनि सबैलाई जानकारी दिलाएको देखिएकाले पुस्तक सबैका लागि पठनीय र लाभदायक रहेको छ । लेखकको लेखनी निरन्तर अगाडि बढिरहोस्, आगामी दिनमा यस्तै चाखलाग्दा अन्य कृतिको लागि शुभकामना राख्दै विश्राम लिन्छु ।

पुस्तकः ‘मैले टेकेको धरती’
विधाः गैह्र आख्यान प्रबन्ध
लेखकः शोभाकर बराल
प्रकाशकः शोभाकर बराल
संस्करणः पहिलो (२०७९)
पृष्ठः १५२
मूल्यः रु २२५

प्रतिक्रिया