माघ एक गते लाई थारु जाति तथा नेपालको पश्चिम तराई क्षेत्रमा माघी पर्वको रूपमा मनाइन्छ भने सोही दिन लाई नेपालका अन्य सबै जात जाति तथा समुदायले र मगर जातिमा विशेष रूपमा माघे सङ्क्रान्ति पर्वको रूपमा मनाइन्छ। यो एउटा माघी तथा माघे सङ्क्रान्तिको रूपमा नेपालका सबै जात जाति क्षेत्रमा मनाइने साझा पर्व हो। यस दिनलाई मकर सङ्क्रान्ति पनि भनिन्छ। यस दिनमा नेपालका पवित्र नदिहरु तथा भारतमा गङ्गा स्नानको विशेष महत्त्व रहेको छ। यस दिनमा घ्यू, चाकु, तिलको लड्डु, तरुल, मास र चामल मिसाएर बनाइएको खिचडी खाने परम्परा छ थारु जातीमा भने आफ्नै किसिमको परम्परागत खानेकुराहरू खाने गरिन्छ।
कुनै समयमा थारु जातिको विशेष बसोबास रहेको दाङ जिल्ला तथा अन्य केही जिल्लामा मात्र माघीलाई विशेष पर्वको रूपमा मनाइन्थ्यो भने अहिले बसाई सराई तथा सबैका संस्कृति र परम्परालाई एक आपसमा घुलमिल भएको र यसको महत्व समेत बढेकोले अरू अरू जिल्लामा पनि यो पर्व मनाउने परम्परा बढ्दै गएको देखिन्छ। अहिले नेपाल भर मात्र होइन विदेश तिर पनि एउटा उत्सवको रूपमा मनाइने गरेको छ। यो दिनलाई थारु जातिले आफ्नो सबैभन्दा ठुलो पर्वका साथै नयाँ वर्षको रूपमा पनि मनाउने गर्दछन्। उनीहरूले यस दिनमा वार्षिक आय व्ययको हिसाब गर्ने, नयाँ नयाँ व्यापार व्यवसाय तथा ठेक्का पट्टाको निर्णय गर्ने वा शुभ आरम्भ गर्ने, आफ्नो समुदायको नेता चुन्ने, गुरु पुरोहित बनाउने, मिठो मिठो परिकारहरु बनाएर खुवाउने आदि गर्ने गरिन्छ। अरू जातीहरूले भने सङ्क्रान्तिको रूपमा आआफ्नो परम्परा अनुसार खाने पिउने रमाउने, मठ मन्दिर गएर मनाउने गर्छन्। यस दिनमा नेपालमा धेरै स्थानमा मेलाहरू समेत लाग्ने गर्दछन्। आफू पनि त्यही क्षेत्रमा जन्मेको हुर्केको हुँदा यो पर्वलाई विशेष महत्वका साथ हेर्ने गर्छु। थारु संस्कृति कला र परम्परा देखेको र त्यसमा भिजेकोले थारु कला संस्कृति, भाषा र परम्पराहरू मन पर्ने र थारु भाषाका गीत सङ्गीत, लय, नाच राम्रो लाग्ने गर्दछ। आफू सानो हुँदा सोही समुदायकै साथी भाइ रहेको र उनीहरू सँग खेलेको, माछा मार्न गएको, माघीमा खाइने विशेष परिकार ढिकरी खाएको हुँदाका ती दिनहरू स्मरण गर्दा रमाइलो अनुभूति हुने गर्छl
यथार्थमा चाड पर्व बारे मैले बुझेको तत्थ्य के हो भने चाड पर्व भनेको आ-आफ्नो धर्म संस्कृति अनुसार निश्चित दिनमा मनाइने उत्सव हो भने त्यसका विधिहरू तौर तरिकाहरू परम्परा हुन र त्यस्ता पर्वहरू प्रति गरिने विश्वासहरू मान्यता हुन । हाम्रा हरेक पर्वहरू धर्म संस्कृति सँग जोडिए पनि विभिन्न स्थान, जात जाति भाषा भाषीहरू बिच मनाउने तौर तरिका विशेष महत्वका हुन सक्छन् भने मान्यताहरू फरक फरक हुन सक्छन्। हामीले दशैलाई हिन्दूहरुको महान् पर्व भनेर मनाउँछौ तर विश्वमा सबै भन्दा बढी हिन्दुहरूको जनसङ्ख्या रहेको भारतमा केहि स्थानमा दुर्गा पूजा तथा दसहराको रूपमा मनाएता पनि पुरा भारतमा दशैलाई खासै महत्त्व दिइँदैन सामान्य रूपमा मनाइन्छ। त्यसै गरी तिहारमा हामीले काग पूजा देखि, कुकुर पूजा, गाई पूजा (लक्ष्मीपूजा), गोवर्द्धन पूजा, भाइटिका गरी यमपञ्चक भर पूजा आजा गरेर मनाउँछौ भने लक्ष्मी पूजामा घरहरू सजाएर झिलिमिली बनाउँछौ। हामीले तिहारमा भाइ टीकाको दिनलाई बढी महत्वका साथ भाइ टिकाको रूपमा मनाउ छौ तर भारतमा भाइ टिकाको खासै महत्त्व देखिँदैन लक्ष्मीपूजालाई दिवालिको रूपमा राष्ट्रकै सबै भन्दा ठुलो पर्वको रूपमा मनाइन्छ। उनीहरूले हाम्रो जनै पूर्णिमा तथा रक्षा बन्धनको दिनमा भाइ बहिनी बिच रक्षा बन्धन (राखी) बानेर विशेष पर्वको रूपमा मनाउँछन्। त्यसै गरी होली पर्व भारतमा महत्त्वपूर्ण पर्व मानिन्छ हाम्रो दसै जस्तो मान्यजनहरूको घरमा जाने आशीर्वाद लिने गरिन्छ। खाने पिने एक आपसमा रमाउने गरिन्छ तर यो पर्व नेपालको पहाडी क्षेत्रमा खासै महत्त्व दिइँदैन। सहरी क्षेत्रहरूमा रङ खेल्ने रमाइलो पर्वको रूपमा मनाइन्छ भने तराई क्षेत्रमा यसको महत्त्व अलि बढी देखिन्छ। त्यसै गरी छठ पर्व पनि हिन्दुहरूको पर्व हो यो पर्व नेपालको पूर्वी तराई क्षेत्रमा धूम धामका साथ उत्सवको रूपमा मनाइन्छ भने पश्चिम क्षेत्रमा खासै महत्त्व दिएको देखिँदैन।
चाड पर्व परम्पराहरू को सम्बन्ध विशेष गरी त्यहाँको समाज वा भूगोल सँग हुन्छ यदि हामी अमेरिका छौ भने यहाँको चाड पर्वहरू सँग पनि हामी परिचित हुन्छौ। धार्मिक रूपमा नभए पनि रमाइलो उत्सवको रूपमा हामी उनीहरूको पर्वमा पनि रमाउने गर्छौ। नेपालमा पनि एउटा क्षेत्रमा बाहुल्य रहेको समुदायले जुन चाड पर्वहरू मनाउँछन् अरूले पनि त्यो पर्व प्रति अपनत्व बढाउँदै जान्छन् रमाउँदै जान्छन्। यो एउटा मानव संस्कृति, सभ्यता तथा परम्पराहरूको विकास को स्वरूप हो। अरूको दुखमा पनि दुखी हुने अरूको खुसीमा खुसी हुने गर्दा हाम्रो धर्म संस्कृति परम्पराहरू हराउँदैनन् झनै प्रवर्द्धन हुँदै जान्छन्। अहिले यहाँ अमेरिकामा रहेका थारु समुदाय तथा मगर समुदायले माघी तथा माघे सङ्क्रान्ति पर्वको रूपमा ठाउँ ठाउँमा मनाएको/मनाउँदै गरेको खबर सुनिन्छ। त्यसमा नेपालका सबै समुदाय तथा क्षेत्रका मानिसहरूको उपस्थिति रहेको हुन्छ अझै अरू देशका आफ्ना साथी भाइहरू पनि सहभागी हुने गर्छन्। त्यसमा सबै रमाउने गरेको देखिन्छ।
चाड पर्वहरू हाम्रा गहना पनि हुन जसले हाम्रो समाजको रूपलाई अझै सुन्दर बनाउन मद्दत गर्दछ भने संस्कारलाई बलियो र कसिलो बनाउँछ र यो भाइचारा र सम्बन्ध स्थापित गर्ने र बढाउने माध्यम पनि हो। यस भित्र रहेका परम्पराहरूको हाम्रो वैज्ञानिक मान्यता पनि रहेको हुन्छ। माघे सङ्क्रान्तिको दिन मध्य जाडोमा पर्ने हुँदा यस दिन बिहान नुहाएर शरीर शुद्ध गरी घिउ, चाकु, तिल, तरुल तथा खिचडी खानाले शरीरमा गर्मीका मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको घ्यू तेल शरीरमा भित्र जाँदा चिसोबाट मुक्त भई शरीरका छाला सम्बन्धी तथा अन्य रोगहरू नाश हुने विश्वास गरिन्छ। जे होस हाम्रा चाड पर्वहरूलाई तड्किलो, भड्किलो, एकात्मक सोच बाट होइन परम्परागत मान्यताका आधारमा समाजलाई जोड्न सक्ने सबै धर्म संस्कृतिको सम्मान गर्न सक्ने एउटा सभ्य समाजको विकास गर्ने संस्कारको रूपमा विकास गर्नु पर्छ।
बिनोद पोखेल
तुलसीपुर १८, विजोरी दाङ
हालः ह्युस्टन, टेक्सास अमेरिका।
जनवरी १३, २०२३
प्रतिक्रिया