कुरा आजभन्दा २० बर्ष अगाडीको हो । छोरा चार बर्षको थियो। आफ्नै हातले खाना खान सिक्दै थियो। दाल, भात, तरकारी थालमा हालेर खान दिंए। सानो कलिलो हातले बिच्चको भात टिपेर खायो ।मैले “कस्तो तिमीले त राजा पृथ्वी नारायण शाहले जस्तो” गरेर खायौ । तेसरी खाने हैन त बिस्तारै छेउ छेउबाट मुछेर खानु पर्छ भने । अनि उसले को हो राजा पृथ्वी नारायण शाह भनेको ? किन तेसो भनेको भन्न थाल्यो । मैले तिमी खाना खाईसक अनि कथा भन्छु भनें ।
हामी राजाले शासन गर्दा जन्मे, हुर्केका र स्कुले शिक्षा प्राप्त गरेका पुस्ताले राजाहरूको बारेमा स्कुलको ईतिहास लगायत अरू किताबमा पढ्यौं। अहिले विदेशमा बस्छु । पढाउॅंछन् वा पढाउन्न थाहा भएन । तर सबै देशको आ आफ्नै ईतिहास हुन्छ। र नॅंया पुस्ताले जे जस्तो सुकै भएपनि आफ्नोदेशको ईतिहासको बारेमा जान्न पाउनु पर्छ ।
नेपालमा २०४६ साल पछि प्रजातंन्त्र आएपछि त के भो के भो जनमानसमा जे गरेपनि र जे लेखे पनि, बोले पनि हुने भएको छ । अझ एकथरीलाई त शाहबंशी राजा र राजतंन्त्रलाई गाली नगरि खाएको पनि नपच्ने र गाली गरेर नलेखि रातमा निन्द्रै नलाग्ने भए जस्तो देखिन्छ । खासमा ईतिहास हेर्ने हो भने तिनीहरूले लेखे, भने जस्तो राजाहरू खराब नै थिएनन् । खैर यी त भए जस्तो बुद्धी, उस्तो बिचार !
अब कथाको कुरा गर्दा , याद भएसम्म आठ कक्षाको ईतिहास बिषयमा , राजा पृथ्वी नारायण शाहकोबारेमा पढ्दा एउटा प्रसंग “ बुढी आमाको सन्देश “ यस्तै केही थियो । गोर्खाबाट बिभिन्न ससानाराज्यलाई युद्धमा जित्दै राजा पृथ्वी नारायण शाह दलबल सहित पूर्व लाग्दै थिए ।
उनी केही सैनिक लिएर परिस्थिति बुझ्न वरीपरीको गाउॅंतिर निक्लिंदा रात परेर एक बुढी आमाको घरमा बास बस्न पुगेछन् । सुरक्षाको कारणले “ उनी को हुन “ परिचय पनि लुकाएछन्। बुढीआमाले घरमा रहेको मकै भुटेर खान दिईछन् । राजाले बिचबाट मकै निकालेर खान लागेको देखेर उनले “ बाबु तिमी त राजा पृथ्वी नारायण शाह जस्तो रहेछौ, एक्कै पटक बिचबाट खान थाल्यौ। जसरी उनी काठमाडौं उपत्यकालाई जित्न सिधैत्यहा आक्रमण गर्न खोज्दैछन । तेसरी त जित्न सकिन्ननी ।काठमाडौंलाई जित्न त पहिले वरीपरी डांडाको राज्य जित्नु पर्छ” ओहो, बुढी आमाको कुरा सुनेर बल्लराजाको आंखा खुलेछ । हो यही कथा मैले चार बर्षको छोरोलाई सुनाएं। उ पनि खुशी भयो ।
प्रत्येक दिन राती सुत्नेबेलामा बिभिन्न कथा आदी सुनाउॅंदा नेपालको ईतिहास (हिस्ट्री) र राजाहरूकोकथा भन्नु न भन्थ्यो । उसलाई नेपाल देश बनाउने राजा पृथ्वी नारायण शाह हुन भन्ने राम्रो सॅंग थाहा छ। अझ उसले “ राज दरबार हत्या काण्ड “ भएपछि काठमाडौं शोकमा डुबेको र नेपालमा सन्नाटा छाएको समेत देखेकोछ । अहिले त ठुलो भयो । विदेश बसे पनि उसलाई ती मैले भनेका सबै जसो कथा याद छ । कथा मात्र हैन । प्रत्येक पटक नेपाल जांदा काठमाडौं लगायत, भक्तपुर, पाटन, गोरखा, आदी बिभिन्न ऐतिहासिक दरबार, म्युजियम आदी देखाई दिएर नेपालको ईतिहास चिनाई दिंए। उआफु नेपाली हो भन्नमा गौरव मान्छ ।
यही अमेरिकामा पनि उ सानो हुंदा, छुट्टीको समयमा अमेरिकाको राजधानी वासिंगटन डिसीमा रहेको बिभिन्न म्युजियम लगिदिएर अमेरिकाको ईतिहास पनि बुझ्ने मौका मिलाई दिंए।
हो, घरमा ससाना बालबालिकाहरू छन् भने समय मिलाएर ईतिहासको बारेमा बताईदिनु । म्युजियम रबिभिन्न दरबारहरू घुमाईदिनु । रमाईलो पनि मान्छन् र ठुलो भएपछि तपाईंलाई धन्यवाद पनि भन्छन्। बच्चाहरूले जति सिक्ने हो सानो हुंदा, बाल्यकालमा नै हो ।
अन्त्यमा, ३०१ औं पृथ्वी जयंन्ती तथा राष्ट्रिय एकता दिवसको सबैलाई शुभकामना ! हाम्रोईतिहासलाई गौरव गरौं!
-शशी के.सी
लेखिका
प्रतिक्रिया