बिनोद पोखरेल। चाड, पर्व र परम्पराहरू हाम्रो धर्म संस्कृतिका ऐना हुन भने हाम्रो धर्म, संस्कृति तथा संस्कारहरू राष्ट्रका गहना हुन् जुन नलगाउँदा पनि हुन्छ तर लगाउँदा झन् सुन्दर देखिन्छन् र यी राष्ट्रका पहिचान पनि हुन जसलाई नमान्दा पनि हुन्छ तर मान्दा हार्दिकता र सद्भावता झनै बढ्छ, राष्ट्रियताको भावना झनै कसिलो बन्छ। हरेक देशले आफ्ना चाड पर्वहरू मान्ने गर्दछन् यस्ता चाड पर्वहरू कतिपय धार्मिक मान्यताका आधारमा मनाइन्छन् भने कतिपय परम्परागत मान्यताको आधारमा मनाइन्छन्। यस्ता चाडपर्वहरू मनाउनु मा कुनै न कुनै मान्यता रहेकै हुन्छ। तर अहिलेका दिनहरूमा धेरैले यस्ता चाड पर्व तथा परम्पराहरूलाई धार्मिक वा सांस्कृतिक मान्यताका आधारमा भन्दा परम्परागत रूपमा खाने, पिने रमाइलोको लागी मात्र मनाउने गरिएको देखिन्छ। कतिपय चाड पर्वहरू परम्परागत संस्कृति बचाउने नाममा खर्चिलो, भड्किलो पनि हुँदै गएका छन्। कतिलाई यस्ता चाडपर्वहरू मनाउन पनि गाह्रो पर्ने अवस्था भैसकेको छ। यसैले यस्ता चाड पर्वहरू देखा शिखी तथा प्रतिस्पर्धा भन्दा परम्पराको निरन्तरता तथा हाम्रो संस्कार र संस्कृतिलाई बचाई राख्न मनाउनु पर्ने देखिन्छ।
भर्खरै हामीले देख्यौ विश्वमा धेरै देशले २५ डिसेम्बर लाई “क्रिसमस डे” भनेर धूम धाम सँग मनाए यस वर्ष उक्त दिन आइतबार परेकोले सोमबार पनि बिदा पाए शनिवार देखि सोमवार सम्म बिदा भएकोले लामो सप्ताहान्त भयो धेरै घुम्न रमाउन पाए अब छिट्टै नयाँ वर्ष २०२३ आउँदै छ त्यसमा पनि ३ दिन्न छुट्टी हुने हुँदा अझै धेरै दिन रमाउन पाउने छन्। विशेष गरी किश्चियन बाहुल्य भएको देशमा हाम्रो दसैँ जस्तै राष्ट्रकै महत्त्वपूर्ण पर्वको रूपमा मनाउने गर्दछन्।क्रिसमस दिन देखि नयाँ वर्ष सम्म बिचमा केही दिन अफिसहरू खुले पनि महत्त्वपूर्ण विशेष कामहरू गर्ने गरिँदैन पुरा हप्ता भरि नै बिदा जस्तो कार्यालय सुनसान हुन्छन्। प्रायः सबै जना बिदा मनाउन देश विदेशका पर्यटकिय स्थलहरु, धार्मिक स्थलहरु घुम्ने गर्दछन् सबै परिवारहरू एक ठाउँमा जम्मा भएर रमाइलो गर्ने गर्दछन्। किनमेल, सपिङ, व्यापार, व्यवसाय तिर यो महिनामा मात्रै वार्षिक २५ देखी ३० प्रतिशत व्यापार हुने अनुमान गरिन्छ। सजावटमा मात्रै लाखौ खर्च गर्ने गर्दछन।
एउटा तथ्याङ्कलाई अध्ययन गर्दा विश्वको जन सङ्ख्या को एक तिहाइ करिब साढे २ अरब जनसङ्ख्या किश्चियन धर्मावलम्बी रहेका छन् भने विश्वका करिव २०० देश मद्दे १६० देशका मानिसहरू विश्वको जनसङ्ख्याको ४५% अर्थात् साढे ३ अरब मान्छेले क्रिसमस पर्वलाई हर्ष उल्लासमा साथ मनाउने गर्दछन्। आधिकारिक रूपमा चाइना तथा मुस्लिम देशहरूले क्रिसमसलाई त्यति महत्त्व दिएको नदेखिएता पनि त्यहाँका प्रमुख सहरहरुमा रमाइलो तथा आकर्षणका लागी क्रिसमस मनाउने गर्दछन्। अझै पनि दक्षिण पूर्वी युरोपका बाल्कन प्रायद्विपहरुका कट्टरपन्थी किश्चियन तथा अफ्रिकन किश्चियनहरु गरी करिब ३० करोड जनसङ्ख्याले जनवरी ७ लाई क्रिसमस डे मनाउने गर्दछन् जसको मुख्य कारण जुलियन र ग्रेगेरियन गरी दुई फरक क्यालेन्डरको प्रयोगले हो जसको अन्तर १३ दिनको रहेकोले फरक क्यालेन्डर स्वीकार गर्दा यस्तो हुन गएको भनिएको छ। भारतमा २.३० % अर्थात् ३ करोड भन्दा थोरै बढी किश्चियन धर्मावलम्बी रहेता पनि करिब १० करोड भन्दा बढी जन सङ्ख्याले क्रिसमस मनाउने गर्दछन् भने नेपालमा १.४ % अर्थात् ४ लाखको हाराहारीमा किश्चियन धर्मावलम्बी भएता पनि करिब १० लाख भन्दा बढीले क्रिसमस मनाउने गर्दछन्। किश्चियन बाहुल्य देशहरूमा विशेष पर्वको रूपमा क्रिसमस डे मनाइएता पनि विश्वका हरेक व्यापारिक तथा पर्यटकीय सहरहरुमा क्रिसमसको दिनलाई वढी महत्त्व दिएको देखिन्छ। नेपालमा पनि केही वर्ष यता यसको प्रभाव बढ्दो देखिन्छ। नेपाल सरकारले समेत यस दिनलाई किश्चियन घर्मावलम्वीहरुको महत्त्वपूर्ण पर्वको रूपमा सार्वजनिक बिदा घोषणा गर्ने गरेको छ।
किश्चियनहरुले मनाउने “क्रिसमस डे” पनि एउटा धार्मिक पर्व हो। जसरी हाम्रा शास्त्रहरू भगवान् विष्णुले आफ्ना अनुयायीहरूको रक्षा गर्न एउटा साधारण परिवारको घरमा पिता वासुदेव र माता देवकीको कोख बाट श्रीकृष्णको रूप धारण गरेर जन्म लिनु भयो त्यसै गरी तत्कालीन शासकहरूको अन्याय अत्याचारको विरुद्ध येशू ख्रिस्टको रूपमा आमा मेरी र बुबा जोसेफको (पछि बुवा बन्नु भएका) कोख बाट जिजस क्राइस्टले जन्म लिएका थिए भन्ने भनाई रहेको छ। उनलाई भगवानको छोराको रूपमा व्याख्या गरिन्छ।उनको जन्मको अवस्था परिस्थिति अध्ययन गर्ने हो भने हाम्रा श्रीकृष्ण भगवानको घटना सँग मिल्दोजुल्दो देखिन्छ। क्रिसमस डे भनेर पहिलो पटक २५ डिसेम्बरका दिन रोममा सूर्योदयको जन्मदिनको रूपमा मनाइएको थियो। यसको इतिहास शताब्दीयौं पुरानो मानिन्छ। त्यस समयमा रोमका सूर्यवंशीहरूको निकै प्रभाव थियो त्यहाँका सम्राट्हरूले सूर्य देवतालाई आफ्नो मुख्य देवताको रूपमा मानेर उनलाई पूजा गर्ने गर्थे। सन् ३३० तिर रोममा क्रिस्चयन धर्मको प्रचार प्रसार तीव्र गतिमा बढ्न थाल्यो त्यहाँ ठुलो सङ्ख्यामा मानिसहरूले क्रिस्चियन धर्म प्रति विश्वास गर्न थाले तत्पश्चात् इस्वी संवत् ३३६ मा आई पुग्दा उनका अनुयायीहरूले येशू ख्रिस्टलाई सूर्य भगवानको अवतारको रूपमा नै मान्न थाले र पछि डिसेम्बर २५ को दिनलाई उनै येशू ख्रिस्टको जन्म जयन्तीको रूपमा क्रिसमस पर्व मनाउन थालेको हो भन्ने कुरा उनका धर्न ग्रन्थहरूमा लेखिएको पाइन्छ।
सत्यको पथमा लड्दै गर्दा येशू ख्रिस्टको मृत्यु भएकोले उनका अनुयायीहरूले यो दिनलाई असत्य माथि सत्यको विजयको रूपमा मनाउने गर्छन्। र यस दिनमा क्रिसमसको रुखलाई सजाएर हाम्रो लक्ष्मीपूजा जस्तो घर आगन वरपर झिलिमिली पार्ने गरिन्छ।यस दिनमा भगवान् ख्रिस्टले शान्ता क्लजको (एक देवदूत वा येसू का पिता) रूप धारण गरेर स्वर्ग लोक वाट आएर बच्चाहरूलाई उपहार दिएर जान्छन् भन्ने लोक उक्ति समेत रहेको छ।राम्रो संस्कार भएमा ज्ञानी बच्चाहरूलाई मात्र शान्ता क्लजले राती घरमा आएर उपहार दिएर जान्छन् भनेर बच्चाहरूको मस्तिष्क मा एउटा छाप पारिएको हुन्छ र घर परिवारले पनि बच्चाहरूलाई सत्मार्ग मा लगाउन शान्ता क्लजको नाम बाट उपहारहरू दिएर खुसी बनाउने गर्दछन्।
आ आफ्नो धर्म संस्कृतिको रक्षार्थ हरेक धर्म अनुयायीहरू लागी रहेका हुन्छन्। आफ्नो धर्मको विरुद्धमा कुनै भ्रामक कुरा अफवाहहरू सुन्न कोही पनि चाहँदैन यदि उसले आफ्नो धर्मको अनुसरण गरोस् या नगरोस्। हाम्रो जन्म देखि नै मन मस्तिष्कमा धर्म संस्कृतिको गहिरो छाप बसिसकेको हुन्छ। चाहे हामी देशमा रहौँ या परदेशमा, चाहे रोममा बसौँ या साउदीमा हामी हाम्रो मस्तिष्कमा परेको आफ्नो धर्मको छाप मेटन सक्दैनौ तथापि परिस्थिति वा अरू कुनै कारणले धर्म परिवर्तन गर्ने मान्छेहरू नभएका भने होइनन्। चाहे कुनै धर्म सँग जोडिएको धार्मिक राज्य किन नहोस् आफ्नो धर्म संस्कृतिको पालना गर्दै गर्दा अरूको धर्म संस्कृतिको सम्मान गर्नु पनि मानव धर्म भित्रै पर्दछ। अझै भन्ने हो भने बहुसंख्यक धर्म संस्कृतिका पक्षधरहरू भएको ठाउँमा वा राज्यमा अल्प सङ्ख्यक पक्षधरको धर्मको अझै धेरै सम्मान गर्न सक्नु। आआफ्ना धर्म संस्कृतिका आआफ्ना मान्यताहरू हुन्छन् हामीलाई अरूको धर्म संस्कृति अनौठो, नमिल्दो लाग्न सक्छ उनीहरूलाई हाम्रो पनि त्यसै लाग्न सक्छ तर त्यसको बारे नबुझेर आलोचना गर्नु हुँदैन जसरी हामीलाई चोट लाग्छ त्यसै गरी अरू लाई पनि चोट लाग्न सक्छ।
धर्म, संस्कृति मात्र होइन आफ्नो भाषा र जात जाती बिच आलोचना वा अवहेलना मान्छेले सहन सक्दैन र यिनीहरू बिच सहिष्णुता नै कुनै पनि सभ्य समाजको पहिचान हो। हामीले तिहारको लक्ष्मी पूजामा घरलाई सिँगारेर झिलिमिली पारेका हुन्छौ लक्ष्मीको पूजा गर्छौ हामीलाई कति आनन्द लागी रहेको हुन्छ त्यसै गरी किश्चियनहरुले क्रिसमसमा घर आगन झिलिमिली परेका हुन्छन् सहरका ठाउँ ठाउँमा ठुला ठुला क्रिसमस ट्रि सजाएर हेर्ने मान्छेको भिड लागेको हुन्छ। उनीहरू क्या आनन्द ले रमाई रहेका हुन्छन्।अहिले विश्वका विभिन्न व्यापारिक तथा पर्यटकीय स्थानहरूमा व्यापार व्यवसाय तथा पर्यटकको आकर्षण बढाउन क्रिसमस ट्रि सजाएर शान्ता क्लजका तस्बिरहरू समेत राखेको देखिन्छ। यसलाई अन्यथा ठान्नु पनि हुँदैन यो एउटा व्यापार व्यवसाय प्रवर्धनको योजना पनि हो। जसरी विदेशका क्रिश्चियनहरुको बाहुल्य भएको ठाउँमा हाम्रा हिन्दू मन्दिरहरूमा विभिन्न चाडपर्वहरूमा पूजा आजा, सजी सजाऊ, झिलिमिली, भक्तजनहरूको हुईचो देख्दा हामीले गौरब महसुस गर्दछौ अझै अन्य धर्मावलम्बीहरू आई दिएर अझै प्रफुल्ल हुन्छौ त्यसै गरी उनीहरूको चाड पर्वहरूमा पनि हामीले उत्साह थपी दिनु पर्दछ जसले हाम्रो धार्मिक सहिष्णुता झनै बलियो भएर जान्छ। अमेरिकाको राष्ट्रपति भवनमा राष्ट्रपतिले हिन्दुहरूको लक्ष्मी पूजाको दिन दीपावली गर्दा हामी खुसी हुने नेपालमा कुनै क्रिश्चियन धर्मावलम्बीको एउटा कार्यक्रममा कुनै विशिष्ट व्यक्ती पुग्दा सत्त्व श्राप गर्ने काम कहिल्यै गर्नु हुँदैन। त्यसै गरी क्रिश्चियनहरु को देश बेलायतमा त्यहाँका प्रधानमन्त्री हिन्दू भएर आफ्नो निवासमा गाई पुज्दा हामी औधी खुसी हुने नेपालमा एउटा क्रिश्चियन धर्मलाई मान्ने व्यक्ती सरकारको कुनै राजकीय पदमा पुग्यो भने उसको खिल्ली उठाउने काम कहिल्यै गर्नु हुँदैन र शोभनीय पनि होइन। एउटा महत्त्वपूर्ण पक्ष के हो भने ललाई फकाई कुने प्रलोभन दिएर कहीँ कसैले कुनै धर्म परिवर्तन गराउन पाइँदैन यसमा भने सचेत हुनै पर्छ, रोक्नु पनि पर्छ।
यसरी हाम्रो धर्म, संस्कृति तथा चाडपर्वहरू बारे अध्ययन गर्दा सनातन तथा वैदिक कालदेखि वा कुनै एउटा निश्चित कालखण्ड देखिन मान्दै आएका हाम्रा संस्कार, परम्परा, रीतिरिवाज, मान्यताहरू तथा मानव जीवन निर्वाह कालागि मानवीय गुणबाट परिष्कृत पद्दतीहरु नै हाम्रो धर्मको सार तत्त्व हो भने यसको व्यवहारिक निरन्तरता तथा समयसापेक्ष मानवीय हितमा धर्मको रक्षार्थ मनाइने उत्सव पर्व तथा मान्यताहरू हाम्रा संस्कृतिहरू हुन भन्ने बुझिन्छ। धर्म हाम्रो मुटु हो भने रक्त संन्चार हाम्रो संस्कृति हो। धर्मले संस्कृतिलाई चलायमान बनाएको हुन्छ भने संस्कृतिले धर्मलाई जीवन्त राख्नमा मद्दत गरिरहेको हुन्छ।यसै गरी हरेक धर्मावलम्बीहरूको आआफ्ना मान्यता परम्पराहरू हुन्छन् उनीहरूमा धर्म ग्रन्थहरू अध्ययन गर्ने हो भने हाम्रा कतिपय मान्यताहरू सँग मिल्दो जुल्दो हुन्छन्। आखिर भगवान्, ईश्वर, परमात्मा त कसैले देखेको छैन यो एउटा अदृश्य शक्तिप्रति एउटा विश्वास हो, परम्परागत मान्यता हो जुन हामीले मान्दै आएका छौ। सारमा धर्म भनेको मानवीय गुण हो यो कहिले भुल्नु हुँदैन। चाडपर्व, परम्परा र हाम्रो संस्कृति भनेको हाम्रो जीवन यापनका विधिहरू हुन कहिल्यै छोड्नु हुँदैन। धन्यवाद।
बिनोद पोखरेल
तुलसीपुर १८, विजोरी दाङ
हालः ह्युस्टन, टेक्सास अ
प्रतिक्रिया