टुक्का साहित्य समाजकाे आयाेजनामा “छन्दमा टुक्का अभ्यास श्रृङ्खला-३६” सम्पन्न 

इनेप्लिज २०७९ कार्तिक २१ गते १०:१६ मा प्रकाशित

काठमाडौँ,

टुक्का साहित्य समाजकाे आयाेजनामा “छन्दमा टुक्का अभ्यास श्रृङ्खला-३६” सम्पन्न भएकाे छ। छन्द प्रशिक्षक अनिल खग्रासले प्रशिक्षण गर्नु भएकाे उक्त अभ्यासमा नेपाल भारत लगायत विश्वका विभिन्न देशहरूबाट २५ नेपालीभाषी सर्जकहरूकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे सहजिकरण टुक्का साहित्य समाजका अध्यक्ष तथा परिकल्पनाकार ताराप्रसाद चापागाईँले गर्नु भएकाे थियाे ।

विभिन्न छन्दहरू सिकाउँदै छन्दमा टुक्का कविता लेखनकाे विकास गरि नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने उद्धेश्यका साथ छन्दमा टुक्का लेखन अभ्यास श्रृङ्खला सञ्चालन भई रहेकाे छ । यस श्रृङ्खलाका सहभागीहरूले वार्णिक छन्द अन्तर्गत भुजङ्गप्रयात छन्दमा टुक्काहरू सिर्जना गरेका थिए।

कार्यक्रमकाे समापन गर्दै अध्यक्ष चापागाईं तथा प्रशिक्षक खग्रासले प्रयाेगवादी नव काव्यिक उपविधा टुक्का कवितामा छन्दकाे प्रयाेग गर्दै केही मात्रामा भए पनि छन्दमा काव्य सिर्जना गर्न प्रेरित गर्दै नेपाली भाषा साहित्यकाे जगेर्ना गर्ने प्रयास गरिएकाे जानकारी गराउदै उत्साहपूर्वक सहभागी भई भुजङ्गप्रयात छन्दमा सुन्दर टुक्का कविताहरू सिर्जना गर्नुभएका सहभागी सबै टुक्काकारहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।

भुजङ्गप्रयात छन्द
~ १२ अक्षर हुन्छन्।
~ चारवटा य गण हुन्छन्
~ सूत्र – ISS ISS ISS ISS

अभ्यासकाे क्रममा सङ्कलन गरिएका भुजङ्गप्रयात छन्दका केही टुक्का कविताहरू 

[१]
कहाँ के हुने हो? निको छैन चाला,
फुटाएर ताला हिडे आज भाला।

▪️

अनिल खग्रास

[२]
१.
छुपाएर बस्दै छु पीडा मनैमा
म हाँस्दा छ डाहा अहो!त्याे तनैमा ।
२.
ललाटै छ कस्ताे फुलेकाे मुनामा
सजाएर माया बुनेकाे तुनामा ।

▪️

ताराप्रसाद चापागाईं
धुनिबेसी

[३]
उमेरै बढी यो जवानी खुलेको
रमाई म  वारी र पारी डुलेको,

▪️

भुपेन्द्र राना मगर
धादिङ

[४]
१.
दिलैकाे कुनामा थियाे ठाउँ बस्ने,
तिमी नाग रैछ्याै छकाएर डस्ने ।
२.
तिमी घाट बस्दै सबै भाेट पार,
जिती माेज गर्दै लु देशै बिगार ।

▪️

निरज काेइराला
बेलका १ उदयपुर, हालः इटहरी

[५]
१.
मिलाएर खाने उठेका रहेछन्
अझै गर्छु भन्दै सभामा गएछन् ।
२.
म खोज्दैछु नेता सत्रै माझ बेस
जितोस् गर्न सक्ने युवा त्यो विशेष ।

▪️

चूडा निर्भीक
पालुङ्गटार २ गोरखा
हाल परदेशबाट

[६]
१.
म देख्दै छु नेता बितेको कहानी ,
बुढा छौ उठेका , सदाका  जवानी।
२.
सबैले बुझेको , छ नेपाल राम्रो
समस्या  भएको , छ विश्वास हाम्रो ।

▪️

भगवती दवाडी
दमक,झापा

[७]
१.
छ कालो तुवालो सबैको मनैमा,
चल्यो द्वन्द भारी दलाली जनैमा ।
२.
सबै अस्त व्यस्तै गराए छलैले,
लुटे देश सारा लुटेरा खलैले ।

▪️

बिबस पारदर्शी
झापा

[८]
१.
सजाएर राख्यौ दिलैमा उनेर,
सुटुक्कै तिमीले मलाई चुनेर ।
२.
दियौ स्वच्छ माया लगातार हेर,
ति बेला र मौका नफालेर  खेर ।

▪️

वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ

[९]
१.
छ पीडा कसैले दिएको मलाई
र भस्मै छ पार्दै न आगाे सलाई ।
२.
चियाएर हेर्दै धसेकाे छ भाला
कुकर्मी छलीकाे फुटाऊ त गाला ?

▪️

मीरा ज्ञवाली
बुटवल

[१०]
असाध्यै तिमीले त पैसा कमायौ
कता पो हरायौ कुनामा रमायौ ।

▪️

डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा.-६, दोलखा ।

[११]
१.
सुखैमा बिताऊ भनेको नटेरी
कता छौ सहेली हिडेछौ नहेरी ।
२.
म भोग्दैछु सारा तुवाँलो तनैले
सहेरै बसेको अभागी मनैले ।

▪️

प्रेम थापा “मन”
बागलुङ

[१२]
१.
कसोरी अँगाल्ने पिरैको सुगौली,
मनैको धरालो कता पो पुगौली ।
२.
चरीले अह्रायो छिटो नै जमाऊ,
चनाखो सुनौलो यसैमा रमाऊ ।

▪️

जमुना आचार्य
सिन्धुपाल्चोक

[१३]
१.
न मैले कसैको नराम्रो चिताएँ,
सबैको भलोमा रमाई बिताएँ।
२.
सबैले पखेटा फिजाएर आऊ,
खुशीले उडेरै नयाँ गीत गाऊ।

▪️

अरुण कु.भुजेल
गोरूबथान,कालेबुङ्ग,भारत।

[१४]
छ मान्छे पुरानो खरानी घसेको,
जिताऔॅं कसोरी फटाहा गरेको।

▪️

म्यामराज राई
भोजपुर

[१५]
१.
लजाई बसेकी सुशीला पियारी
नबोली सुसाई उता पो निहारी ।
२.
शिकारी चकारी नियाली नियाली
नमार्नु बचेरा लुकेरै सियाली ।

▪️

रचना शर्मा प्रतीक्षा
ललितपुर

[१६]
१.
अगस्ती परेछौ बजेटै चपायौ
अचाक्ली गरेरै भरोसा धपायौ।
२.
नदीको तटैमा बसेथ्यौ टुसुक्कै
बुझेनौ इसारा गरेथेँ खुसुक्कै।

▪️

बाबुराम गौतम
गुल्मी

[१७]
डढेको डढेलो भयो यो तनैमा,
पुरानो झझल्को सँधै नै मनैमा।
२.
छ माया गर्ने लाइ लीला छ धेरै,
मिसाए  हुने हो  प्रकाशै  सबेरै।

▪️

अच्युत घिमिरे
भुटान

[१८]
भईदाे रहेछौं नजाती नराम्रो
न लामो छ छाेटाे त चाेला छ हाम्रो ।

▪️

रामप्रसाद पुरी
बादेल,खाेटाङ ।

[१९]
पर्याै याे सुराकी गरेकाे दिनैमा
लुक्याैकी  तिमीपाे परेको छिनैमा।

▪️

शर्मिला खतिवडा
विर्तामोड ,झापा ।

[२०]
१.
फुलैको म माला लगाउँ गलामा
म हाँस्दै बसेको छु आफ्नो पलामा ।
२.
तिमीले मलाई चिनेका  थिएनौ
अरूले भनेको  मनैमा लिएनौ ।

▪️

बेदु न्यौपाने
काठमाडौ

[२१]
नदेखौं कसैको बिरामी अवस्था,
खुलेरै भनौं है हजारौं शुभेच्छा ।

▪️

त्रिलाेचन भण्डारी
मेचीनगर,झापा

[२२]
१.
रुवाएर जाने छ बानी  नराम्रो
सुधारौ सबैले त मौका छ हाम्रो ।
२.
परेकी फुरुक्कै चमेली छ उस्तै
बनेकी छ ज्ञानी छ बेली दुरुस्तै ।

▪️

तारा घिमिरे
सङ्खुवासभा

[२३]
१.
दशा बन्छ नेता ठगी खान्छ सारा,
उसैको छ नारा इमान्दार पारा।
२.
नबेचौंन भन्दा नमान्ने जलारी,
भए देश बेच्ने दलाली विहारी ।

▪️

होम प्रसाद नेउपाने
धरान,सुनसरी ।

[२४]
१.
म देखी रहेछु बिहानी सुनाैलाे,
गढाऊँ बलिsयो सिमामा म माैलाे।

▪️

मित्र `उराठी´ गाैतम
तिलाेत्तमा न पा-२,रुपन्देही

[२५]
१.
भरोसा अडेनौ नजाती रहेछौ
अठोट गरेको खुशीमा परेछौ ।

▪️

अम्विका अधिकारी
झापा विर्तामोड

जय टुक्का! जय साहित्य!!

प्रतिक्रिया