यतिखेर संसारभर छरिएका नेपाली माझ नेपालीहरूको दोस्रो प्रमुख चाड “तिहार” लागेको छ । के देश, के परदेश सबैलाई चटारो छ ,तिहार मनाउन । सोसल मिडिया खोल्ने हो भने थरीथरीका सेल ,फिनी,अनरस र अरू मिठाई पकाई रहेका फोटो र भिडियो देख्न सकिन्छ । त्यस्तै बजारका मिठाई र फलफुल पसलमा देश होस् वा परदेश किनमेल गर्नेको घुईंचो देखिन्छ। अझ परदेशतिर त हिन्दु धर्ममान्ने सबैले “दिवाली” मान्छन् । अनि दिवालीमा मिठाई एक अर्कामा उपहार स्वरूप दिने चलनले गर्दा त्यता तेझन् घुईंचो हुने नै भयो ।
जब कोही देश छोडेर परदेश लाग्छ उ आफु मात्र परदेश लाग्दैन।
नेपालीहरू अवसरको खोजीमा परदेश लाग्ने त पुरानै चलन हो। तर केही बर्षदेखि परदेश जानेनेपालीहरूको संख्या निक्कै नै बढेकोछ । जब कोही देश छोडेर परदेश लाग्छ उ आफु मात्र परदेश लाग्दैन। उसले आफुसॅंगै आफ्नो धर्म कर्म , रितिरिवाज, कला संस्कृति, भाषा, खानपान ,चाडपर्व आदीसबै नेपाल नै बोकेर हिंडेको हुन्छ ।
दुई दशक अगाडी पढ्न अमेरिकाको आयोबा राज्यको एम्स शहरमा हुँदा त्यॅंहा जम्मा ४-५ नेपाली बिधार्थी परिवार थियौं। दशैंमा खसीको मासु, नजिकैको ठुलो शहरमा बस्नेले ल्याएकाले खानपायौं। त्यस्तै तिहारमा जेनतेन सेल रोटी पकायौं।
त्यस्तै अमेरिकाको पचासै राज्यमा नेपाली बसोबास गरेर बसिरहेका छन् ।
तर अहिले त अनलाईन सपिगंको जमाना छ । चाहिएको सामान अमेजन, साथै बिभिन्न पसलबाट अनलाईन किन्दा घरमा नै आई पुग्छ।त्यस्तै अमेरिकाको पचासै राज्यमा नेपाली बसोबास गरेर बसिरहेका छन् । नेपालीहरूको घना बस्ती भएको शहरमा त नेपालीले नै नेपाली सामान पाउने ग्रोसरीस्टोर, नेपाली खाना पाईने रेष्टुरेन्ट जताततै खोलेका छन् । त्यॅंहा जुम्लाको मार्सी चामल देखि, ईलामको सिलाम सम्म पाईन्छ । गुन्द्रुक, मस्यौरा, तामा, पूजा सामग्री , तिहारमा चाहिने रंगीचंगीटिकादेखि नेपाली टोपी, भाईमसला, मखमली फूलको मालासम्म सजिलै पाईन्छ ।
त्यति मात्र हो र आजकल त नेपालीले तरकारी फार्म देखि पशुपालनसम्म गर्न थालिसके। मज्जाले ताजा तरकारी र ईच्छा अनुसार छानेर खसी, कुखुरा, हांसको ताजा मासु किन्न पाईन्छ।
त्यस्तै आजकल अमेरिकाको बिभिन्न शहरमा बसोबास गर्ने धेरै दिदी बहिनीहरूले आफ्नै घरबाट नेपाली पोशाकको व्यापार गर्नु हुने रहेछ। चाडपर्व र पार्टीमा लगाउने लुगा भने जस्तो छानी छानी किन्न पाईन्छ । सबै यतै पाईने हुनाले नेपालबाट हत्ते गरेर ल्याई रहन जरूरी पनि छैन ।
चाडपर्व जति भव्य तरीकाले नेपालमा मनाईन्छ ।त्यसरी नै आजकल परदेशमा पनि मनाउने चलन शुरूभएकोछ। पहिले दशैं, तिहारमात्र मनाउने चलन थियो । आजकल त लोत्सार, ईन्द्रजात्रा, छठ, तिज, बुद्ध पूर्णिमा, ईद, क्रिसमस लगायत अरू आआफ्नो समुदायले मान्ने सबै चाडपर्व नेपालीले मनाउनेगर्छन्।
दशैंले एक आपसमा रिसराग त्यागेर भाईचारा बढाउने संन्देश दिन्छ ।
मेरो आफ्नो अनुभवमा चाहीं अरू चाड भन्दा पनि दशैं र तिहार चाहीं परदेशका नेपालीले नेपालकोप्रमुख चाडकोरूपमा प्राय: सबैले धेरै समयदेखि मनाएको देख्छु। खासमा हो नै पनि ! दशैको छुट्टीमा मान्यजनको हातबाट टिका लगाएर आशिर्वाद लिन घरबाट टाढा गएकाहरू घर फर्कन्छन् । दशैंले एक आपसमा रिसराग त्यागेर भाईचारा बढाउने संन्देश दिन्छ । परिवारका सबैसॅंगै बसेर मिठो मिठो परिकार खांदा आत्मियता दीर्घकालसम्म रहन्छ भनिन्छ । त्यहि नै त खास हाम्रो नेपालीपन हो नी हैन र? र ,तिहारमा चाहीं धनकी देवी लक्ष्मीको पूजाआजा घर घरमा दियो आदी बालेर उज्यालो पारेर गर्ने गरीन्छ ।
साथै मानिसको बफादार साथी कुकुरको पूजा गर्ने र दाजुभाई, दिदीबहिनीले एक आपसमा टिका लगाई आपसी सदभाव, संम्बन्ध र माया बांड्ने गरिन्छ। कति राम्रो हैन र ?
तर केही बर्षदेखि खै कस्को के के स्वार्थले हो दशैं, तिहार बहिष्कार गर्ने चलन शुरू भएको छ । अरूबेला मासु मस्त खान्छन् । दशैंको बेला पशु हत्या पाप हो भन्दै नारा लगाउॅंदै निक्लन्छन् । पशुको रक्षा गर्नेले अरूबेला नखाए हुन्न ? दशैं एकआपसमा टिका लगाएर सदभाव बांड्ने बेला हो । त्यो कसरी बाहुन, क्षेत्रीको मात्र भयो त ? खै यिनीहरूलाई चाहीं “ तिमीहरूको लुकेको एजेन्डा तिमीहरूसॅंग नै राख ! मिलेर बसेका नेपाली समाजलाई भांड्ने कोशिश नगर” भन्न मन लाग्छ !
चाडपर्व मात्र हैन । नेपाली भाषा , नेपाली भेषभुषा, संस्कार, नाचगान, नेपाली खानाहरू र मौलिक नेपालीपन झल्काउने जे जति सकिन्छ परदेशमा जन्मेका, हुर्केका नॅंया पुस्तालाई सिकाउन पुराना पुस्ता निक्कै लागि परेकाछन् । नेपाली पाठशाला खोलेर केटाकेटीलाई नेपाली भाषा लेख्न, बोल्नसिकाईंदैछ । नेपाली नृत्य सिकाउने स्कुल पनि खुलेको छ । अझ स्कुल, कलेजमा “नेपाल डे” मनाएर, नेपाली भेषभुषा लगाएर, नेपाली गीत संगीतमा नाचेर, नेपाल संम्बन्धि पोष्टर प्रदर्शन गरेर , नेपालीखाना बनाएर अरू समुदायलाई पनि “नेपाल” चिनाउन पछि परेका छैनन् नेपाली परदेशमा !
त्यस्तै भगवान त एकै हुन् चाहे भारतियले खोलेको मंन्दिरमा भएपनि । तर नेपाली समुदाय बढेसॅंगैआफ्नै नेपाली मंन्दिर र सांस्कृतिक भवन भए सजिलो हुन्छ भन्ने सोचेर नॅंया बनाउन नेपालीहरू एकजुटभएर लागि परेकाछन् । प्रत्येक बर्ष तिहारमा देउसीभैलो खेलेर सहयोग जुटाउने देखि सप्ताह लगाएर पनि अर्थ संकलन गर्ने गरिएको छ । अहिले म रहेको भर्जिनिया वरीपरी बाल्टिमोर, जर्मनटाउन र मनासस तिन ठाउॅंमा नेपाली समुदायले संचालन गरेको मंन्दिर पुर्ण र बन्दै गरेको अवस्थामा छन् ।
परदेशमा नेपालीमुल बाहेक अरू समुदायसॅंग नेपालीको विवाह हुंदासम्म “नेपाली विवाह” भन्दैनेपाली तरीकाले विवाह गर्ने चलन छ । त्यस्तै न्वारन, पास्नी, गुन्युचोलो र ब्रतबन्ध आदी जतिसक्दोनेपाली तरीकाले नै मनाईने गरीन्छ । बसाई पो परदेशमा त तर नेपालीले नेपालीपन छोडेका छैनन् ।
अन्त्यमा, जबसम्म मातृभूमी र जन्मभूमी नेपाल भएका नेपालीहरू परदेशमा बांचिरहन्छन् । तब सम्म परदेशमा “ हाम्रो सानो नेपाल” सकुशल रहनेछ।
शशी केसी
लेखिका
प्रतिक्रिया