इनेपलिज सम्वाददाता । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रस्टी (बिओटी) को नयाँ कार्यसमितिको निर्वाचन २०२२ का लागि बिओटी कार्यसमितिको हिजो अक्टोबर १३ मा बसेको पूर्ण बैठकले अनेसास ट्रस्टी भीम कार्कीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।
अनेसासको विधान (सातौँ संशोधन), २०२१ को धारा ९ को उपधारा ७ (२) अनुसार गठित सो निर्वाचन समितिमा ट्रस्टीहरु डा चुडामणि खनाल, भीम रेग्मी तथा आजीवन सदस्यहरु वेदराज बस्नेत र कृष्ण गिरी रहनुभएको छ ।
निर्वाचन समिति निर्वाचनको दिनभन्दा कम्तीमा ६० दिनअघि गठन हुनुपर्ने वैधानिक प्रावधानअनुसार गठन भई सो समितिले बिओटी कार्यसमितिसँग समन्वय गरी विधानअनुसार निर्वाचनको सम्पूर्ण कार्यतालिका प्रकाशन गर्नुका साथै समयभित्र निर्वाचन सम्पन्न गरी डिसेम्बर १५ भित्रमा नयाँ कार्यसमितिका निर्वाचित पदाधिकारीहरुको नामावली सार्वजनिक गरि सक्नु पर्नेछ ।
अनेसासको विधानअनुसार बिओटीमा अध्यक्ष सहित दुई उपाध्यक्ष (एकजना अनेसास प्रतिष्ठानका संयोजक तथा एकजना पुरस्कार समितिका संयोजक रहने गरी), एक महासचिव, एक सचिव, एक कोषाध्यक्ष तथा कम्तीमा एकजना महिलासहित दुई सदस्य गरी कूल ९ जनाको समिति रहने व्यवस्था छ ।
बिओटीका पदाधिकारीका लागि यस पटकको निर्वाचनमा अमेरिका, नेपाल, जापान, युरोप, अस्टेलिया लगायतका स्थानमा रहेका १२० जना ट्रस्टीहरुले मतदान गर्नेछन् । बिओटीको निर्वाचनको मिति र निर्वाचनको पूर्ण कार्यतालिका निर्वाचन समितिले गठन भएको एक महिनाभित्रमा प्रकाशित गर्ने व्यवस्था रहेको छ ।
प्रतिक्रिया