विराटनगर, १७ साउन(रासस): ‘ प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’ आज सर्वसम्मतले पारित भएको छ ।
प्रदेश नं १ को प्रदेश सभा नियमावली, २०७४ (संशोधन समेत)को नियम १०८ बमोजिम यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले सो प्रस्ताव सदनमा पेश गर्नुभएको थियो ।
प्रदेश सभाको बैठकमा शून्य समय तथा विशेष समयमा सडक तथा पूर्वाधार तथा सहरी विकास मन्त्रालयको विषयमा उठेको प्रश्न तथा जिज्ञासाका बारेमा मन्त्री हिमाल कार्कीले जवाफ दिनुभयो ।
उहाँले प्रदेशमा धेरै सडकहरु सङ्घीय सरकारको मातहतमा रहेको जानकारी दिँदै सङ्घीय सरकारको योजना एवं बजेटबाट बनिरहेका यस्ता सडक बाटो गुणस्तरमा विशेष ध्यान दिने बताउनुभयो । उहाँले सदनमा सदस्यहरुले उठाएको प्रश्न र जिज्ञासालाई सकारात्मक रुपमा लिएको धारण राख्दै प्रदेश सरकारले प्रदेशमा धेरै पुल, सडक, कवड हल, झोलुङ्गे पुलमा बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।
प्रदेश नं १ को प्रदेश सभा नियमावली, २०७४ को (संशोधन समेत)को नियम ९३ बमोजिम‘ प्रदेश प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’ माथिको सैद्धान्तिक छलफल समाप्त भएको छ । यसअघि प्रदेश सभा सदस्य पदमकुमारी गुरुङ र सीतादेवी थेवे जवेगुले यो विधेकयले प्रदेशको भाषा, कला र संस्कृतिको विकासमा मद्दत गर्ने धारणा राख्नुभएको थियो ।
छलफलमा उठेको विषयमा पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वा लिम्बूले विधेयकले प्रदेशमा रहेका जातजाति, भाषा, कला, संस्कृतिको जगेर्ना गर्न मदत गर्ने बताउनुभयो । उहाँले हरेक जातजातिको भाषा, कला र संस्कृतिलाई सम्बद्र्धन गर्न संविधान व्यवस्था भएको र सोही अनुसार विधेयक आएको जानकारी दिनुभयो ।
‘प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेकय संशोधन सहित दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको छ ।
विशेष समय
नेपाली कांग्रेस संसदीय दलको तर्फबाट सदस्य लीला सुब्बाले पूर्व क्षेत्रको प्रशासनिक केन्द्रको रुपमा रहेको धनकुटालाई प्रदेश सरकारले वेवास्ता गरेको आरोप लगाउनुभयो । उहाँले कुनै समयमा प्रत्येक विभागको निर्देशनालय रहेकोक धनकुटा अहिले मृत अवस्थामा देखिएकाले यसको उत्थान एवं विकासमा प्रदेश सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले धनकुटामा एक आधुनिक अस्पताल निर्माण हुनु पर्ने माग राख्दै सरकारले प्रदेशको नाम पहिचान देखिने र द्वन्द्व मेटिने किसिमको राख्न सुझाव दिनुभयो ।
विशेष समयमै जनता समाजवादी पार्टी नेपालका तर्फबाट प्रदेश सभासदस्य रामचन्द्र लिम्बूले अहिले कुनै पनि दलको दुई तिहाई बहुमत नरहेको अवस्थामा प्रदेशको नामकरण गर्न समस्या देखिएको बताउनुभयो । उहाँले गठबन्धन दलको बहुमत पनि नपुग्ने र प्रदेशको नामकरण गर्न नेकपा एमालेको पनि साथ सहयोग आवश्यक रहेको जानकारी दिँदै प्रदेशको नाम किराँत लिम्बूवान राख्नु पर्ने धारणा राख्नुभयो ।
शून्य समय
प्रदेश सभा सदस्य उमीता विश्वकर्माले प्रदेशको नाम ऐतिहासिक र पहिचानको आधारमा राख्न सुझाव दिनुभयो भने अर्का सदस्य पूर्णकुमार राजवंशीले प्रदेशको नाम कोचिला प्रदेश हुनु पर्ने अडान राख्नुभयो । प्रदेश सभाको अर्को बैठक साउन २२ गते दिउँसो १ बजे बस्नेछ ।
प्रतिक्रिया