देशमा विकास भएन । यसो भन्दै गर्दा विकास हुँदै भएन भनेर भन्न खोजिएको भने हैन । तुलनात्मक रुपमा वा अपेक्षित रूपमा जति हुनुपर्ने थियो, जसरी हुनु पर्ने थियो, अत्यन्तै थोरै भयो वा त्यसरी हुन सकेन भन्ने आमजनमानसको चिन्ता हो । र यो चिन्ता अत्यन्तै जायज छ, किनभने हाम्रो देशामा व्यवस्थाहरु परिवर्तन भए तर अझै सम्म आमजनताको अवस्था भने परिवर्तन हुन सकेन । आमजनताका दुःख आज पनि उस्ताका उस्तै छन् ।
अझ स्पस्ट रुपमा भन्ने हो भने, गएको यो ३२–३३ वर्षको अवधिमा हाम्रा राजनीतिक दलका अधिकांश नेता, तिनका परिवार तथा केही टाठाबाठा कार्यकर्ताहरुको जीवन शैली जुन अनुपातमा माथि पुग्यो अथवा उनिहरुलाई जुन सेवा सुविधा उपलब्ध छ त्यसको तुलनामा आमजनता र तिनका छोराछोरीहरु धेरै नै पछि परे । अमिरी र गरिबी विचको खाडल पुरिनुको बदलामा अझ धेरै बढेर गयो ।
मुख्य रूपमा शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा गुणात्मक परिवर्तन आउन सकेन । कृषिका क्षेत्रमा दिइने अनुदान, न्यायोचित हुन सकेन । किसानले समयमा मल बिउ पाएनन् । विद्यार्थीले समयमा कापी किताब पाएनन् । बिरामीले औषधी उपचार पाएनन् । गरिब तथा निर्धाले न्याय पाएनन् । बेरोजगारले रोजगार पाएनन् । जताततै बेरुजु बढेर आर्थिक अनुशासनहीनता चुलियो । भ्रष्टाचार दिनानुदिन मौलाएरगयो, आदि….. ।
हाम्रो संविधानको भाग–३ मा ‘मौलिक हक र कर्तव्य’ अन्तरगत लेखिएका हक, अधिकार, सेवा, सुविधा पढ्दा आहा ! भन्ने छन् । तर मुख्य कुरा, त्यहाँ लेखिएका हक, अधिकार, सेवा, सुविधा आम नागरिकलाई प्राप्त भएको छ कि छैन यो महत्वपूर्ण कुरा हो ।
आज जुन अवस्थामा हाम्रो देश छ ! ४६ सालमा प्रजातन्त्रको पुनः स्थापना, के यतिकैका लागि गरिएको थियो ? माओवादीहरुको दश वर्षे लामो जनयुद्ध यतिकैका लागि थियो ? ६२–६३ को जनआन्दोलन, मधेस आन्दोलन यतिकैका लागि थिए ? राजालाई हटाएर मुलुकलाई संवैधानिक राजतन्त्रबाट लोकतान्त्रिक गणतन्त्रमा बदलियो, के त्यो यतिकैका लागि थियो ? यी सबै प्रश्नहरु मैले गरेको हैन, यी प्रश्नहरु आज हरेक दलका नेता, तिनका कार्यकर्ताहरु आँफैले आँफैलाई गर्न सक्नु पर्छ र इमानदार भएर उत्तर दिनु पर्छ । आत्मसमिक्षा गर्नु पर्छ ।
अत्यन्तै शर्मनाक र लाजमर्दो कुरा त के छ भने, हाम्रो देश अन्य विकसित राष्ट्रहरुको तुलनामा पछि पर्नुमा अथवा गरिब रहिरहनुमा हामी अझै पनि राजाहरुलाई गाली गरेर बसेका छौँ ! तर सत्य के हो भने, ४६ साल पछि बनेका सरकारले कमसेकम हाम्रो देशमा अत्यन्तै सहज रुपमा उपलब्ध जलस्रोतको मात्र पनि सही उपयोग गर्न सकेका भए आज हाम्रो देश संसारका समृद्ध राष्ट्रहरु मध्येको एउटा राष्ट्र बनिसकेको हुने थियो । जसरी खाडी देशहरू आज तेल र ग्यास बेचेर समृद्ध बनेका छन् ।
संसारकै सर्वोच्च शिखर सगरमाथा लगायतका अग्ला हिमाल, पहाड तथा तराईका फाँटहरुले भरिएको हाम्रो देश प्राकृतिक रुपमा जति सुन्दर छ, प्राकृतिक स्रोत र साधनका हिसाबले पनि उत्तिकै सम्पन्न छ । खनिज पदार्थका हिसाबले पनि हाम्रो देश धनी राष्ट्रमै पर्दछ । उत्खनन् र प्रशोधन गर्न नसकेर मात्र हो, अन्यथा फलामा, तामा, अभ्रक, चुनढुङ्गा, सीसा, लगायतका अन्य धेरै खनिज पदार्थहरु हाम्रो देशाका विभिन्न भागहरुमा प्रशस्त मात्रामा रहेको कुरा विभिन्न अध्ययन अनुसन्धानहरुले देखाएको हामी सबैले सुन्दै पढ्दै आएका छौँ ।
हाम्रो देशमा रेल, पानी जहाज, भ्युटावरहरुका आवश्यकतालाई नकार्न सकिदैन । तर देश भित्र उपलब्ध श्रोत साधनका हिसाबले हाम्रो प्राथमिकता केमा हुनुपर्ने थियो ? कुन क्षेत्रमा हामीले धेरै फोकस गर्नु पर्ने थियो ? कस्ता कुराहरुको उपयोग, उत्पादन र उत्खननले देश समृद्धिको मार्गमा फड्को मार्न सक्छ ? धेरै भन्दा धेरै रोजगारका अवसरहरुको सिर्जना कसरी गर्न सकिन्छ ? यी विषयहरुमा हाम्रा नेताहरु तथा हाम्रो सरकारले सम्बन्धित विज्ञहरुको टीम बनाएर गम्भीर रुपमा छलफल बहस गरेको यहाँरुले कसैले कहिल्यै देख्नु, सुन्नु भएको छ ?
नाम नलेखौँ तर देशका सबै ठुला पार्टीका शीर्ष नेताहरूले पटक पटक प्रधानमन्त्री बनेर देशको नेत्रित्व गर्ने मौका पाए । नेपाली जनताले देश बनाउनका लागि उनिहरुलाई पटकपटक अवसर दिए तर उनिहरुले देश बनाउन सकेनन् अथवा जति गर्नु पर्ने थियो, त्यसको तुलनामा अत्यन्तै थोरै मात्र गर्न सके । भ्रष्टचार रोक्न सकेनन् । भ्रष्टचारीलाई सजाय दिन सकेनन् । ठुला ठुला घोटला, अनियमितता, भ्रष्टाचारमा संलग्न सबैलाई उनमुक्ति दिने गरियो । भ्रष्टचारी तथा माफियाहरुलाई राजनीतिक दल र तिनका नेताहरुबाट नै संरक्षण गरियो ।
समग्रमा भन्नु पर्दा, स्वार्थ, सत्ता र सम्पत्ति केन्द्रित राजनीति गरेर गएका यी ३२–३३ वर्षहरुमा हाम्रा नेताहरुले हाम्रो देशलाई जति बनाए, त्यो भन्दा धेरै त बिगारेका छन् । त्यसैले, यस्ता नेताहरुलाई आगामी चुनावमा भोट हैन, नेपाली जनताले सजाय दिने आँट गर्न सक्नु पर्छ ।
हेर्नुस्, हाम्रो छिमेकी मुलुक चीन त्यतिकै समृद्ध बनेको होइन रहेछ ! ३ साउनका दिन कान्तिपुर दैनिकमा प्रकाशित महेन्द्र पी. लामा सरको ’चीनमा गरिबीको जरै उखेलियो’ शीर्षकको लेख अनुसार ’भ्रष्टाचार रोक्न चीनले कठोर कानुन मात्र बनाएन, सन् २०१६–२० को यो चार–पाँच वर्ष भित्रमा चीनले ६० हजारभन्दा बढी भ्रष्टाचारमा संलग्न व्यक्ति–संस्थाहरूलाई कठोर सजाय पनि दिएको रहेछ । केको न्यायालय न कचहरी, भ्रष्टाचार गरेको देख्न र सबुत पाउनासाथ सीधै झ्यालखानामा थुन्ने । पक्डिएका सबै भ्रष्टाचारीले लुटेको–लुछेको रकम चीन सरकारले फिर्ता लिएको रहेछ ।’ हाम्रोमा त सरकारले भ्रष्टचारीलाई पक्रिएर थुन्ने हैन, भ्रष्टचारीले सरकारलाई थुनेर राखेका छन् ।
हाम्रो देशमा ठुला ठुला भ्रष्टाचार गरेको आरोपमा मुछिएका वा भ्रष्टचारी ठहर गरिएकाहरु कोही धरौटीमा छुट्ने गर्छन् । कसैलाई अदालतले सफाइ दिने गर्छ भने कतिको वर्षौ देखी मुद्दा नै फैसला हुनसको हुँदैन । यसरीनै कुनै न कुनै बहानामा अधिकांस भ्रष्टचारीहरुले उन्मुक्ति पाउने गरेका छन् । देशको कानुन, अड्डा अदालत अथवा हाम्रो देशको सिङ्गो सरकारलाई नै यस्तै भ्रष्टचारीहरुले आफ्नो मुट्ठि भित्र राखेका छन् । यिनीहरु बाट जस्तो सुकै बेइमानी घोटला भए पनि, उनिहरुको राज्य सत्ता संगको पहुँचका कारण फैसला आफ्नै पक्षमा गराउने तागत राख्छन् ।
जोसुकैको सरकार बनोस् वा सरकारको नेत्रित्व जोसुकैले गरोस्, भ्रष्टाचार रोक्नका लागि अत्यन्तै कठोर कानुन नबने सम्म हाम्रो देशको अवस्था सुध्रदैन भन्ने सत्यलाई अहिले हाम्रो देशका बच्चा बच्चाले बुझेका छन् । र यो कुरा आगामी चुनावमा तपाईं हाम्रो भोट मार्फत प्रतिबिम्बित हुन सक्नु पर्छ । त्यसैले आगामी नार्वाचमा अतीतको गुलामीबाट बाहिर निस्कने हिम्मत गरौँ र वर्तमानलाई सदुपयोग गर्दै देशको भविश्यको निर्माता बन्ने पक्षमा निर्णय गरौँ । यसका लागि अझै धेरै नपर्खौँ, ढिलो नगरौँ ।
रमेश ढकाल
भद्रपुर–झापा (हाल दोहा–कतार)
[email protected]
प्रतिक्रिया