नेपालको विभिन्न शैक्षिक तथा प्रशासनिक क्षेत्रदेखि अन्य सरकारी उच्च ओहोदाका प्रमुख जिम्मेवारी समालेर अवकाश हुनुभएका खगराज बराल अहिले साहित्य लेखनको क्षेत्रमा सक्रिय देखिनु भएको छ । उहाँले शैक्षिक र साहित्यिक गरी जम्मा डेढ दर्जन भन्दा बढी पुस्तकहरू प्रकाशन गरिसक्नु भएको छ । उहाँको वि.सं २०७७ चैत्रमा प्रकाशित “स्यानी” उपन्यास पढेपछि आफ्ना मनमा लागेका कुराहरूलाई पाठकीय टिप्पणीका रूपमा यहाँ राखेको छु ।
खगराज बरालद्वारा रचना गरिएको “स्यानी” लाई मैले आत्म संस्मरणात्मक उपन्यासका रूपमा मानेको छु किनकी यस पुस्तकभित्र लेखक स्वयं प्रमुख पात्र भई आफ्ना जीवनमा भोगेका बाल, किशोर तथा वयस्क जीवनका केही समयभित्रका घटनाहरूलाई कथानकका रूपमा प्रस्तुत गरिएको छ । उपन्यासकी प्रमुख पात्र “स्यानी” सानी नभएर ठूली र परिपक्व महिला हुन् ।
लेखककी आमालाई उनका मावली घर र मावली गाउँलेहरूले स्यानी भनेकाले उनको नाम स्यानी रहेको र उपन्यासको नाम पनि “स्यानी” रहेको रहेछ । तर, यो कुरा लेखकले निकै पछाडि मात्र रहस्योद्घाटन गरेका छन्, मलाई चै त्यो भन्दा अझ पछाडि बाह्र तेह्र परिच्छेदतिर रहस्य उद्घाटन गरेको भए अझ रमाइलो हुने थियो होला भन्ने लागेको हो ।
यो उपन्यासमा लेखककी आमा बितेपछिका तेह्र दिनसम्मका हिन्दू धर्मशास्त्र अनुसार गरिने काज क्रियाका बारेमा लेखिएको छ । त्यसैभित्र आमा र बाका विभिन्न समयका सस्मरण र लेखकका आफ्ना दाजुभाइका, आफन्तका र साथीभाइका पनि ग्रामीण क्रियाकलापलाई प्रस्तुत गरिएको छ ।पोखराको पुम्दीभुम्दीको पृष्ठभूमिमा लेखिएको यस उपन्यासमा ठूलिविणी, छोरेपाटन, पृथ्वीचोक, रामघाट, सेती नदी, घैया खेत आदि ठाउँहरूको वर्णन गरिएको छ । यस पुस्तकमा पोखरा, स्याङ्जा, कास्की, पर्वततिर बोलिने नेपाली भाषिकाका प्रचलित शव्दहरू रहेका, जो कतिपय ठाउँमा प्रयोगका आधारमा अर्थ निकाल्नु पर्ने हुन्छ भने कतिपय शव्दको अर्थ अन्यक्षेत्रका वासिन्दाले बुझ्न कठिन पर्दछ । भाषाका कथ्य रूप धेरै ठाउँमा प्रयोग भएको छ । उदाहरणका लागि केही शव्दहरू तल राख्न चाहन्छु ! जस्तैः
सुजेरो, आँसी, दर्कनु, टुवो, घोक हाल्नु, कर्सा, भजालो, बेडुला जस्ता शब्दहरूले हामी पूर्वेलीलाई बुझ्न गाह्रो बनाउँछन् । पूर्वी नेपालमा बोलिने नेपाली भाषामा फरक आउने शब्दहरू भने केही यस्ता रहेका छन्ः
सिप्किना = सिर्कना, खँड्केली = खुड्किला, गेडा हाल्नु = तिल जौ हाल्नु, कडुवा = पाडो, थर्कटी = गुन्द्रीको सानो रूप, आखत = साइत, सिल्का हान्नु = चसचस घोच्नु, ब्याम्ती = बिगौती, दँधेरा = दँयेंरे, खोतिया = हाँडी, स्याखु = घुम, सुली = मकैको थाङ्ग्रो, कराइ खानु = वनभोज खानु, गाउरी = गाग्री, झ्याँटा = कोदो चुटेर बाँकी रहेको अंश, गाँज = झ्याँङ जस्ता अन्य शब्दहरू पनि रहेका छन् ।
पुस्तकमा हिन्दु धर्म र पूर्वीय दर्शनको पनि आंशिक रूपमा व्याख्या गरिएको छ, ठाउँ ठाउँमा हिन्दु धर्म र कर्मकाण्डमा भएको विरोधाभाषलाई पनि सङ्केत गरिएको छ । यस पुस्तकभित्र लेखक हिन्दु दर्शनको व्याख्यामा अलिक कमजोर देखिन्छन्, हुन त ग्रामीण परिवेशका पण्डितले जति व्याख्या गरे लेखकले पनि आफ्नो इमान्दारिता नछोडी त्यति नै पनि दिएको हुन सक्छ । तर, यहाँनेर लेखकले हिन्दु धर्मको महत्त्व र उच्चताको व्याख्या अझ गरेको भए पुस्तकको महत्त्व अलिक बढ्ने थियो भन्ने मेरो व्यक्तिगत सोचाइ मात्र पनि हुन सक्छ ।
दसगात्र क्रियाको सामान्य उल्लेख छ । यस उपन्यासमा हिन्दु धर्मका स्वस्थानी, दशै, तिहार, माघे सङ्क्रान्ती जस्ता राष्ट्रिय र अन्य आञ्चालिक चाड पर्वको बारेमा पनि थोर बहुत चर्चा गरेको छ, यसले गर्दा पुस्तक पढ्न रोचक, रमाइलो र जानकारीमूलक छ । पुस्तकले हिन्दु धर्ममा गरिने आमाप्रतिको सम्मानलाई राम्ररी समेटेको छ भने बाबुको दायित्वलाई पनि उपन्यासले दर्साएको छ । उपन्यासले आञ्चलिकता र स्थानीयता ओगटेको छ, कथ्यभाषाको प्रशस्त प्रयोग गरिएको छ । समग्रमा भन्नुपर्दा यो पुस्तक पठनीय र सङ्ग्रहणीय छ, लेखकबाट यस्ता कृतिहरू जन्मदै जाऊन, हार्दिक शुभकामना !!!!!!!!!!!!!!!!!!!!!!
–विनोद खनाल
मेची नगर, झापा
हालः साउथ डकोटा,
संयुक्त राज्य अमेरिका
प्रतिक्रिया