अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या कम्तिमा १००० पुग्यो, १५ सय घाइते

इनेप्लिज २०७९ असार ८ गते २२:५९ मा प्रकाशित

पूर्वी अफगानिस्तानमा बुधबार आएको ५.९ म्याग्निच्युड(परिमाण)को भूकम्पमा परी कम्तिमा १००० जना व्यक्तिको मृत्यु हुनुका साथै १,५०० जना घाइते भएको विपद व्यवस्थापन अधिकारी तथा संचार माध्यमहरुले बताएका छन् ।

यो एसियाली राष्ट्रमा दशक यता कै सबैभन्दा ठूलो भूकम्प हो भने प्रारम्भमा ९०० जनाको मृत्यु भएको बताईएको थियो ।

अमेरिकी भूगर्भ सर्वेक्षणले स्थानीय समय अनुसार बिहान १ः३० बजे पाकिस्तानी सीमा नजिक ५.९ रेक्टर स्केल(परिमाण)को भूकम्प गएको जनाएको छ ।

युएसजीएसका अनुसार भूकम्प १० किलोमिटर (६.२ माइल) गहिराइमा अभिलेख गरिएको एबिसीन्यूजले समाचार लेखेको छ ।

काबुलस्थित अमेरिकी दूतावासले सामाजिक संजाल ट्वीटरमा भनेको छ, “पूर्वी अफगानिस्तानमा भूकम्प गएको खबरले हामी अत्यन्तै दुखी छौं।” “हामी यस विनाशकारी घटनाबाट प्रभावित सबै प्रति हाम्रो हार्दिक समवेदना प्रकट गर्दछौं।”

भूकम्पको केन्द्रविन्दु आसपासका पहाडी क्षेत्रमा उद्धार टोली पुगेपछि दिनभर मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ ।

मानिसहरू अझै पनि भग्नावशेषबाट निकालिएका छन्, र हावा, वर्षा र हिमपातले उद्धार प्रयासहरूलाई बाधा पुर्‍याइरहेको संयुक्त राष्ट्र संघका उप-विशेष प्रतिनिधि र अफगानिस्तानका लागि मानवीय संयोजक डा. रामिज अलकबारोभले एबीसी न्यूजलाई बताए ।

विपद् व्यवस्थापनका उपमन्त्री मौलावी शराफुदिन मुस्लिमले बुधबार पत्रकारहरूलाई प्रारम्भमा कम्तिमा ९२० जनाको मृत्यु भएको छ र कम्तिमा ६०० जना घाइते भएको बताएका थिए । तर उनले संख्या बढ्न सक्ने चेतवानी समेत दिएका थिए ।

प्रतिक्रिया