कुरा २०४८ सालको हो । बर्खाको रोपाई सकिएसंगै, घरयासी कामबाट एक प्रकारले फुर्सद मिलेको थियो । काम सकिएर फुर्सद मिलेसंगै खाली दिमाग सैतानका घर भने झैं दिमागमा अनेकौँ कुराहरुले डेरा जमाउन थालेका थिए । त्यतिखेर मेरो मन डर, चिन्ता संगै एक प्रकारको व्याकुलताले पूर्णरुपमा ग्रसित बनेको अवस्था थियो । किनभने त्यतिखेरको फलामे गेट भनेर जानिने एसएलसी परिक्षाको रिजल्ट आउने दिन नजिकिदै थियो । र एसएलसीको परिक्षा दिएर नतिजाको पर्खाइमा बसेका त्यो वर्षका लाखौं विध्यार्थीहरु मध्येको म पनि एउटा थिए ।
हाम्रो एसएलसीको परिक्षा सेन्टर भद्रपुर मा.वि.मा परेको थियो । हामी जन जागृति मा.वि. गोल्धाप, झापाबाट जम्मा ९६ जना विध्यार्थीहरुले एसएलसीको परिक्षा त्यतिखेर भद्रपुर गएर दिएका थियौँ । उक्त परिक्षाका लागि नेत्र, राजकुमार लगायतका हामी केही साथीहरु झापा जिल्लाको सदरमुकाम चन्द्रगढी बाट चारआली तर्फ जाने बाटोमा लगभग ४०० मिटर जति मास्तिर आर्मी क्याम्पको नजिकै डेरा गरेर बसेका थियौँ ।
डेरा खोज्ने क्रममा निक्कै सास्ती भोग्नु पर्यो । त्यसमा पनि अन्तिम समयमा आएका हाम्रा मित्र कालिबहादुर दर्जीका लागि डेराको व्यवस्था गर्न निक्कै नै सकस परेको थियो । हाम्रो डेराबाट हिंडेर चन्द्रगढी ढाट (बस स्टप) सम्म आईपुग्नका लागि हामीलाई झण्डै ८–१० मिनेट लाग्थ्यो । माग महिनाको जाडो । पातलो सेतो सटले ढाकेको जिउ । खुट्टामा हावाइ चप्पल । हिड्दै बस स्टप आइपुगे पछि, सबै भन्दा पहिला त्यहाँ हामी त्यतिखेर आठ आनामा पाइने एक–एक वटा तातो तातो भक्का किनेर नुनखुर्सानीको धुलोसंग खान्थ्यौँ अनि परिक्षा दिनका लागि बस चढेर भद्रपुर मा.वि. पुग्थ्यौँ ।
मेरा साथीहरु नेत्र, राजकुमार ९–१० कक्षामा साइन्स् विषय लिएर पढेका कक्षाका उत्कृष्ट विद्यार्थी थिए । उनिहरुको परिक्षा नराम्रो हुने भन्ने प्रश्नै थिएन । खैर, परिक्षा त मेरो पनि ठीक–ठीकै नै भएको थियो तर एसएलसी पास गर्न सकुला भन्ने कल्पना भने मैले गरेको थिइन । आफुले जाँच दिएका सातवटा विषयहरु मध्ये इतिहास विषयको परिक्षा भने निक्कै नै बिग्रिएको थियो । त्यतिखेर पास हुँनका लागि सबै विषयमा न्यूनतम ३२ अंक ल्याउनु पर्ने हुन्थ्यो । तर इतिहासमा भने ३२ आउला जस्तो मानेको थिइन । इतिहासको परिक्षा सबैभन्दा अन्तिममा थियो । इतिहासलाइ अन्य विषयहरुको तुलनामा सामान्य विषय मानिए पनि अरु विषयहरुमा भन्दा इतिहासमा धेरै लेख्नु पर्ने हुन्थ्यो ।
त्यो अन्तिम दिन परिक्षा दिन हिंड्ने बेलामा बाटोमा पढ्दै जान्छु भनेर इतिहासको नोट कपी बाट महत्वपूर्ण प्रश्न र उत्तर भएका दुईटा पन्ना छुट्याएर सटको गोजी (खल्ती) मा बोकेको थिएँ । सदा झै त्यो दिन पनि परिक्षा दिन समयमै भद्रपुर स्कुल पुगेको थिएँ । परिक्षा हलमा प्रवेश गरेसंगै, आफ्नो साथमा भएका नोटबुक लगायतका कपी किताब अगाडि रहेको डेस्कमा राखेर आफ्नो सिटमा गएर बस्नु पर्ने हुन्थ्यो । त्यो दिन भने मेरो सटको गोजीमा रहेका नोटकपीका ती दुई पन्ना साथैमा राखेर जाँच दिन बसेछु ।
केहि समय पछि, प्रश्न पत्र बाँडियो । प्रश्न पत्र हात परेसंगै, यसो हेरे – प्रश्नहरु प्राय सबै सजिला नै थिए । म दायाँ बाँया कतै नहेरी सरासर लेख्न थाले । त्यसको लगभग आधा घण्टा पछि हुनु पर्छ, एकजना सर आएर भाइ तिम्रो प्रवेश पत्र देखाउत भनेर सोध्नु भयो । वहाँ सुपरिटेन्डेन्ट हुनुहुँदो रहेछ । वहाँलाई प्रवेश पत्र दिने क्रममा मेरो सटको गोजीमा रहेका नोट कपीका दुई पन्ना पनि संगै निस्किए । सरले यो के बोकेको ? तिम्रो गोजीमा अरु के के बोकेको छौ ? स्ट्यान्ड–अप भन्दै हप्काउनु भयो । मेरो सातो पुत्लो उड्यो । सर अरु केही छैन, यो अघि अगाडि राख्न बिर्सेंछु, भनेर थरथर काप्दै उत्तर दिए । ओके, एकचोटिकालागि तिमीलाई माफ भयो भन्दै सरले मेरो गोजी बाट निस्किएका ती दुई पन्ना लिएर जानु भयो ।
मेरो भने त्यतिकैमा सात्तो उडिसकेको थियो । त्यसपछि आफुले जानेका प्रश्नहरुको उत्तर लेख्न पनि मलाई गार्हो भयो । अरु भन्दा पनि कोही साथीहरुले यो घटनाका बारेमा भोलिपर्सि घरमा सुनाई दिए भने, दाजुहरुले मलाई पछि पिट्ने परे लगायतका डरले म काम्न थालेको थिएँ । त्यो दिन मैले अत्यन्तै मुश्किलले तीन पन्ना जति लेखेको थिएँ होला । इतिहासको परिक्षामा तीन पन्ना मात्र लेखेर पास अंक ल्याउन सम्भव थिएन । यही कारणले गर्दा मैले मनमनै एसएलसी फेल हुन्छु भनेर ठानेको थिएँ ।
यस्तो अवस्थामा रिजल्ट आउने दिनहरु नजिकिदै गर्दा, रिजल्टको सामना गर्ने हिम्मत ममा थिएन । म रिजल्ट आउँनु भन्दा अगावै घरबाट भाग्न चाहन्थे । तर कहाँ जाने ? कता भाग्ने ? केही सोच्न सकिराखेको थिइन । त्यसको भोलीपल्ट मेरो भेट आफु संगैका साथी राजकुमारका दाजु ज्ञानराज दाइ संग भयो । दाइले दसैँ सम्ममा घर फर्किने गरेर कालिम्पोङ जान लागेको बताउनु भयो । दाइ प्राय बर्खे खेति सकिए संगै दुई ढाई महिना कालिम्पोङ तिर गएर कन्स्ट्रक्सनका क्षेत्रमा काम गरेर – दसैँ खर्चको पनि जोहो गरेर घर फर्कने गर्नु हुँदो रहेछ । ज्ञानराज दाइलाई यो पटक मलाई पनि साथमा लैजान अनुरोध गरे । दाइले पहिला त मेरो कुरा विश्वास नै गर्नु भएन । तर पछि यो विषयमा म गम्भीर भएको थाहा पाए पछि भने, ल हिड्छौ भने हिड । मैले उता धेरै मान्छे चिनेको छु, तिमीलाई पनि कुनै न कुनै कामको व्यवस्था गरिदिन्छु । दुई ढाई महिना संगै काम गरौला र पछि दसैँमा संगै घर फर्कौला भनेर भन्नु भयो ।
ज्ञानराज दाइ संग त्यस्तो सल्लाह भएसंगै दाइ र म साउन महिनाको २३ गते बिहानै कालिम्पोङ जनका लागि गोल्धाप बाट काकरर्भिट्टा तिर लाग्यौँ । हिंड्ने दिन बिहान, आमालाई धेरै चिन्ता नहोस् भनेर आमा म केहीदिनका लागि साथीहरु संग घुम्न जाँदै छु भनेर घर बाट निस्किएको थिए । काकरर्भिट्टामा केही मास्तिर अलिक भित्र पटि ज्ञानराज दाइहरुको एउटा काठको घर रहेछ । त्यो घर सागसब्जीको व्यवसाय गर्ने एकजना क्षेत्रिनी दिदीलाई भाडामा दिनुभएको रहेछ । हामी बिहान १० बजे तिर त्यहाँ पुग्यौँ । त्यहाँ ती दिदीले हामीलाई खान बनाएर खुवाउनु भयो । खाना खाई सकेपछि हामी त्यहाँ बाट पूर्वी भारतको सिलीगुडी हुँदै कालेम्पुङ तिर रवाना भयौँ । त्यो रात हामीले कालेम्पुङमा ज्ञानराज दाइले चिन्नु भएको एकजना भोटे दाइकोमा (अहिले नाम याद भएन) बितायौँ । त्यो रात त्यहाँ खाएको उसिना चामलको भात र फिश् करी आज पनि याद आउछ ।
त्यसको भोली पल्ट, चिया नास्ता खाएर ती भोटे दाइको मार्गदर्शनमा हामी त्यहाँ बाट कालेम्पुङको मुख्य बजारमा बस्ने आचु शान्डुप नाम गरेका एकजान ठेकेदारको घरमा पुग्यौँ । ती ठेकेदार उमेरले ६०–६५ का थिए होलान् । ठेकेदार आचु शान्डुपलाई ज्ञानरज दाइले बाबा भनेर सम्बोधन गर्नु हुन्थ्यो । दाइले उनीसंग के कुरा गरे थाहा भएन, एकछिन पछि एकजान अधबैँसे उमेरकी महिलाले हाम्रो हातमा एक एक वटा सिक्कल (हँसिया आकारको दाँत चाहिँ नभएको फुलका बोटहरु छाँटकाँट गर्न प्रयोग हुने एउटा औजार) थमाएर बगैचा सफा गर्न अराइन । हाम्रा झोलाहरु त्यतै साइडामा राखेर हामी बगैचा सफा गर्न थाल्यौँ । साउनको महिना घाम चर्का लागेका थिए । अचाक्ली गर्मी थियो । खलखल पसीना हुँदै हामीले झण्डै १२ बजे सम्म त्यहाँ बगैचा सरसफाई गर्ने काम गर्यौँ ।
त्यस पछि तिनै अधबैँसे महिलाले हामीलाई खाना खान बोलाइन । काम बगैचा सरसफाई गर्ने लगाए पनि, उनले हामीलाई सामान्य आदरका साथ नै खान दिइन र केही समय बस्तै गर्नु भनेर भनिन् । केहि समय पछि ठेकेदार बाबाले हामीलाई एउटा सानदार जीपमा राखेर कालेम्पुङको साढे दशमाइल भन्ने ठाउँमा रहेको उनको कन्स्ट्रक्सन साइटमा लिएर गए । त्यहाँ एउटा ठुलो कम्पाउन्ड भित्र दुईवटा भवनहरुको निर्माण कार्य चल्दै रहेछ । त्यस मध्ये एउटा भवनको भने संरचनात्मक काम पुरा भैसकेर झ्याल ढोका तथा पेन्टिङको काम हुन मात्र बाँकी रहेको रहेछ । अर्को भवनको भने दोस्रो तल्लाको निर्माण कार्य धमाधम चल्दै थियो । त्यो साइटको सुपरवाइजर भने एकजना परिमल नाम गरेका बंगाली रहेछन् ।
ठेकेदार बाबाले सुपरवाइजर परिमल संग केहीबेर कुरा गरे पश्चात, भोली बाट यी केटाहरुलाई पनि यतै काम लगाउनु र यिनीहरुको बस्ने व्यवस्था पनि त्यो काम सकिएको अर्को बिल्डिङ्गमा गरिदिनु भनेर हिन्दिमा अराए । त्यसपछि बाबाले ज्ञानराज दाइलाई बोलाएर जीपबाट निकालेर एक एक थान कम्बल तन्ना दिए संगसंगै दुई सय रुपैयाँ भारु पैसा पनि दाइको हातमा थमाइ दिए ।
परिमलले हामीलाई काम पुरा भैसकेको बिल्डिङ्गको दोश्रो तल्लामा रहेको एउटा कोठामा पुर्याए र आफ्ना सामनहरु राख्न अराए अनि भने, अहिले तिमीहरु यतै बस्तै गर । भरे ५ बजे पछि हाम्रो आजको काम सकिन्छ अनि बजार गएर तिमीहरुको लागि रासनको व्यवस्था गरिदिन्छु । परिमलको टिम पनि त्यहीँ बिल्डिङ्गमा बस्ता रहेछन् । भरे ५ बजे उनिहरुको काम सकिएसंगै हामी परिमलको साथ लागेर बजार गयौँ । उनिहरुले नै रासन किन्ने गरेको दुकान (पसल) बाट आउने हप्तामा पैसा तिर्ने गरेर हाम्रो लागि पनि रासन लगायत खान पकाउनको लागि आवश्यक पर्ने केही भाँडाकुडा र स्टोभको व्यवस्था गरिदिए पश्चात हामी सबै सरसामान बोकेर फर्कियौँ ।
ज्ञानराज दाइ अनुभवी मान्छे, रुममा पुगेर खाना पकाउने सबै व्यवस्था गर्नु भयो, मैले पनि जानेको सहयोग गरे । त्यो साँझ हामीले दाल र रोटी खाएर सुत्यौँ । भोली पल्ट बिहानै ड्यूटीका लागि दुबै जना निस्कियौँ । मलाई परिमलले पहिलो असाइनमेन्टको रूपमा शटरिङको काम गर्दा प्रयोगमा आएका काँटीहरुलाई पुनः प्रयोग गर्नका लागि सीधा पार्ने काम दिए । मेरो पहिलो दिन काँटीहरु सीधा पार्दैमा बित्यो । सानो केटाकेटी ठानेर होला, त्यहाँ मलाई यो काम तैले गर्नै पर्छ भन्ने खाले कुनै जोर जबरजस्ती कसैले गरेनन् । मैले सकेको काम स्वतन्त्र भएर सबैलाई सहयोग गरिदिन्थे । मलाई हेरेर उनिहरु सबै हाँस्थे ।
बाह्य रूपमा सबै संग हँसीमजाक गरे पनि म भने भित्र भित्रै आउनलागेको एसएलसीको रिजल्टलाई सम्झेर निक्कै चिन्तित थिए । तेश्रो दिन, ड्युटी सकिएसंगै, मैले राजकुमारलाई चिठी पठाउने निर्णय गरे । सुपरवाइजर परिमल संग, एउटा कपी मागेर पत्र तयार गरेर । आफु रहदै आएको कालेम्पुङको ठेगाना पनि उल्लेख गरेर, परिमल मार्फत भोलीपल्ट त्यो पत्र पोस्ट गर्न लगाए । यसरी नै मेरा दिनहरू बित्दै गए । म दुई–तीन दिनमै त्यहाँ सबैको प्रिय बनिसकेको थिए ।
त्यसको चार हप्ता पछि तिर हुनु पर्छ हामी दिउंसोको खाना खाएर, विश्राम गरेर बसिरहेका थियौँ । परिमलले रमेश तुम्हारा लेटर आया है, भन्दै उक्त लेटर मेरो हातमा थमाइ दिए । यसो हेरे, राजकुमारले लेखेको चिठी रहेछ । चिठी प्राप्त गरेसंगै त्यतिखेर मेरो मनमा एकैसाथ उत्पन्न भएको खुसी र त्रास मिश्रित उत्साह उमङ्गलाई यहाँ शब्दमा बयान गर्न सम्भव छैन । हतार हतार गरेर, पत्र खोले । नेत्र, राजकुमार संगै मेरो पनि एसएलसीको रिजल्ट राम्रो भएको रहेछ अर्थात म पास भएको रहेछु । यो थाहा पाएसंगै मेरो खुसीको कुनै सिमा नै रहेन । जीवनमा एउटा ठूलो लडाई जितेको अनुभुति भयो । हुन पनि मेरा लागि एसएलसीको रिजल्ट साँच्चि नै जीवन र मृत्यु संगको एउटा लडाई जस्तै बनेको थियो ।
एसएलसी पास भएको समाचार प्राप्त भएसंगै मैले भोलीपल्ट नै घर फर्कने निर्णय गरे । म पास भएको समाचारले ज्ञानराज दाइ, सुपरवाइजर परिमल तथा अन्य बंगाली साथीहरु पनि खुसी भए । खैर, जीवनमा धेरै पढेर उच्च शिक्षा वा कुनै विज्ञता हासिल गर्न त सकिएन । सानै उमेरमा खाडी मुलुकमा पलायन हुन बाध्य हुनु पर्यो । तर पनि एसएलसी पास गरेसंगै जीवनले एउटा नयाँ मोड लियो । जीवनमा अगाडि बढ्ने निक्कै अवसरहरु प्राप्त भए । आज जीविकोपार्जनका लागि खाडी मुलुक मै रहेर पनि ठुलो सङ्घर्ष गर्नु परेको छैन । यसैमा सन्तोष मानेको छु, खुसी छु । र यसका लागि मलाई त्यतिखेर इतिहास विषयमा ३२ अंक दिएर एसएलसी पास गर्न सहयोग गरिदिने ती अज्ञात सर लगायत मेरा सम्पूर्ण ज्ञात अज्ञात गुरुहरुप्रति सधैं आभारी रहने छु ।
रमेश ढकाल
भद्रपुर–झापा (हाल दोहा–कतार)
[email protected]
प्रतिक्रिया