अन्तर्राष्ट्रिय चिडियाखानाको शिलान्यास

इनेप्लिज २०७२ साउन १५ गते १४:२७ मा प्रकाशित

पोखरा, १५ साउन । कास्कीको लेखनाथ नगरपालिका–११ पचभैयामा अन्तर्राष्ट्रिय चिडियाखानाको निर्माण सुरु गरिएको छ ।

नगरपालिकाको वडा नं ११, १२ र १४ मा पर्ने पचभैया, चैनपुर र चायापानी चिसाकुना सामुदायिक वन उपभोक्ता समूहअन्तर्गत पर्ने १३४ हेक्टर जमिनमा सो चिडियाखाना निर्माण गरिन लागिएको हो ।

शिलान्यास भएको एक वर्षभित्रमा तारवार लगाइने र चिडियाखानाको सबै काम पाँच वर्षभित्र सक्ने लक्ष्य राखिएको छ । चिडियाखाना अवलोकनका लागि तारजालीको डोम बनाई जनावर तथा पन्छीलाई खुल्ला छाडिनेछ ।

चिडियाखानामा वन्यजन्तु प्रदर्शन, संरक्षण शिक्षालाई समावेश गरिनुका साथै विश्वभरकै हावापानीमा पाइने पन्छी र जनावरको कक्षसमेत बनाउने लक्ष्य राखिएको पोखरा अन्तर्राष्ट्रिय चिडियाखाना निर्माण समितिका संयोजक तथा युनाइटेड क्लबका अध्यक्ष हिमालय बखरेलले बताउनुभयो ।

सामुदायिक वनमा भएको जनावरका संरक्षण गरी अवलोकन गर्न मिल्ने वातावरण बनाएर स्वदेशी हावापानीअनुसारको जीवजन्तुको प्रदर्शनी, वन्यजन्तुलाई उद्धार गर्न र तिनीको स्वास्थ्यलाई ध्यानमा राखी वन्यजन्तुको संरक्षण केन्द्रसमेत स्थापना गरी यसलाई सुरक्षित बनाइनेछ ।

चिडियाखानाभित्र बाल उद्यान, बल्छी हाल्ने पोखरी, डुङ्गा सयर गर्न ताल, जङ्गल सफारी रहनेछन् । यसैगरी सांस्कृतिक सङ्ग्रहालय पनि यसैको हाताभित्र निर्माण गरिनेछ ।

चिडियाखाना बन्न लागेको रुपातालसँगै जोडिएको सामुदायिक वनमा चितुवा, मृग, अजिङ्गरलगायत विभिन्न प्रजातिका जीवजन्तु र ३३६ प्रजातिका वनस्पति पाइन्छन् ।

चिडियाखाना निर्माण गर्न करिब रु ११ करोड लाग्ने अनुमान गरिएको छ । युनाइडेड क्लबले चिडियाखाना निर्माण गर्ने उद्देश्यले विगतका केही वर्षदेखि पोखराको अमरसिंहचौरमा पोखरा महोत्सवको आयोजना गर्दै आएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीले लेखनाथको पचभैयामा प्रस्तावित पोखरा अन्तर्राष्ट्रिय चिडियाखानाको आज शिलान्यास गर्दै यसको निर्माणबाट प्राकृतिक सम्पदा, वन्यजन्तु र वन पैदावारको संरक्षण हुने विश्वास दिलाउनुभयो ।

चिडियाखानाको निर्माणवाट आन्तरिक एवम् बाह्य पर्यटकको आगमनमा वृद्धि भई पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउँदै उहाँले यसबाट लेखनाथ क्षेत्र मात्र नभई समग्र पोखराको विकासमा टेवा पुग्ने धारणा राख्नुभयो ।

उहाँले देशका पाँचवटै विकास क्षेत्रमा चिडियाखाना बनाउने सरकारको लक्ष रहेको पनि जानकारी गराउनुभयो ।

निर्माण समितिका संयोजक एवम् युनाइटेड क्लबका अध्यक्ष हिमालय बखरेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारी, सभासद यज्ञबहादुर थापा र क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियालगायत वक्ताले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया